समाचार

मान्छे पसे शहर, गाउँ पसे बाँदर: खेती मात्र होइन मान्छे पनि असुरक्षित

टोपलाल अर्याल
गुल्मी, माघ २० । गुल्मीको सत्यवती २ ठुुलोलुम्पेक चेहेमीका ८७ बर्षीय थानेश्वर कुवँरले बाँदर धपाउन थालेको ६० बर्ष भयाे । उनलाई बाँदरको समस्या तन्नेरी हुँदादेखि नै रहेको थाहा छ । अहिले कपाल फुल्यो यद्यपी समस्या ज्यूँका त्यूँ छ । ‘बाँदरले खेति मात्रै खाएन मान्छे समेत बँच्न मुस्किल पर्याे’ कुवँरले भने ‘घाम उदाएदेखि रात नपरुन्जेल खेतबारीमै बस्नुपर्ने बाध्यता परेको छ ।’

कुवँर दम्पती सहित गाउँमा बुढाबुढी मात्र छन् । बिहानदेखि बेलुकासम्म बाँदर हेर्ने युवा गाउँमा छैनन् । केहि बसाई सरेर गए । कति विभिन्न शिलसिलामा शहर छन् । कुवँरले बाँदरकै समस्याका कारण चार रोपनी खेतबारी बाँझै राखेका छन् ।

गाउँमा मान्छेको भन्दा बाँदरको संख्या धेरै छ । बाँदरले कसैलाई टेर्दैन । तीन÷चार सय बाँदर आएपछि ढोका लगाएर लुक्ने अवस्था रहेको कुवँरले बताए । बाँदरले खेतवारीमा लगाएको बाली मात्र होईन घरमै आएर समेत सामानहरु लैजाने, विगार्ने र फ्याँकिदिने गरेको गाउँलेहरु बताउँछन् । बसाइसराईका कारण गाउँमा मान्छे पनि कम छन् । भएकालाई पनि धपाउँन जाँदा बाँदरले टेर्न छोडेको गाउँलेहरुको भनाई छ । बाँदर आतंककै कारण गाउँमा बस्ने मनस्थितीमा नरहेको लक्ष्मीपुर माविका शिक्षक शेरबहादुर कुवँरले बताए ।

बाँदरले ठुलोलुम्पेक र अस्लेवाका ढुसेनी, पाँदी, चेहेमी, ढाव, गुलम्दी, रामबारी र चौर लगायतका स्थानमा बढि सताउने गरेका छन् । ‘मान्छे शहर झरे, बाँदर मात्रै गाउँमा छन’ स्थानीय धनपति कुवँरले भने ‘केहि समय पहिले १५ रोपनी खेतबारीको मकै एकछिनमा नष्ट ग¥यो ।’ सोहि स्थानका रुद्रलाल कुवँरको करिव तीन रोपनी खेत बाँझै छ । ‘बुढाबुढी बाँदर लखेट्न सकिएन, खेतीको लोभमा ज्यानमै धराप किन पार्नु’ उनले भने ‘खेतबारी बाँझिएपछि बाँदरले झन घरघरमा आएर दुःख दिन थाल्या ।’

खेतीसगै मान्छे पनि असुरक्षित

बाँदरले मकै रोप्दा खोर्सेर खाने, अल्ली ठुलो भए गुवो खाने, फल लागेपछि भाँचेर खाने तथा घरमै स्याहारेको अन्नपात समेत खाने गरेको छ । खेतबारीबाहेक घरमै भएका मुला, आलु र भकारीमा राखेको मकै समेत खाने गरेको मालिका गाउँपालिका ५ भुस्खातका ठगिश्वर गिरीले बताए ।
उनले बारीमा एक्लै महिला केटाकेटी हिडन सक्ने अवस्था नरहेको बताए । ‘बिउ छरेदेखि उम्रिएर घरमा स्याहार गरेको पनि बाँदरले खायो’ उनले भने ‘महिला र बालबालिका एक्लै बारी र घरमा समेत असुरक्षित भए, बगालै आएर पिट्छ ।’
यहि कारण छापहिलेका गोमा गिरी, डम्बर गिरीले खेतबारी बाँझै राखेर बसाईनै सरेर गएको स्थानीय गिरी बताए । बाँदरकै कुटाइबाट सत्यवति गाउँपालिका १ अस्लेवाकी उमकला कुवंर घाइते समेत भएकी थिइन् ।

नियन्त्रण र क्षतिपूर्तिको माग

स्थानीयले बाँदरका कारण जिविकोपार्जनमा मुस्किल परेको भन्दै नियन्त्रण र क्षतिपूर्तिको माग गरेका छन् । जनशक्ति अभाव, महङ्गी र कम उब्जनीका कारण धेरैले कृषि कर्म छाडेका छन् । त्यसमाथै खेतीबाली गरिरहेकाहरु पनि उत्पादन स्याहार्न पाउने आशमा छैनन् ।
ठुलो संख्यामा आउने बाँदरले खेतबारी नै कब्जा गर्ने गरेको मालिका गाउँपालिका ७ का राजु लम्सालले बताए । उनले यो समस्याका कारण गाउँनै छोड्ने अवस्था आएकाले स्थानीय सरकारले चासो दिनुपर्ने बताए । ‘नियन्त्रण छैन, क्षतिपूर्ति पनि छैन किसानले कसरी काम गर्ने ?’ उनले भने ‘धेरैले खेति गर्न छाडे ।’

बाली जोगाउन पुतली बाघ

बाँदरले बालीनाली जोेगाउन स्थानीयले अनेक उपाय गरेका छन् । तर सवै उपायले काम गरेको छैन् । बाँदर धपाउने उपायका रुपमा रुरु गाउँपालिका १ चिउरेकमा स्थानीयले बाघको डमी बनाएर राखेका छन् । बाली जोगाउने अनेक उपायले काम नगरेपछि अहिले बाघको डमी बनाएर खेतबारीमा राखेको च्यूरेकका मित्र ज्ञवालीले बताए । साथै कुकुरलाई रंगाएर बाघ जस्तो बनाएर पनि छाडिएको छ । शूरुको वर्ष अर्थात गत वर्ष यस्तो उपायले काम गरेता पनि पछि बाँदरले चाल पाए पछि टेर्न छोडेको उनले बताए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker