gulminews logo
शनिबार, २०८१ बैशाख १५

रिडीको तीनमुखे झोलुङ्गे पुल : सहज यात्रासँगै अर्थोपार्जनको पर्खाइमा

रेसुङ्गा (गुल्मी): नेपालका चारधाममध्येको एक धाम रूरूक्षेत्र । जहाँ तीन जिल्लाको सङ्गमस्थल पर्दछ । तीन जिल्लाको सम्बन्ध रूरूक्षेत्र धामले मात्र होइन बजारले पनि जोडेको छ । गुल्मी, पाल्पा र स्याङ्जा जोडेको यस क्षेत्रमा स्थानीय सानै कामका लागि पनि एकअर्काको जिल्लामा आवतजावत गर्नुपर्दछ ।

आफूहरू डुङ्गामा निकै जोखिम मोलेर आवतजावत गरेको सम्झन्छन् स्याङ्जाका स्थानीय अमरप्रसाद कोइराला । उमेरले ७५ वर्ष पुगेका उनको स्थानीय बजार गुल्मीको रिडी हो । जहाँ सयौँ पटक ज्यान जोखिममा राखेर कालीगण्डकी नदीमाथि डुङ्गामा यात्रा गरेको सम्झना भइरहेको उनले बताए तर, अहिले उनी एक झोलुङ्गे पुलको भरमा निकै सहज यात्रा गर्छन् ।

झोलुङ्गे पुलको कारणले जोखिमपूर्ण यात्रा हटेको कोइरालाले बताए । “केही वर्ष पहिले हामी डुङ्गामा जोखिमपूर्ण यात्रा गरेर आवतजावत गर्नुपर्ने अवस्था थियो ।” स्याङ्जाका स्थानीय कोइरालाले भने, “तीनमुखे झोलुङ्गे पुलले अहिले हामी स्थानीयलाई निकै राहात पुगेको छ ।” उनी गुल्मी मात्र नभई पाल्पा जान पनि एउटै पुलले राहत दिलाएको छ । यसको कारण तीन जिल्ला जोडेको तीनमुखे पुल हो । उनले तीनमुखे पुलका कारण रिडीको आर्थिक उपार्जनमा सहयोग पुग्ने पनि बताए। दसैँ र तिहार तीनमुखे पुल अवलोकन गर्ने बढेको उनले सुनाए ।

त्यस्तै, गुल्मीका बलबहादुर दरौजाले तीनमुखे पुलका कारण आवतजावतमा निकै सहज र आन्तरिक पर्यटकको घुइँचो लागिरहेको जानकारी दिए। तीनमुखे नमूना पुलले धेरै राहात गुल्मेलीलाई मिलेको र तीन जिल्लाको सम्बन्ध तीन नदी मिसिएको जस्तै भएको उनले बताएका छन्। उनले पाल्पा र स्याङ्जा जान रिडीवासीलाई निकै सहज भएको पनि बताए । साथै पाल्पाका स्थानीय सोनी गैरेले पुलका कारण तिन जिल्लाको आवतजावत झनै नजिकिएको सुनाए। “सबै ठाउँमा दुई जिल्ला जोड्ने मात्र पुल देखेकी थिएँ ।”उनले भने, “तीन जिल्ला जोडेको चीनमुखे पुलले धेरै पर्यटक आर्कषण गर्न सक्छ ।” उनले नमूना पुलको प्रचारप्रसार गरेर पर्यटकलाई आकर्षित गर्न पनि सरोकारवाला निकायालाई आग्रह गरे। उनले बजारको लागि रिडी जान र स्याङ्जाको आवतजावतमा आफूहरूलाई सहजता भएको बताए ।

तीनमुखे झोलुङ्गे पुलले गुल्मीको रूरूक्षेत्र गाउँपालिका–१ रिडी, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ जोडेको छ । यसले तीन जिल्लाअन्तर्गत यस क्षेत्रका स्थानीयवासीको आवतजावतमा निकै सहजता ल्याएको छ भने पर्यटकीय सम्भावना पनि बोकेको छ ।

झोलुङ्गे पुलको शिलान्यास १५ मङ्सिर २०७१ मा तत्कालीन संविधानसभा सदस्य कांग्रेसका युवा नेता डा चन्द्र भण्डारीले गरेका थिए। तीन जिल्ला जोड्ने तीनमुखे पुलको परिकल्पना भने तत्कालीन मुख्यसचिव लिलामणि पौडेलले गरेका हुन्। पुल एसिया महादेशको पहिलो तीनमुखे झोलुङ्गे पुल भएको कांग्रेस नेता डा भण्डारीले बताए । पुल मङ्सिर २०७१ बाट निर्माण सुरू भएको थियो ।

