gulminews logo
बुधबार, २०८१ बैशाख १९

कृषकलाई धान भित्राउने चटारो, नेतालाई भोट

टोपलाल अर्याल
गुल्मी, २७ कार्तिक । ठुलो चौरासी फाँटमा धान स्याहार्ने चटारोका किसान । उनीहरुलाई निर्वाचनको कुनै मतलब छैन् । भोट माग्ने नेताका गाडीहरु दैनिक मदन भण्डारी राजमार्गबाट कुद्छन् । किसानलाई नेताको शान भन्दा आफ्नै धान प्यारो छ । सडक छेउँमा धान हम्किँदै गरेका इस्मा गाउँपालिका ६ का ५३ बर्षीय बालु गिरीले परिवर्तनका लागि थुपै्र पटक भोट हाने । तर, सोचे अनुसारको परिवर्तन आएन । ‘काममा खेतला खोजेर भाषण सुन्न गइँदैन् ।

पानी परेर धान रुझेर बेला हुन्छ,’उनले भने,‘कसैको आश छैन जेनतेन भोट राख्न जाने हो ।’ उनको २५ मुरी फल्ने खेत छ । सिजन अनुसार धान, मकै र आलु उत्पादन गर्छन् । सोहि गाउँका ६० बर्षीय चुरा गिरी पनि एक महिनादेखि धानको काममा व्यस्त छन् । गिरीले अहिले २४÷२५ मुरी धान भित्राए । बाहिर धानको काम गरे छ सय पाक्छ । मालिका ६ की देबकला पराजुलीलाई पनि धान भित्राउन भ्याइ–नभ्याई छ ।

काम गरे चामल किनेर खान पर्दैन । दिनभर मेलामा हुने भएकाले घरमा आउने नेताको कुनै मतलब छैन् । ‘नेता भोटका लागि नोट बाँड्दै हिडेका छन् । काम गरेर खानेहरुलाई सधै चोट मात्रै हो,’उनले भनिन,‘काम छोडेर नेताको पछि हिडिदैन् ।’ अहिले नेताहरु कृषकको घर र बारीमा गएर मत मागिरहेका छन् । धेरै कृषक तिहारपछि कामकै लागि खेत र बारीमा व्यस्त भएकाले कहिँकतै खेतबारीमा मत माग्ने अवस्था रहेको गुल्मी क्षेत्र नं २ प्रदेश सभा ‘ख’ का गठबन्धनका उमेद्वार बुद्धि जिसीले बताए । नेताले मत माग्दा किसानले रोजगारीका अवसर, जंगली जनावरका सास्ती र बिउ मलका गुनासा राख्ने गरेका छन् ।

नेतालाई भोट र किसानलाई मल बिउको चिन्ता

इस्मा गाउँपालिका ६ का ५० बर्षीय कृष्ण प्रसाद घिमिरेले नेतालाई भोट जस्तै किसानलाई पनि मल, बिउ र बजारको चिन्ता रहेको बताए । उनले मंसिरमा दुई सय मुरी धान भित्राउँछन् । तिहारपछि घिमिरेलाई धानकै कामले फर्सुद छैन् । उनले धान र चामलनै बिक्री गर्छन् । धान एक पाथीको एक सय २० देखि एक सय ८० र चामल मोटा साढे ४ सय पाथी तथा मसिना ५ सय रुपैयाँ पाथीमा बिक्री भइरहेको छ । धान समयमै बिक्री हुँदैन । समयमै बिउ, मल र उत्पादनले बजार नहुँदा मुल्य पनि नभएको घिमिरेले गुनासो गरे । ‘नेता र चुनावतिर कृषकको चाख खासै छैन । बिउ, मल, मुल्य र बजारको सास्ती कहिल्यै फेरिएन,’उनले भने,‘चुनावी नाराले आश्वस्त हुने दिन गए ।’

९ हजार बढि हेक्टर क्षेत्रफलमा धान खेती

गुल्मी जिल्लामा चैते धान ३ सय ७१ हेक्टरमा र बर्षे धान ८ हजार ६ सय ७० हेक्टरमा गरेर ९ हजार ११ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी युवराज ढकालले जानकारी दिए । कालीगंण्डकी गाउँपालिकाका अर्वेनी, कनौटा, छापचौर, सत्यवती गाउँपालिकाका लिम्घा, अस्लेवा, जुहाङ्ग खैरेनी, साहाघाट, चेहेमी फाँट र चन्द्रकोट गाउँपालिकाका मजुवा, रुपाकोट, शान्तिपुरका फाँटहरुमा धान खेती हुने गरेको छ । मुसिकोट नगरपालिकाका तल्लाफाँट, ईन्द्रेगौडा भुवाचिदी, वामीटक्सार, पौदी अरेवा, भर्मचौर लगायत बडिघाट खोलाको आसपासका क्षेत्र धान खेती हुन्छ ।

मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, सिलादी, मदाने गाउँपालिकाको सिर्सेनी स्थित सिम, अग्लुङ फेदी, भनभनेको तल्लो क्षेत्रमा धान रोप्ने गरिएको छ । यस्तै धुर्कोट गाउँपालिकाको पनाहाखोला र छल्दी खोलाका फाँटहरु, ईश्माको चौरासीफाँट, हुलाके, हस्तिचौर लगायत छल्दी र निस्ती खोलाको आसपास क्षेत्रमा धान उत्पादन हुने गरेको छ । गुल्मीदरवारको गरमटारी, खज्र्याङ्ग घोडाहाफाँट, टारीफाँट, छत्रकोटका खज्र्याङ्ग, मनबाग, अँगा, उल्लीखोला, बोआ फाँट र रुरु क्षेत्रका टाहाटिम लगायतका स्थानमा धानको उत्पादन हुने गरेको सूचना अधिकारी ढकालले बताए ।

१.४ प्रतिशतले धान उत्पादन घट्दै

गत बर्ष भन्दा १.४ प्रतिशत धान उत्पादन घटने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ । गत बर्ष २७ हजार ८ सय ७ मेट्रिक टन धान उत्पादन भएको थियो । अहिले २३ हजार ७ सय १८ मेट्रिक टन धान उत्पादन हुने केन्द्रले जनाएको छ । धान फुल खेल्ने र पाक्ने बेलामा पानी परेकाले पोकटा हुँदा कम उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए । मसिना बास्नादार चामलको उपयोगमा बृद्धि तथा आयातित चामलको गूणस्तर र मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा धानको आयात बढिरहेको छ । गुल्मीमा गत बर्ष पाँच करोड बराबरको चामल आयत भएको थियो । एक जनाले सरदर बर्षेनी १ सय ३८ केजी चामल खपत गर्दा कम्तिमा ३४ हजार ५ सय मेट्रिक टन चामल आवश्यक रहेको कृषि ज्ञानकेन्द्रका प्रमुख भण्डारीले बताए । करिव १७ हजार मेट्रिकटन चामल जिल्लामै उपलब्ध छ । भने अपुग आयात गर्नु पर्छ ।

किसान परम्परागत बिउमा निर्भर

जिल्लामा हंशराज, आँपझोते, झोप्री, काठे, झिनुवा, सानो भट्टे, ठूलो भट्टे, कोदे, बडियारे, लहरे बडियारे, थापचिनी, गुडुरो, ढल्लेलोई, पाखे धान, रातो मार्सी धान, मार्सी जातका धानहरु छन । कम उत्पादन दिने भए पनि स्थानीय जातमा भएका विशेष गूणका कारण कतिपय किसानले यी जात लगाउन छाडेका छैनन् ।

उन्नत र हाइब्रिड जातका धानमा नपाइने गुण स्थानीय जातमा पाइने र यसको भात खाँदा भोक नलाग्ने र कपिय बास्नादार पनि हुने गरेकाले कतिपय धानको चामल विशेष प्रकारको परिकार पकाउनका लागि प्रयोग हुँदै आएको छ । जसका कारण पनि किसान आफैंले यी बिउलाई निरन्तरता दिइरहेका छन् । कतिपय जातका बिउ भने किसानले रोप्न छाड्दै जाँदा लोप हुने अवस्थामा पुगेका छन् । कृषि ज्ञान केन्द्रले बीउ संरक्षण र आवश्यक पर्दा किसानलाई वितरण गर्दै आएको छ । जिल्लामा उन्नत जातहरुमा साँवा मन्सुली, मकवानपुर १, खुमल ४, रामधान, हिमाली हाईब्रिड धान शंकर पर्दछन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D