समाचार

सफलताको कुरा: तरिका फेर्दा बढ्यो आम्दानी

अधिकांश व्यवसायी विदेश बसेर फर्केका नै छन्

घनश्याम गौतम
रूरू गाउँपालिका ४ बलेटक्सार गुल्मीमा छ, ईश्वर डेरी उद्योग । जिल्लामा छुर्पी बिक्री नै हुँदैन । उद्योग सञ्चालक नर्जन श्रेष्ठले भने यो वर्षै १० क्विन्टल उत्पादन गरेका छन् ।

बजारमा जुन कुराको खोजी र बिक्री हुँदैन, त्यही बिक्रीमा उनी बढी चासो दिन्छन् । बजारको खोजी गर्छन् । २०६३ सालमा डेरी खोल्ने उनले सोच बनाए । दूध खोज्दै गाउँ पुगे । धेरैले दूध दिएनन् । मुस्किलले जुटाएको दैनिक १५ लिटर दूध पनि बिक्री भएन । ‘कसैले किनेरै खान मानेनन्,’ उनी भन्छन्, ‘डेरीको दूध पनि के खानु भन्थे तर अहिले पुर्‍याउनै हम्मेहम्मे छ ।’

घर पुर्‍याउँदा पनि दैनिक १५ लिटर दूध बिक्री नहुनेमा अहिले डेरीबाटै लैजानेको संख्या डेढ सय कटेको छ । गाउँमा गाई–भैंसी पाल्ने घटदैछन् । सहरका सबै घरमा दूध खपत हुन्छ तर उत्पादन हुँदैन । त्यही बुझेर उनले दूध संकलन गर्ने र घरघरै पुर्‍याएर बेच्ने निधोसाथ व्यवसाय थालेका थिए । ‘घरघरै दूध पुर्‍याइदिएपछि दैनिक खाने बानी लाग्यो,’ उनी भन्छन्, ‘अहिले पसलबाटै पुर्‍याउन मुस्किल हुन्छ ।’ काम उही थियो तर फरक ढंगले गर्दा व्यवसाय बढ्यो । ६ वर्ष साउदी अरबमा काम गरेर फर्केका उनलाई २०६५ सालमा पशु सेवा कार्यालय र अहिले किसानका लागि उन्नत बीउ बिजन कार्यक्रमले सहयोग गरेको छ । उनलाई पछ्याउँदै जिल्लाका ५० भन्दा बढी किसानले यो पेसा अँगाले ।
1-11051-1-chaumin-byapar-1252018062431-1000x0
दर्जनभन्दा बढी डेरी खुलेका छन् । प्रतिस्पर्धा बढेको छ । दूध उत्पादन गर्ने किसान, बिक्री गर्ने व्यवसायी र खाने ग्राहक बढेसँगै उनले अर्को चुनौती खोज्दै दूधलाई विविधीकरण गर्दै छन् । जिल्लामा बिक्दै नबिक्ने १० क्विन्टल छुर्पी उनले उत्पादन गरेका छन् । ९ क्विन्टल नौनी घ्यू उत्पादन गरे । घ्यू दसैं–तिहारमा र छुर्पी तराईका जिल्लामा पठाउने गरी उत्पादन गरेका हुन् । घ्यू र छुर्पी दुवैको अहिले बजार छैन । ‘त्यसको बजार खोज्दै छु,’ उनी भन्छन्, ‘खोजेर बिक्री गर्ने बजारमा मूल्य पनि बढी हुन्छ ।’ उनले उद्योगमा झन्डै ३५ लाख लगानी गरेका छन् । त्यसबाट खर्च कटाएर मासिक १ लाख आम्दानी हुन्छ ।

तम्घासका बस्नेत र रेसुंगा डेरीले पनि दूध बिक्री गर्छन् । दूध खरिद गर्न किसानको घरगोठमै पुग्छन् र ग्राहकको ढोकासम्म जान्छन् । ०५७ देखि सानो भाँडोमा दूध लिएर तम्घासका बजारमा बेच्ने रेसुंगा डेरीका सञ्चालक बालकृष्ण भण्डारी अहिले पनि २ सय लिटर दूध ग्राहकको ढोकासम्म पुर्‍याउँछन् । दुवैले दूध खरिद–बिक्रीबाटै मासिक ४० देखि ५५ हजारसम्म कमाउँछन् ।

