समाचार

रूपन्देही अस्थायी राजधानी तोकिएपछि दाङमा चर्कियो आन्दोलन

काठमाडौं, ३ माघ । सरकारले प्रदेश ५ को अस्थायी राजधानी रूपन्देही तोकेपछि दाङमा आन्दोलन चर्किएको छ । बुधबार विहानैदेखि प्रदर्शन गर्दैै आएका आन्दोलनकारीले सरकारले दिउँसो रुपन्देहीलाई अस्थायी राजधानी तोकेपछि थप आक्रोशित भएका छन् । मन्त्रिपरिषदको निर्णय लगत्तै आन्दोलनकारीले घोराही, तुलसीपुर, लमही लगायतका स्थानमा टायर बालेर विरोध जनाएको जानकारी प्राप्त भएको छ ।

उनीहरुले सरकारले निर्णय नसच्याए दाङबाट आठौं प्रदेशको लागि आन्दोलन शुरु गर्ने चेतावनी दिएका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले भौगोलिक र सामरिक हिसाबले सबैभन्दा उपयुक्त ठाउँ दाङ छाडेर रुपन्देहीलाई अस्थायी मुकाम घोषणा गर्नु अन्यायपूर्ण भएको बताए । सरकारले निर्णय नसच्याएसम्म आन्दोलन जारी रहिरहने उनले जानकारी दिए । दाङ प्रादेशिक राजधानी सरोकार समितिका सदस्य सचिव एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन पि्रयाशनले सरकारले भारतको चाहना अनुसार भारतीय सीमा क्षेत्र रुपन्देहीमा अस्थायी मुकाम तोकेको आरोप लगाए । ‘नेपाललाई सिक्किमिकरण गर्ने डिजाइनमा राजधानी सीमा क्षेत्रमा राख्न खोजिएको हो,’ पि्रयासनले भने, ‘विदेशीको इशारामा गरिएको निर्णय हामीलाई कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।’

मन्त्रिपरिषद बैठकले बुधबार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीमा अस्थायी मुकाम तोकेको छ । अस्थायी मुकाम तोकेको विरोधमा प्रदेश २ को वीरगञ्ज, प्रदेश ५ को दाङ र प्रदेश ७ को दिपायलमा बुधबारदेखि नै आन्दोलन सुरु भएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D