झण्डै रु १० करोड लागतले आठ वर्षको समयावधिमा निर्माण सम्पन्न भएको उक्त पुल गत वैशाखमा निर्माण सम्पन्न भएको थियो । यसको उद्घाटन भने हुन बाँकी छ । “निर्माणको काम सुरू गरेको आठ वर्षमा हामीले तीनमुखे पुलको निर्माण गत वैशाखमा सकेका छौँ ।” निर्माण व्यवसायी बर्माले भने, “अब स्थानीय तह, प्रदेश र केन्द्र सरकारले समन्वय गरेर उद्घाटन गर्ने दिनको प्रतीक्षा गरेका छौँ ।” उनले बर्खाको समयमा कालीगण्डकी नदीमा आउने बाढी, आर्थिक अभाव र कोरोना महामारीका कारण पुल निर्माणमा लामो समय लागेको पनि बताए।

झोलुङ्गे पुलको लागि तीन जिल्लामा जान कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको स्तम्भ निर्माण गरिएको छ । पुलमा २५ मिटर उचाइको भ्युटावर रहेको छ । बीचमा निर्माण भएको स्तम्भबाट तीन जिल्लासम्म पुग्न तीनैतर्फ एक सय ७७ मिटर लामो झोलुङ्गे पुलको निर्माण भएको छ । झोलुङ्गे पुल बन्ने कामले सार्थकता पाएपछि स्थानीय निकै उत्साहित बनेका छन् । पुल निर्माणको जिम्मा पाएको नयाँ बाटो रुविना मना जेभी कम्पनीले तीन जिल्ला जोड्ने तीनमुखे नमूना पुल कूल रु नौ करोड ८८ लागतमा निर्माण सकेको उनले जानकारी दिए ।

तीन जिल्लामध्येका तीन स्थानीय तहहरू गुल्मीको रूरूक्षेत्र गाउँपालिका, पाल्पाको तानसेन नगरपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले समन्वय गरेर उद्घाटन गर्ने गुल्मीको रूरूक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए। “तीनमुखे नमूना पुलको निर्माण केही समयअघि मात्र सकिएको छ ।” गाउँपालिका अध्यक्ष ज्ञवालीले भने, “विभागसँग समन्वय गरेर हामी तीन स्थानीय तहहरूको सल्लाहमा निर्वाचनपछि उद्घाटनको तयारीमा छौँ ।” नमूना तीनमुखे पुलको उद्घाटन र अझै व्यवस्थित बनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित हुने गरेर काम गर्ने गाउँपालिका अध्यक्ष ज्ञवालीले बताए । स्थानीयमा अभाव खड्किएको पुल उद्घाटनपछि अझै व्यवस्थित बन्ने पनि उनले बताए ।

कफी सपको तयारी

आफूहरूको पहलमा बनेको एसियाको नमूना तीनमुखे पुलमा कफी सप बनाउने तयारी रहेको पुलका पहलकर्ता कांग्रेस नेता डा चन्द्र भण्डारीले बताए । “दीर्घकालीन समयको लागि पर्यटक आर्कषक गरिरहने सोचमा एसिया महादेशमा पहिलोपटक हामीले नमूना तीनमुखे पुल बनाएका छौँ ।” उनले भने, “नमूना पुललाई अझै नमूना बनाउने सोचले इन्जिनियरको समूहसहित पुलमा हुने सम्भावित सम्भावनालाई खोजेका हौँ ।” उनले पुल निर्माणपछि अझै गर्न सकिने कामको सम्बन्धमा इन्जिनियर्स एशोसिएशन अफ नेपालका अध्यक्ष हरि दर्लामी नेतृत्वको नौ जनाको समूहलाई अध्ययन तथा अनुगमन गराएका हुन् ।

तीन जिल्ला जोड्न बनाइएको कालीगण्डकी नदीको बीचमा रहेको स्तम्भ छ तलाको रहेको छ । छ तलालाई चारैतिरबाट सिसा लगाएर सुन्दर घर बनाउन सकिने इन्जिनियरको निष्कर्ष रहेको डा भण्डारीले बताए । सुन्दर घरभित्र कफी सप बनाउने योजना अगाडि बढाउने तयारीमा आफूहरू लागेको उहाँको भनाइ छ । इन्जिनियरसहितको प्रारम्भिक अध्ययनमा कफी सप बनाउन सकिने र त्यसमा लिफ्टसमेत राख्न सकेमा नमूना तीनमुखे पुल अझै नमूना बनाउन सकिने देखिएको छ ।

नेता डा भण्डारी अहिले प्रतिनिधिसभा सदस्यको लागि चुनावी मैदानमा छन् । उनले एउटा झोलुङ्गे पुलको मात्र नभई सिङ्गो विकासमा गुल्मीलाई नमूनाको रूपमा कांग्रेसबाट सत्तारुढ गठबन्धनको साझा उम्मेदवार रहेको बताएका छन्। उनीसँग नेकपा (एमाले)को तर्फबाट उपमहासचिव प्रदीपकुमार ज्ञवाली चुनावी प्रतिस्पर्धामा छन् । –रासस

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D