जीवनशैलीबिचार

बिहे कहिले गर्ने, कहिले घरजम गर्ने ?

डा. मुक्ति अर्याल र इन्दिरा अर्याल
बिहे महिला र पुरुषको जीवनपर्यन्त मिलनको एउटा प्रकृया हो । यो परिवारको शुरुवात बिन्दु हो । हामी आज जे जस्तो छौ त्यो बुवाआमाको हेरबिचार, अभिभावकत्व र हाम्रो परिवारको देन हो । भोलि हाम्रो छोरा छोरी कस्ता हुने भन्ने कुरा पनि हामीले बुवाआमाको रुपमा कस्तो भूमिका निभाउन सक्छौ भन्ने कुरामा भर पर्छ । हाम्रो आजको अभिभावकत्व नै भोलिको संसारको भविस्य हो । असल परिवारले असल नागरिक दिन्छ, असल नागरिकले असल समाज, राष्ट्र र समग्र विश्व बन्छ । हाम्रो जीवन परिवारबाट सुरु हुन्छ अनि परिवार बिहेबाट ।

हाम्रो उमेरको बिहे अघिको जीवनको अंश भन्दा दाम्पत्य जीवनको अंश झन्डै दोब्बर हुन्छ। दाम्पत्य जीवनको सुरुवात बिहेवाट हुन्छ । बिहे समग्र मानव जीवनको एउटा महत्वपूर्ण अंश हो । त्यसैले यो प्राज्ञिक बहसको एउटा महत्वपूर्ण बिषय हुनु पर्थ्यो । यो बिषय महत्वपूर्ण भएपनि यस बिषयमा यथेष्ट बहस भएको भने पाइन्न । बरु एकातिर अविभावक तथा आफन्तहरुको एकोहोरो तथा तर्कहिन आग्रह हुन्छ भने अर्कोतिर सम्बन्धित पक्षले यसलाई अनावश्यक कच्कचको रुपमा लिने गर्छन । यसले ठीक समयमा ठीक निर्णय लिन नसकी जीवनमा पछुताउनु पर्ने हुन्छ । यसको निराकरणको निम्ति एउटा सामाजिक बहस थाल्नु उपयुक्त हुने देखिन्छ । त्यसैले हामी यो बहसको उठान गर्ने जमर्को गरेका हौं ।

बिहे कहिले गर्ने त ? यो एउटा ब्यक्तिको निजी मामला हो भनिए तापनि त्यस्तो कहिल्यै भएन बरु सामाजिक, सांस्कृतिक र पारिवारिक मामला बन्दै आयो । मागी बिहे, भागी बिहे, प्रेम बिहे, बाल बिहे, बहु बिहे, पहिले बिहे अनि करियर, पहिला करियर अनि बिहे, बूढौलिको बिहे, पुर्बिय संस्कृतिको बिहे , पश्चिमा संस्कृतिको बिहे जस्ता अनेकौ खालका बिहेहरु हुन्छन | हाम्रो पुर्बिय संस्कृतिमा मागी बिहे र प्रेम बिहे प्रमुख बिहे हुन । हाम्रो बुवा आमाको पाला वा आज भन्दा ५०-६० बर्ष पहिले मागी बिहे मात्र होइन बाल बिहे हुन्थ्यो ।

बाल बिहेमा प्रेम बिहेको प्रश्न पनि भएन बिहे कहिले गर्ने भन्ने सबाल पनि भएन । हाम्रै जीवनको झन्डै आधा सताव्धि बित्नै लाग्दा नेपाली धर्ति आकाश नयाँ युगमा प्रबेश गरेको छ । हाम्रा बुवा आमाको बाल्यकालमै बिहे भयो । दाजु दिदीहरुको कलिलो उमेरमै वा आफ्नो करीयरको बारेमा बिचार नगर्दै बिहे भयो । हाम्रो र अबका पुस्ताको अवस्था त्यस्तो छैन वा भनौं बौद्दिक समाजले बाल बिहे लाई स्वीकार्दैन । अबको बिहे बाबुआमाको एकल निर्णयबाट मात्र हुँदैन । केटा केटी दुबैको राजिखुशिमा मागी बिहे वा केटाकेटिको प्रेम र अभिभावकको राजी खुशीमा प्रेम बिहे हुन्छ/हुनुपर्छ । प्रेम बिहे होस् वा मागी बिहे होस् बिहे त गर्नु नै छ र प्राय सबैले गर्छन् । अहम सबाल चाँही बिहे उपयुक्त समयमा होस् र दाम्पत्य र पारिवारिक जीवन सफल होस् भन्ने हो ।

