निर्वाचन अप्डेट

लुम्बिनीका २७८ मतदान केन्द्र संवेदनशील

रूपन्देही । लुम्बिनीका कुल ११ सय ३४ मतदान केन्द्रमध्ये अतिसंवेदनशील २ सय ७८ मतदान केन्द्र छन् । त्यसैगरी संवेदनशील ३ सय २६ र सामान्य ५ सय ७० रहेका छन् । रूपन्देहीका कुल २ सय ८ मतदान केन्द्रमध्ये अतिसंवेदनशील ७५, संवेदनशील ४२ र सामान्य ९१ मतदान केन्द्र छन् ।

त्यसैगरी, कपिलवस्तुमा कुल २ सय ३३ मध्ये अतिसंवेदनशील १ सय ५३, संवेदनशील ६५ र सामान्य १५, नवलपरासीमा कुल १ सय २० मतदान केन्द्रमध्ये अतिसंवेदनशील ३,संवेदनशील ५६ र सामान्य ६१, पूर्वी नवलपरासीमा १ सय १२ अतिसंवेदनशील २, संवेदनशील २५ सामान्य ५, पाल्पामा कुल १ सय १ मतदान केन्द्रमध्ये अतिसंवेदनशील १८, संवेदनशील ४० र सामान्य ६० मतदान केन्द्र रहेका छन् ।

अर्घाखाँचीका कुल ९३ मतदान केन्द्रमध्ये अतिसंवेदनशील २५, संवेदनशील २५ र सामान्य ४३ तथा गुल्मीमा कुल १ सय ३८ मतदान केन्द्रमध्ये संवेदनशील ४८ र सामान्य ९० मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएका छन् । गुल्मीमा अतिसंवेदनशीलको सूचीमा मतदान केन्द्र छैनन् ।

चुनाव प्रचारका क्रममा उम्मेदवारलाई लक्षित गरी एम्बुस र गोली प्रहार गरी आक्रमण हुन थालेपछि सुरक्षा निकायले चुनाव केन्द्रित सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन थालेका छन् । चुनावको मिति नजिक आउँदै गर्दा चुनावविरोधी गतिविधि बढ्न सक्ने विश्लेषण गर्दै सुरक्षा निकायले त्यस्ता गतिविधिलाई नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालनको योजना बनाएका छन् ।

पाँच नम्बर प्रदेशमा तराईका जिल्लामा सिके राउतको विखण्डनकारी समूह र पहाडमा विप्लव माओवादीको बहिष्कारवादी समूहका गतिविधि चुनावका लागि बाधक बनेको सुरक्षा अधिकारीले बताएका छन् । पाँच नम्बर प्रदेशमा १२ जिल्ला रहेका छन् । तीमध्ये नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी तराईका ६ जिल्ला भारतसँग खुला सीमा जोडिएकाले भारतबाट आपराधिक समूह सहज आवतजावत गर्न सक्ने भएकाले सुरक्षा निकायले सीमावर्ती जिल्लालाई संवेदनशील मानेका छन् ।

खुला सीमाले साना हतियारको ओसार पसार सहज भएको र चुनावमा सीमापारिबाट ती सहज आउन सक्ने भएकाले सुरक्षा निकाय चनाखो बनेका छन् । यी जिल्लामध्ये कपिलवस्तु, रूपन्देही र नवलपरासीमा मधेसलाई अलग राष्ट्रको माग गर्दै मधेसमा आन्दोलन गर्दै आएको सिके राउत समूहले निर्वाचन विथोल्ने कार्यक्रम गर्न सक्ने विश्लेषण गर्दै त्यो गतिविधिलाई निस्तेज पार्न सुरक्षा निकायले ध्यान दिएका छन् ।

यो प्रदेशमा पर्ने पहाडका ६ जिल्ला गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुममा तराईका जिल्लाको तुलनामा सुरक्षा चुनौती कम रहेको विश्लेषण गरेको सुरक्षा निकायले चुनाव बहिष्कार गरेको विप्लव माओवादीले गतिविधि आक्रामक बनाएपछि चुनौती बढेको ठहर गरेको छ । सुरक्षा अधिकारीले लुम्बिनीका पहाडी जिल्ला गुल्मी, पाल्पा र अर्घाखाचीको तुलनामा राप्तीका पहाडी जिल्ला प्युठान, रोल्पा र रुकुममा विप्लव माओवादीको प्रभाव रहेको र सुरक्षा चुनौती बढिरहेको निष्कर्ष निकालेका छन् ।

तराईका जिल्लामा खुला सीमाका कारण भारतबाट आपराधिक समूहको घुसपैठ हुन सक्ने भन्दै सुरक्षा निकायले निगरानी बढाएका छन् । खुला सीमाको संवेदनशीलता बुझ्दै सर्तकता बढाइएको छ, सुरक्षा थ्रेट पहिचान गरी अघि बढेका छौं, संघीय प्रहरी इकाई कार्यालय भैरहवाका प्रमुख एसएसपी दीपक थापाले बताए । ५ नम्बर प्रदेशका १२ जिल्लामध्ये रोल्पा र रुकुममा पहिलो चरणमा मंसिर १० गते र अरू १० जिल्लामा दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुनेछ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D