विदेश त्यागेर दूध पसल

गुल्मीमा डेरी चलाउने अधिकांश विदेश छाडेर फर्केका हुन् । युवा व्यवसायी सबैले गर्ने कामलाई केही फरक ढंगले गरेर सजिलै आम्दानी लिइरहेका छन् । रिडीको गौरव डेरी सञ्चालक रविलाल पन्थ, नर्जन श्रेष्ठ, तम्घासका जुद्धबहादुर बस्नेत सबैले विदेशबाट फर्केर डेरी सुरु गरेका हुन् । रेसुंगा नगरपालिका ७ कुँडापानीका शम्भु पाण्डे १२ वर्ष दुबई बसे । फर्केर झन्डै ७० लाख लगानीमा आधुनिक गाई फार्म खोलेका छन् ।

२१ वटा गाई पालेका उनले मासिक २ लाख ५० हजार रुपैयाँ आम्दानी गर्छन् । पन्थ ५ वर्ष कोरिया, श्रेष्ठ ६ वर्ष साउदी, बस्नेत २१ वर्ष भारत बसेका थिए । डेरी चलाउने सबैले अहिले किसानलाई दूध उत्पादन र सरसफाइ पनि सिकाउँछन् । अप्ठ्यारो पर्दा सहयोग पनि गर्छन् । ‘त्यसले निकटता बढाएको छ, किसान उत्साहित छन् । दूध उत्पादन वृद्धि हुन्छ,’ उनले भने, ‘घरै पुर्‍याउँदा दूध नखानेलाई पनि खान मन लाग्छ ।’ अहिलेका अधिकांश मान्छे सुविधाभोगी भएकाले त्यहीअनुसार व्यवसाय गर्न थालेको उनले जनाए । व्यवसायीले किसानबाट प्रतिलिटर ६० रुपैयाँमा किन्ने दूध ग्राहकलाई ७६ रुपैयाँमा बेच्छन् ।

खेती छाडेर बीउ उत्पादन
दूधमा मात्र छैन फरक व्यवसाय । गुल्मी र अर्घाखाँचीका धेरै किसान अहिले गाउँमा वर्षौंदेखिको परम्परागत कृषि खेती छाडेर बीउ उत्पादनमा लागेका छन् । गाउँघरको बीउ लोप हुँदै गएको छ । किसान उन्नत बीउको खोजीमा छन् । त्यसको पूर्ति र उत्पादन वृद्धिका लागि गाउँकै किसान अग्रसर हुँदैछन् ।

गुल्मीको रेसुंगा नगरपालिका १० सिमिचौरकी माया मरासिनीले वार्षिक ७ क्विन्टलसम्म मकैको बीउ उत्पादन गर्छिन् । जुन खेती गरे पनि उत्पादन कम हुन थालेपछि उनले शैली परिवर्तन गरिन् । वर्षभरि खेती गरेर २० हजार नगद आम्दानी नहुने ९ रोपनी बारीमा फलाएको बीउबाट ८० हजारसम्म कमाइ हुन्छ । गाउँमा खानेपानीको समेत अभाव छ ।

सिँचाइबिना तरकारी र अन्य खेती हुँदैन । ‘त्यसैले अरू छाडेर बीउ उत्पादनमा लागें,’ उनले भनिन्, ‘त्यसले सिँचाइ समस्या पनि टर्‍यो, आम्दानी पनि बढ्यो ।’ आकाशे पानीकै भरमा हुने खेती भएकाले सजिलो भएको उनले बताइन् । उनी गाउँको मालिका बहुउद्देश्यीय कृषि सहकारी संस्थामा आबद्ध छिन् । ७५ किसान आबद्ध संस्थाले अहिले वार्षिक ९ टन बीउ उत्पादन गर्दै आएको छ । गुल्मीमा उत्पादन भएका ५ जातका मकैका बीउ बागलुङ, कास्की, स्याङ्जा, प्यूठान, पाल्पा, अर्घाखाँचीलगायत जिल्लामा पुग्छन् । त्यसबाट किसानलाई १ करोडसम्म आम्दानी भएको छ । किसानले उत्पादन गरेको बीउ प्रतिकेजी ५५ देखि ६० रुपैयाँमा बिक्री हुन्छ ।