बिहे कहिले गर्ने, केरियर कहिले बनाउने र बालबच्चा कहिले पाउने/हुर्काउने भन्ने बिषय एउटा महत्वपूर्ण छ । यो महिला र पुरुष बिचको कामको बाड्फाड, संस्कृति, धर्म र परम्परा सँग पनि जोडिएको छ । समय परिवर्तन सगै महिलाले घरमा मात्र सिमित भएर घर र परिवारको सम्पूर्ण जिम्मेवारि लिनु पर्ने पुरुषले बाहिरको काम गर्नु पर्ने स्थिती अब रहेन । बाल विवाह र बहु विवाह जस्ता कुरिती पनि हट्दै जाने अवस्थामा रहेका छन । तर पनि आजको परिस्थितीमा बिहे गर्ने उपयुक्त अबसर कुन हो भन्ने बिषयमा युवा युबतिहरु र तिनका अभिभावकहरुमा एकरुपता हुनु आबस्यक देखिन्छ ।

अहिलेका सचेत युवा युवतीमा बिहेको भन्दा आफ्नो करियरको बढी चिन्ता र चासो हुन्छ, जुन स्वाभाविकै पनि हो । तर पढाई अनि जागिर आदि करणले बिहे गर्न ढिला हुने हो कि भन्ने चिन्ता अभिभावकमा देखिन्छ । धेरै जसो अवस्थामा बाबु आमाले अब बिहे गर्नु पर्छ भन्ने आग्रह गर्दा छोरा छोरीले चाँही कुरा सुन्न समेत तयार नहुने, मैले अहिले बिहे गर्दिन भन्ने गरेको सुनिन्छ । अनि त्यस्तै बिहे पछि बाबु आमालाई ना-नातिना कहिले हुन्छन भन्ने लाग्ने अनि छोरा बुहारीलाई त्यो सुन्न मन नलाग्ने गरेको देखिन्छ ।

यसको कारण बिहे पछि वा छोरा छोरी भए पछि आफ्नो करीयर मा असार पर्छ भन्ने नै हो । तर बुवा आमाको भनाइ मा पनि उतिकै मर्म लुकेको हुन्छ । बाबु आमालाई पनि ना-नातिना नखेलाई मरिन्छ कि भन्ने पिर लाग्न थाल्छ । छोरा छोरी ढिला गरी जन्माउनाले आफु बुढा बुढी हुँदा सम्म नहुर्कने, आफ्ना साथीभाइ हरुका छोरा छोरी हरु कलेज पढ्ने हुँदा आफ्न चाँही बल्ल १-२ क्लासमा पढ्दै हुने हुँदा नमजा लाग्ने हुन्छ । त्यसो भए बिहे कहिले गर्ने त, घरजम कहिले बसाल्ने अनि छोरा छोरी कहिले पाउने त ? जहाँ र जसरी भएपनि एउटा परिपक्क र सोच विचारका साथ बिहे हुनु पर्छ, जिन्दगीको जग बसाउनु पर्छ | स्कुल पढ्दा पढ्दै, कलेज पढ्दा पढ्दै वा जागिर खाए पछि ? वा जागिर खाएर पनि मान पदवी थापे पछि, सरुवा मिलाए पछि, अझै धेरै पढे पछि वा विद्यावारिधी गरेपछि ? यो व्यक्तिगत मामिला हो | यसमा यसै भन्न त सकिन्न तर हाम्रा वरपरका उदाहरण बाट सिक्न सकिन्छ | अनि केटा र केटीमा एउटै नियम लागु हुन्छ कि फरक ? वर/वधु मा केटा /केटीले के कुरामा ध्यान दिन्छन वा बिहेको सबै भन्दा योग्य अवस्था कुन हो त भन्ने कुरामा ध्यान दिनु पर्छ ।

