टोपलाल अर्याल
गुल्मी, ३ बैशाख । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले भर्खरै भत्किएको पुलको निरिक्षण गरेका छन् । निरिक्षणको क्रममा उनले अन्तिम अवस्थामा पुल ढल्नु ज्यादै दुखद भएको बताए ।
यो पनि पढ्नुस्: प्रत्येक पालिकामा कम्तिमा ४ सय युवाहरुलाई रोजगारी दिने कार्यक्रम सन्चालन हुन्छ – मन्त्री बिष्ट
जिल्ला भ्रमणको क्रममा मुसिकोट नगरपालिका ७ झेदी पुलमा पुगको बिष्टले छिटोभन्दा छिटो सरकारी पक्षबाट यसको अनुगमन गरेर कारबाही प्रक्रिया अगाडी बढाउन निर्देशन दिएका छन् । ‘ज्यादै महत्वपूर्ण स्थानमा मुस्किलले पुल बन्दै थियो, ’ उनले भने, ‘यो दुर्भाग्य देख्नु प¥यो ।’ आफुले पनि यो बिषयमा विभिन्न निकाय र निर्माण कम्पनीसंग समन्वय गरिरहेकाले त्यहि ठाउँमा पुन पुल निर्माण गरिने बताए । उनले बल्ल बल्ल निर्माण भएको पुल ढलेकाले अव बन्दैन की भन्ने चिन्ता नगर्न स्थानीयलाई आग्रह गरे ।
निरिक्षणकै क्रममा मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले आफुहरुले निर्माण व्यावसायीलाई कमजोर संरचनाको बिषयमा पटक–पटक जानकारी गराए पनि अटेर गरेका कारण पुल भत्किएको बताए । ‘५८ मिटरको बिचमा कतै पिल्लर नै थिएन त्यहि बेलै सचेत बनाएका हौ’, उनले भने, ‘अहिले पुल ढलेको देख्नु प¥यो । मुसिकोट नगरपालिका ३ वडागाउँ र वडा नं ७ वामी जोड्ने झेदी पुल आइतबार भत्किएको थियो । ढलान गरेको २ दिनमै पक्की पुल भत्किएपछि पाँच जना समेत घाइते भएका थिए ।
भत्किएको पुलको बिज्ञ टोलीले समेत अनुगमन तथा निरिक्षण गरेको छ । स्थानीय सडक पुल कार्यक्रम (ीच्द्यए) रबिन्द्र तन्डुकार, पुलका डिजाइनर विश्व वल, पुर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख बिनोद चौधरी लगायतको टोलीले पुलको अवस्थाको बारेमा स्थलगत अध्ययन गरेर फर्किका छन् । पुर्वाधार विकास कार्यालयका प्रमुख चौधरीका अनुसार बिज्ञ टोलीले आफुले तीन दिन भित्र रिर्पोट पेश गर्ने जानकारी दिएको बताए । त्यसपछि मात्रै बाँकी प्रक्रिया अगाडी बढाउने चौधरीले बताए ।
अति महत्वपूर्ण स्थानमा निर्माण भएको पुल भत्किएपछि वामी र वडागाउँका नागरिक निराश भएका छन् । ‘आफ्नै घर ढले जस्तै भएको छ,’ सोहि स्थानका गोविन्द खरालले भने,‘छोटिदै गरेको वामी र वडागाउँको सम्बन्ध फेरि टाढिएको छ ।’ ०७३ सालमा जिल्ला प्राविधिक कार्यालय गुल्मी मार्फत वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले निर्माणको जिम्मा लिएको थियो । पुल ०७५ असार मसान्तमा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । अहिले यो पुल प्रदेश नं ५ अन्तरगतको भौतिक पुर्वाधार विकास कार्यालय गुल्मीले हेर्ने गरेको छ ।