तरकारीको बीउलाई प्राथमिकता

सन्धिखर्क नगरपालिका ८ किमडाँडाका किसान विष्णुभक्त रानाले धेरै वर्ष तरकारी खेती गरे । आम्दानी राम्रै थियो तर प्रतिस्पर्धा धेरै । त्यसैले तरकारी खेती छोडे र सधैं बजारमा अभाव हुने बीउ उत्पादन सुरु गरे । ४ वर्षदेखि सिक्किम लोकल केराउ र मिनुअर्ली मूलाको बीउ फलाउँदै आएका छन् । उनलाई गाउँका अरू १५ किसानले साथ दिएका छन् ।
संगम ताजा तरकारी तथा फलफूल उत्पादक कृषक समूहमार्फत एउटै गाउँबाट अहिले ७ क्विन्टल केराउ र ४ क्विन्टल मूलाको बीउ उत्पादन हुन्छ ।

‘आम्दानी केही कम छ तर बिक्री सजिलो छ,’ रानाले भने, ‘बजार खोज्दै हिँड्नु पर्दैन, बीउ छानेर बचेको दालसमेत खान र बिक्री गर्न सकिन्छ ।’ प्रतिकिसान २ रोपनी जग्गामा बीउ उत्पादन हुन्छ । २ केजी रोपेर किसानले ८५ किलोसम्म उत्पादन गर्छन् । बीउ बिक्रीबाट पहिलो वर्ष १ लाख ८० हजार र दोस्रो वर्ष १ लाख २० हजार कमाएको रानाले बताए । उनीहरूको बीउ रेसुंगा सिड्स कम्पनी काठमाडौंले खरिद गर्छ ।

बाख्रामा पनि फरक
सन्धिखर्क नगरपालिका १४ डिर्भनाका गोपाल बस्यालको घरमा अहिले १५ बाख्रा छन् । ५ वर्षअघिसम्म उनले ४० वटासम्म पाले । तर धेरै पालेर मात्र आम्दानी नहुने उनले बुझे । अनि घटाएर १५ मा झारे । ४० पाल्दा वर्षमा ३ लाखसम्म आम्दानी हुन्थ्यो । घटाएर १५ पुर्‍याउँदा पनि आम्दानी उस्तै–उस्तै छ । खर्च घट्यो । ‘धेरै पालेर धेरै आम्दानी नहुने रहेछ,’ उनले अनुभव सुनाए, ‘गर्न जाने थोरैबाट पनि उत्ति आम्दानी हुन्छ ।’ उनले संख्या मात्र घटाएका छैनन् । नयाँ बोयर जातको बोका पनि भित्र्याए । त्यसबाट बाख्रा व्यवसाय फस्टाएको हो ।

अर्घाखाँचीको डिर्भनामा मात्र केयूबीकेमार्फत अहिले १३ बोयर बोका छन् । १ हजारभन्दा बढी बाख्रा र ५ सय १ पाठापाठी छन् ।

बोयर बोकाबाट जन्मेका ५० प्रतिशत क्रस बोका छन् । तिनको मूल्य पनि बढी छ । जालकाँडा बाख्रापालन समूहका १ सय ५३ किसानले ती बोका र बाख्राबाट राम्रो आम्दानी गरेका छन् । बोयर बोकाबाट जन्मिएका पाठापाठी दैनिक ३ सय ग्रामका दरले तौल बढ्ने पशु सेवा कार्यालय प्रमुख डा. लोकनाथ पौडेलले बताए । ‘जन्मिँदा ७ किलोसम्म जन्मिएको छ,’ उनले भने, ‘८८ दिनमा त्यसको वृद्धि झन्डै ४४ किलोसम्म भयो ।’

समूहले १३ महिनाको अवधिमा बाख्राबाट मात्र ४२ लाखका बाख्रा र बोका बिक्री गरेको छ । स्थानीय गीता भुसालले २ बाख्रा पालेर १५ महिनामै २ लाख ५१ हजार आम्दानी गरिन् । ‘पहिले गाउँघरे बाख्रा धेरै पाल्थेंं, अहिले बोयर पाल्न थालेपछि कम पालें तर आम्दानी बढ्यो ।’

थोरै पाल्दा घाँस, दानापानी कम लाग्ने र स्याहारसुसार पनि पुग्ने हुँदा छिटो बढ्ने र स्वस्थ्य हुने भएकाले मूल्य बढी पर्ने उनले सुनाइन् । फरक शैलीले काम गर्ने पश्चिम नेपालका रुकुम, रोल्पा, सल्यान, प्यूठान, गुल्मी, अर्घाखाँचीका युवा उद्यमी र किसानलाई केयूबीके कार्यक्रमले अनुदान सहयोग र पुलको काम गर्दै आएको छ । -कान्तिपुर दैनिकबाट

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D