पहिले मागी बिहे गर्दा केटाको सम्पति, खेत बारी, डिगाबाच्छा, डालाफूला आदि हेरिन्थ्यो भने केटीको घर धन्दा गर्ने सीप, रुप र शील स्वभाव आदि | पहिले बनपात जादा, मेला जादा पिरती लाइन्थ्यो | मेलाहेर्न जादा केटाकेटी को प्रेम बस्थ्यो र प्रेम बिहे हुन्थ्यो, भागि बिहे हुन्थ्यो | अहिले स्कुल वा कलेज जाँदा लव पर्छ | स्कुल देखि नै लव गर्न तिर लाग्नु जिन्दगी बर्बाद गर्नु हो । स्कुल पढ्ने समयमा सम्पूर्ण समय पढाईमा खर्चिनु पर्छ । राम्रो शिक्षा दिक्षा हासिल गरी सके पछि आफुले रोजेको जस्तो वर/ वधु अबस्य पाईन्छ । बुझ्नु पर्ने कुरा के हो भने जतिबेला जीवन उत्कर्शमा पुग्छ, उमेर, बैस, योग्यता र केही गर्न सक्ने क्षमता देखिन्छ त्यसै समयमा बिहे गर्दा उपयुक्त वर र वधु पाउन मद्दत पुग्छ । वास्तम्मा सबैको चाहना पनि उत्तम भन्दा उत्तम वर वा वधु जुरोस भन्ने नै हुन्छ । तर यहाँ कस्तो अवस्था र कुन उमेर वर र वधुको बिहेको लागि उपयुक्त हो त भन्ने कुरा महत्वपूर्ण छ । यसमा पनि महिला र पुरुषको हकमा केही भिन्नताहरु हुन्छन ।

महिला अधिकार र समानताका कुरा आइरहेका छन् तापनि बिहेको सम्बन्धमा महिला र पुरुषको मनोबिज्ञानमा भिन्नता पाईन्छ । केटाको सपनाकी राजकुमारीमा हुने गुण र केटीको सपनाको राजकुमारमा हुने गुणमा धरै नै भिन्नता हुन्छ | महिलामा शील स्वभाव, शिष्टाचार, घरको काममा दक्षता , रुप आदि हेरिन्छ भने पुरुषमा चाँही आर्थिक रुपमा सबल हुन सक्ने योग्यता । हाइस्कुल गरेकी केटी र बि. ए., एम. ए. पास गरेको केटाको जोडी मिल्न सक्छ तर त्यसको ठीक बिपरित एम. ए. पास गरेको केटी र हाइस्कुल गरेको केटाको लगन जुर्न गाह्रै पर्छ। यस अर्थमा भन्नु पर्दा केटाको बिहेको लागि अधिकतम योग्यताको सिमा हुदैन वा जति धेरै पढेपनि बिहेको चिन्ता हुदैन तर केटीले धेरै पढ्दा त्यति नै वा त्यो भन्दा बढी पढेको, जागिर खादा त्यतिकै वा त्यो भन्दा राम्रो जागिर खाएको खिज्ने चलन छ |

केटाको हकमा जति धेरै योग्यता भयो उसको वधु रोजाइको त्यतिनै फराकिलो हुन्छ भने केटीको हकमा केटी ओभर क्वालिफाइड हुँदा वर रोजाइको दायरा झन सागुरिने देखिन्छ । जति नै समानताका कुरा गरेपनि पुरुषमा भाले हुने मनोविज्ञानले गर्दा उसले आफूभन्दा बढी जान्ने सुन्ने वा शैशिक रुपमा बढी योग्याता हासिल गरेको वा आफूभन्दा राम्रो जागिर खाएकोketi बिहे गर्न खोज्दैन | आफूभन्दा तल वा समान योग्यता को खोज्छ | श्रीमान श्रीमती दुवैको समान योग्यता र समान जागिर भएपनि घरमा पाउना आउदा श्रीमान गफगाफ तिर भुल्ने र श्रीमतीले चिया नास्ता बनाउने गरेको देखिन्छ | केटाहरु आफु भन्दा बढी योग्यता वा राम्रो जागिर खाएकोलाई बिहे गरेर केटाले त्यो बिरासत वा अधिनायकबादलाई सित्तैमा छोडन चाहान्नन् |

त्यसरी नै एउटा पढालेख केटाले हेर्दा सुन्दर नलाग्ने केटी बिहे गर्‍यो भने त्यो भन्दा राम्री पाउथ्यो भनेर कुरा काट्ने गरिन्छ । केटाको शैक्षिक योग्यता छ भने हेर्दा ह्यन्डसम हुनु पर्दैन । केटाको उमेर र केटीको उमेरमा पनि भिन्नता छ | केटीको योग्यता राम्रो भए पनि उमेर धेरै छ भने अनेक संका गर्ने, बुढी कन्या भन्ने, अहिले सम्म किन बिहे नगरेकी होलि भन्ने जस्ता कुरा अगाडि आउन सक्छन । केटामा ति कुराहरुको तेती सारो चर्चा हुदैन | बिहे पछि केटालाई अभिभावकको रुपमा हेरिन्छ भने केटीलाई त्यसरी हेरिन्न | केटी र केटाको बच्चा जन्माने उमेरमा पनि फरक छ | महिलाको उमेर चालिस नकाट्दै बच्चा जन्माउदा स्वास्थ्यमा कम असर देखिन्छ | एउटा उमेर पार गरिसकेको अवस्थामा वा बिहे गर्ने उमेरमा केटामा भन्दा केटीमा आफ्नो भविस्य प्रति चिन्ता बढी हुन्छ | अभिभावकको हकमा पनि केटी पक्षको अभिभावकमा बढी चिन्ता हुन्छ | नेपाली परम्परा र संस्कृतिको तत्कालिन परिबेस अनुसार मागी बिहे होस् वा प्रेम बिहे यी सबै कुरा हरुलाई ध्यान दिदा उपयुक्त हुने देखिन्छ |

