समाचार

योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त, लिए पद तथा गोपनियताको शपथ

काठमाण्डौ, साउन १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भट्टराई नियुक्त भएका ताप्लेजुङबाट निर्वाचित नेकपा सांसद योगेश भट्टराईले पद तथा गोपनियताको शपथ लिएका छन्। भट्टराईलाई शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिएकी हुन्।

मन्त्री योगेशको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायतका संवैधानिक निकायका प्रमुख उपस्थित भएका थिए। अनेरास्ववियूका अध्यक्षबाट मूलधारको राजनीतिमा प्रवेश गर्दै ताप्लेजुङ जिल्लाबाट सांसद पदमा निर्वाचित योगेश भट्टराई तत्कालिन एमालेको सचिव र प्रचार विभाग प्रमुख भएर काम गरिसकेका छन् । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमै भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि सो मन्त्री पद खाली थियो भने मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हाल्दै आएका थिए।

सरकारले सन् २०२० लाई पर्यटन बर्ष मनाउने घोषणा गरेको र लामो समय मन्त्री बिहीन रहनाले धेरै काम हुन नसकेको अबस्थामा मन्त्री हुन लागेका योगेश भट्टराईका लागि यो पद अवसरसँगै ठूलै चुनौति पनि हुनेछ ।नेताहरुसँगको सल्लाहमा प्रधानमन्त्री ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिनुभएको हो । यसअघि चुनावका बेला ताप्लेजुङमा भएको चुनावी सभामा ओलीले योगेशलाई जिताएर पठाउनुस् मन्त्री बनाउने काम मेरो भयो भन्ने अभिव्यक्ति नै दिनुभएको थियो ।

भट्टराईले नेपाली कांग्रेसका उम्मेद्वार केशवप्रसाद दाहाललाई २ हजार भन्दा बढी मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । भट्टराईको १९४८९ मत आउँदा दाहालले १६८८८ मत ल्याउनुभएको थियो । यसैबीच प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले पर्यटन मन्त्रीको कार्यभार सम्हाल्न लाग्नुभएका पर्यटनमन्त्रीलाई शुभकामना दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली साउन १८ गते उपचारका लागि सिंगापुर जाने कार्यक्रम छ। प्रधानमन्त्रीले आफू उपचारका लागि विदेश जानुअघि नै मन्त्री नियुक्त गरेका हुन्। मन्त्री परिषदमा ठूलै हेरफेर हुने चर्चा गरिंदै आएको सन्दर्भ योगेशको यो नियुक्तिले तत्कालका लागि टुङ्गिएको छ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D