कृषी

बिए सकेपछि व्यावसायिक तरकारी खेतीमा, गाउँमै खेती गरेर राम्रो आम्दानी

जनार्दन घिमिरे
गुल्मी । गुल्मीको मदाने गाउँपालिका-७, अन्तर्गत भनभने नेटाखर्कका चुरामणी पन्थीले स्नातक उत्तीर्ण गरिसक्नु भएको छ ।

गाउँको जनज्योति क्याम्पस पुर्कोटदहमा अध्ययन सकेपछि पन्थी आजभोली अध्ययनको यात्रालाई चटक्क रोकेर कृषि पेशातिर आकर्षित हुनु भएको छ ।

दुई वर्षअघि जिल्ला कृषि विकास कार्यालय गुल्मीले तम्घासमा सञ्चालन गरेकाे तीन दिने कृषि तालिमले २९ वर्षीय पन्थीलाई व्यावसायिक कृषि पेशामा लाग्न प्रेरित गर्‍यो । तालिम लिएर घर फर्केपछि उहाँ फेरि दुई साताको थप तालिमका लागि कार्यालयबाट पोखरासम्म पुग्नु भयो ।

पोखराबाट तालिम लिएर फर्केपछि उहाँ व्यवसायिक कृषि पेशासँग जोडिनु भएको हो ।

गाउँघरमा परम्परागत कृषि प्रणालीमार्फत खेती गर्दै आएको परिवारमा उहाँले तालिममा सिकेको सीपलाई प्रयोगमा ल्याउनका लागि आफ्नै बारीमा व्यावसायिक रुपमा तरकारी खेती गर्ने मनस्थितिमा पुग्नुभयो ।

सुरुवातमा जिल्ला कृषि विकास कार्यालयबाट ५० प्रतिशत अनुदानमा तीनवटा टनेल पाएपछि पन्थीमा हौसला थपियो .। त्यसै टनेलमा उहाँले गोलभेँडा खेती गर्न सुरु गर्नु भयो ।

करिब ६ रोपनी क्षेत्रफलमा फैलिएको बारीमा पन्थीले आजभोलि विभिन्न प्रकारका तरकारी फलाउँदै आउनु भएको छ । उहाँले सुरुमा आफ्नै लगानीमा पन्थीले ५० हजार रुपैयाँ खर्च गरेर तरकारी खेतीको लागि आवश्यक संरचनाहरु निर्माण गर्नु भयो ।

‘सुरुमा तालिम लिएपछि सामान्य आइडिया पनि भयो, केही न केही त गर्नु पर्यो भनेर तरकारी खेती गर्ने विचार गरेको हुँ, ठूलो लगानी गर्ने पूँजी पनि थिएन,’ पन्थीले भन्नु भयो ।

आजभोलि जो कोही पनि उहाँको तरकारी बारीमा पुग्दा निकै आनन्दको अनुभूति गर्दछन् ।

बारीमा कुनै ठाउँमा टनेल त कुनै ठाउँमा खुल्ला आकाशमुनि सेता गोभी र लटरम्मै रातै झुण्डिएका गोलभेँडाहरुले मेहनत गरे के हुँदैन र भन्ने आभास दिलाउँछन् ।

पन्थीको बारीमा बेमौसमी बन्दा, फुलगोभी, तिते करेला, केराऊ, खुर्सानी जस्ता विभिन्न तरकारी उत्पादन हुने गर्दछन् ।बेमौसमी तरकारीको लागि बजार पनि तुरुन्तै पाइने र मूल्य पनि धेरै पर्ने भएका कारण कृषकहरुले राम्रो बजार मूल्य पाउने गर्दछन् ।

बेमौसमी तरकारीका लागि वैशाख महिनापछि कात्तिक महिनासम्मको समय निकै राम्रो हुने पन्थी बताउनु हुन्छ । ‘सिजनमा सबैले उस्तै उस्तै प्रकारको तरकारी उत्पादन गर्ने गर्दछन्, बेमौसमी समयमा ८० रुपैयामा बिक्री हुने गोभी सिजनमा ३५ रुपैयाँसम्ममा पनि बिक्री गर्न धौधौ हुन्छ,’ उहाँले अनुभव सुनाउनु भयो ।

पन्थीले जिल्ला कृषि विकास कार्यालयबाट युवा लक्षित कार्यक्रम अनुसार उपलब्ध गराइएको ४० हजार रुपैयाँ अनुदानसमेत प्राप्त गरिसक्नु भएको छ ।

त्यसका अतिरिक्त आफ्नो एक्लै लगानी र प्रयासमा उहाँले वार्षिक डेढ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताउनुहुन्छ । गाउँपालिकाले पनि व्यावसायिक कृषि पेशा अपनाउनेहरुलाई केही सहयोग गर्छ रे भन्ने कुरा पन्थीले आफूले पनि सुनेको तर आफू के के सहयोग पाइन्छ भनेर पालिकाको कार्यालयसम्म नपुगेको बताउनु हुन्छ ।

‘सहयोग पाउनका लागि कृषि समूहमार्फत जानुपर्छ रे, म एक्लै छु कुनै समूहमा पनि अझै आबद्ध छैन’ उहाँले भन्नुभयो ।

पन्थीको अधिकांश समय बारीमा नै बित्ने गर्दछ । बिहान पाँच बजेदेखि राति १० बजेसम्म उहाँ बारीमा तरकारीको स्याहार सुसारमै खर्चिनु हुन्छ । आफूले उत्पादन गरेको तरकारी कहिले झोलामा त कहिले डोकोमा बोकेर बिक्रीका लागि उहाँले स्थानीय बजारमा लैजानु हुन्छ ।

पन्थीले उत्पादन गरेको तरकारी पुर्कोटदह, डढुवा, टिमुरखर्क, भनभने र सौतामारेजस्ता स्थानीय बजारहरुमा पुग्ने गर्दछ । स्थानीय क्षेत्रमा ठूलो बजार नभएका कारण उत्पादन धेरै भएपनि कहिलेकाहीँ तरकारी बिक्रीको लागि मुख्य समस्या हुने गरेको उहाँले बताउनु भयो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D