मागी बिहे र प्रेम बिहेमा केही आधारभुत भिन्नताहरु हुन्छन। मागी बिहेमा उमेर पुगेका केटा केटीको बिहे गर्दिनुलाई बाबुआमाले मात्रा होइन नाता गोता र आफन्त सबैले आफ्नो कर्तब्य जस्तै ठान्छन सबै चाँजो पाँजो मिलाउछन । मागी बिहे गर्ने चलन कायम हुँदा र सबै कुरा बाबुआमा, नाता गोता र आफन्तले मिलाउने भएकोले ढाँटिढुँटी भएपनी बिहे हुन्थ्यो । लाटो, बाठो, अपाङ्ग, सपाङ्ग, पढेको, अनपढ सबैको बिहे हुन्थ्यो ।

मागी बिहेमा बिहेका उम्मेद्द्वारलाई कुनै योग्यता क्षमता प्रदर्शन गर्न नपर्ने हुँदा सबैको बिहे हुन्थ्यो । तर प्रेम बिहेमा चाँही नाता गोता र आफन्तको भूमिका सुन्य प्राय हुने भयो । यस्तोमा केटा केटीले आफ्नो योग्यता प्रदर्शन गर्नु पर्छ । सफा सुग्घर हुनु पर्छ , फुर्ती फार्ती देखाउनु पर्छ। यस्तो प्रदर्शन गर्ने पनि ठाउँ हुदो रहेछ | प्रेम बिहेको लागि कलेज एजुकेसनको अन्त्य तिर वा जागिर सुरु गरेको लगत्यैको समय उपयुक्त हुन्छ | कलेज छोडिसकेपछि कसको अगाडि प्रदर्शन गर्ने ? स्टेजमा जाँदा दर्शक र स्रोताले छोडिसके जस्तो, मैदान खाली भए जस्तो बन्छ कलेज पछिको जीवन | आफुले जागिर गर्ने ठाउँमा अबिबाहित साथीहरु नहुन सक्छन |

हाम्रा अमेरिकन सहकर्मीहरु बिद्यावारीधी तथा इन्जिनिअर भइकन पनि उहाहरुको स्थिति त्यस्तै छ | न त लव गर्ने फुर्सद न लवरको सुलभता । त्यसैले प्रेम बिहे एउटा चुनौती पनि हो । प्रेम बिहे गर्ने संस्कृतिमा सबैको बिहे हुँदैन । कति मान्छेहरु अविवाहित नै रहन्छन । नेपालमा पनि बाबुआमाले भनेको ठाउँमा बिहे नगर्ने र आफुले पनि प्रेम गर्ने समय नपाउने हो भने ‘पोइल जान पाऊँ शिव’ भने पनि वा ‘पोइल जान पाऊँ भन्ने लाई मैले लिउन पाऊँ ‘ भने पनि बाबा पशुपतिले पनि सुन्ने वाला छैनन् | यसको अर्थ हो, बिहे गर्नु नै छ भने उपयुक्त समय र उमेर हुँदा बिहे गर्नु पर्छ । छिट्टै वा निकै ढिला गरी बिहे गर्नु उपयुक्त देखिन्न । बिहे पछिको प्रश्न हो छोरा छोरी कहिले पाउने र कसरी हुर्काउने । यो सबाल पनि बदलिदो परिस्थिती सँग जोडीएको छ ।

पहिले महिलाहरु घर भित्र सिमित हुन्थे । परिवारको पालन पोषण र छोरा छोरी हुर्काउने सम्पूर्ण जिम्मेवारि महिलाले लिन्थे । पुरुषहरु खेतवारी मा काम गर्ने, नोकरी गर्ने वा विदेस जाने गर्थे । महिला समानाता र अधिकारमा सुधार अाइरहदा अब त्यो परिस्थिती रहेन । महिला समानाताका कुराहरु अत्यन्तै राम्रा छन । समानता हुनै पर्छ तर यसले सामाजिक स्वरुप र पारिवारिक जीवनमा केही परिवर्तन भने ल्याएको छ । महिला र पुरुष दुबै अफिस जाने, दुबैलाई आफ्नो करीयरको चिन्ता हुने हुनाले महिलाले मात्र छोरा छोरी हुर्काउने जिम्मेवारि लिन सक्ने कुरा भएन ।

बच्चा पाउन भने पुरुष नसक्ने भएकोले महिलाकै मात्र जिम्मेवारि हुने भयो । पढिरहेको अवस्थामा गर्ववती हुँदा पढाई बिग्रने, जागिर नपाई गर्ववती हुँदा जागिर खोज्न गाह्रो । जागिर भर्खर सुरु गर्दा गर्ववती हुँदा जागिर जोगाउन गाह्रो सबै परिस्थिती कहिले मिल्ने ? बच्चा पाएपछि कसले स्याहार सम्हार गर्ने जस्ता कुराहरु अहिलेका अत्यन्तै चुनौतीपूर्ण कुराहरु हुन । संयुक्त परिवारमा बस्ने नेपाली समाजमा भन्दा बिदेसतिर यो समस्या झन चर्को छ । हाम्रोतिर हजुरबा हजुरआमाले बच्चा बच्चिको स्याहार गरिदिने हुनाले सजिलो छ । बच्चा छन छैनन भनेर सोध्दा हाम्रा कतिपय बिदेशी साथीहरुले घरमा कुकुर छ भनेर जबाफ दिनुहुन्छ । बच्चा पाउनाका गाह्रोले अर्काको बच्चा एडोप्टेसन गर्ने चलन पनि हुन्छ । के बिहे पछि करीयरमा बाधा पुग्छ त ? के बाल बच्चा जन्माउदा आफ्नो भविश्य बिग्रन्छ त ?

अन्तमा, उमेर नपुग्दै हत्त न पत्त लव गर्ने, बिहे गर्ने गर्दा पनि परिवार सफल हुँदैन र जीवन पनि सफल हुँदैन । अर्को कुरा यदी सुझबुझपूर्ण रुपले गरिएको बिहे हो भने ‘म एक्लै हुँदा मेरो कारीयर बन्छ तर बिहे गरे भने म बिग्रन्छु’ भनेर सोच्नु गलत हुन जान्छ । कुनैपनि कुरा एक्लैले भन्दा दुई जना मिलेर झन राम्रो सँग गर्न सकिन्छ । अझ जीवन साथी सँग मिलेर काम गर्दा कसरी करीयरमा असार पर्ला ! एउटा परिस्थिति पार गरी सके पछि, वर वधु दुबै आफ्नो खुट्टामा उभिन सक्ने भएपछि बिहे गर्दा आफ्नो करियर लाई निरन्तरता दिन कुनै अफ्ठेरो पर्ने देखिन्न ।

पढाई, जागिर, मान पद्वी आदि सबै कुराहरु पारिवारिक सुख र सन्तोष का लागि हुन । धेरै धेरै पढेर ठुल्-ठुला जागिर खाएपनि आफ्नो पारिवार, श्रीमान, श्रीमती, छोरा छोरी आदि सबै भन्दा महत्वपूर्ण हुन्छन र ती नै जीवन हुन । पढाईको र जागिरको नाममा बिहे, बाल बच्चा आदिलाई वास्ता नगर्ने हो भने पनि जीवन सन्तोष पूर्ण हुने देखिदैन । हुन त यो ब्यक्तिगत मामला हो तर हामी सुखी जीवनको लागि आफ्नो काम र जीवनमा सन्तुलन (work life balance) राख्नु अनिवार्य हुन्छ भन्ने सुझाब दिन चाहन्छौं ।

धन्यवाद ज्ञापन: लेख तयार पार्न सहयोग गर्नु हुने मित्र प्रा. डा. मधु ज्ञावलीलाई धेरै धरै धन्यवाद ।

नोट: महाकबि तथा निबन्धकार लक्ष्मीप्रसाद देबकोटाले निबन्ध एउटा टेबल गफ हो भनेझैं यो लेख पनि टेबलगफ नै हो । अनलाइन मिडियाको जमाना भएकोले लेखेकले भन्ने मात्र र पाठकले पढ्ने मात्र गर्ने युग सकियो । अहिले त लेखक र पाठक बिचमा जुहारी चल्छ | आउनुस सबैले यसमा बहस गरौँ | हामीले हाम्रो अनुभब र आफ्नो कथा सुनायौं | अनि तपाइहरु पनि सुनाउनुन तल कमेन्टमा |

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D