बिचार

प्रदिप ज्ञवाली ज्युलाई अनुरोध पत्र !

माननीय प्रदीप ज्ञवाली ज्यू, नमस्कार !

चुनावी चटारोको बाबजुद पक्कै पनि आरामै हुनुहुन्छ भन्ने आशा राखेको छुं ।

सर्वप्रथम त देशैभरीका सर्वाधिक प्रतिस्पर्धा हुने निर्वाचन क्षेत्रहरुमध्ये एक ‘काटोके टक्कर’को बीचबाट समेत जीत निकाल्न सफल हुनु भएकोमा हार्दिक बधाई !

कमल प्रेरित सुवेदी

आशा पनि गरेको छुँ कि खुसीको कारणले तपाईकै अध्यकै भाषामा ‘भुइँ न भाँडो’ पक्कै हुनु भएको छैन होला । मलाई मात्रै होइन धेरैलाई थाहा छ कि तपाई यसअघि २०६४ र २०७० मा जीत र हार दुवैको अनुभव लिईसकेको मान्छे हो । फेरी तपाईको शालीन व्याक्तित्व जो छ, त्यसले पनि तपाइँलाई बढी पुलकित गराएको छैन होला भन्ने मेरो बुझाई हो । खैर जीतमा खुसी हुनु स्वाभाविक हो, यसै पनि यो जीतले विशेष महत्व राख्छ किनकी यो जीत दुई व्याक्तित्वको प्रतिष्ठाको लडाईको जीत पनि त हो ।

लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित रहेकाले पनि यो पत्र लेख्ने चेष्टा गरेको छुँ । आशा छ तपाइँको नजरमा यो चिठी पक्कै पुगेको छ । र विश्वस्त तुल्याउन चाहन्छु कि यो चिठीमा कुनै पनि पूर्वाग्रह नराखी एक आम नागरिकको प्रतिनिधित्व हुने गरी विचार, अपेक्षा र प्रतिक्रिया समेट्ने प्रयास गरेको छुँ ।

ज्ञवाली ज्यू, किशोरावास्थादेखि नै राजनीतिमा होमिएको तपाइँजस्तो व्यक्तित्वलाई जनताले अहिले किन तपाईलाई नै अभिमत प्रकट गरेका हुन् भनेर सम्झाईरहनु नपर्ला । तैपनि खबरदारी त गर्ने पर्छ । चुनावको बेला तपाईको नेतृत्वको वाम गठबन्धनले मुख्य एजेण्डाको रूपमा अघि ल्याएको स्थिरता र संवृद्धिको नारालाई जनताले अनुमोदन गरेका हुन् भनेर बुझ्नु अब अनर्थ सायदै होला । त्यसैले पनि अबको पाँच वर्ष स्थिर सरकार र त्यसैको जगमा विकासको शुभ संकेत दिने कुरामा जनप्रतिनिधि हैसियत र नेपाल राजनीतिको भूमध्यरेखामा रहेका हिसाबले पनि यहाँको भूमिका अर्थपूर्ण हुन जरुरी छ । यो सवालमा त किमार्थ पनि अन्यथा हुनु हुदैन् ।

चुनावी अभियानको बेलामा गुल्मी क्षेत्र १ का गाऊँ बस्तीमा भोट माग्न डुल्दै गर्दा सर्वसाधारणको घरमा उनीहरुसंगै रात कटाएको, मकैभट्ट, आटोभात खाएको, आदि समाचारले अनलाइनमा व्यापकता पायो । त्यो खालको तडकभडकबिहीन चुनावी अभियान सह्रानिय छ । यो कुरा अबका चुनावमा नाजीरको रूपमा स्थापित होओस् । खैर जे होस् । तर चुनावी अभियानमा अथक गाउँयात्रा गर्ने प्रदीप ज्ञवालीलाई जनताले पुनः आफ्नो गाउँटोलमा देख्ने अपेक्षा गरेका छन् । सके जनताका समस्याको समाधान, नसके ती समस्याका बेला जनताकै बिचमा तपाइँको अभिभावकत्व उपस्थितिको अपेक्षालाई पनि तपाईले नकार्न हुदैंन् । जनप्रतिनिधिमा जनताकै प्रतिबिम्ब झल्किनु पर्छ । माटोको सुगन्ध आउनुपर्छ । सपनापनि जनताकै आँखाबाट देख्नु पर्छ । खुसी पनि जनताकै र पीडा पनि जनताकै महसुस गर्न सक्नु पर्छ । भलै तपाई कुनै एउटा राजनीतिक दलको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । कुनै वादको वकालत पनि गर्नुहुन्छ । अब तपाई पार्टीको मात्रै नभएर जनताको प्रतिनिधि हो, जनताको जमातमा खाली तपाईले प्रतिनिधित्व गर्ने पार्टी मात्रै नभएर अनि विचार र वाद पनि मिसिएका छन् । मलाई थाहा छ, यो कुरा तपाईलाई सिकाइरहनु पर्दैन । तैपनि, नागरिकको हैसियतले अनुरोध गर्ने जमर्को मात्रै हो मेरो । मेरो फेरी पनि अपेक्षा के भने प्रदीप ज्ञवाली बोल्दा जनताले आफ्नो आवाज महसुस गरुन्, तपाई रमाउदा जनतापनि खुसी होउन् ।

चुनावी अभियानमा तपाईलाई लगाइएको आरोपलाई पक्कै पनि तपाईले ‘सिरियस्ली’ लिनुभएको नै होला । त्यो के भने प्रदीप ज्ञवाली केन्द्रमुखी भए भनेर । यदी त्यो आरोप सही हो भने आत्मआलोचित गर्न र सच्च्याउन जरुरी छ । अघिल्लो अनुच्छेदमा चर्चा गरिएझैँ जनताबीच पुग्न सक्नु भएन भने त पाँच वर्षपछी यो आरोप पुष्टी गर्न ‘फिक्सन’ रच्नु पर्दैन् किनभने सुचना प्रविधिको विकासले जमाना यदी पारदर्शी भैसक्यो कि धेरै कुराहरु सायदै छिपिन्छन् । त्यसैले यो पाँच वर्ष भरी महिनाको कम्तिमा एक पटक जनताको बिचमा आएर एक दुई रात कटाउदा तपाईको राजनीतिक जहाज पक्कै पनि डुब्दैन् । ऐलेको धुले-हिलो बाटोको यात्रा तय गर्दा त एक दिन एक रातमै काठमाडौं-गुल्मी गर्न सकिन्छ भने यातायातको अवस्थामा त तपाईले भनेझैं हुने हो भने आमूल परिवर्तन हुन्छ । यसैले नियमित रूपमा जनताको ‘टच’मा रहिरहनु जरुरी छ । तपाईले चुनावी चटारोको क्रममा अनुभव गर्नु पक्कै भएको छ कि जनता लिनु भन्दा दिनुमै सन्तुष्टी महसुस गर्छन्। बरु आफ्नै घरमा चियापानी गरोस्, दालभात खाइदिओस र आँगन टेकिदिओस् भन्ने जनता चाहन्छन् । हामीलाई थाहा छ, तपाईहरु नीतिनिर्माणमा निकै नै व्यस्त हुनु पर्छ । तथापी व्यस्तताको बीचबाट केही समय निकालेरगाउँ आउनुभयो भने ‘रिफ्रेसमेन्ट’ पनि त हुन्छ ।

यो पंक्तिकारलाई चुनावी घोषणापत्रहरु जनता लोभ्याउने ‘ललीपप’ हुन् भन्ने लाग्छ । सैद्धान्तिक दृष्टिकोणबाट हेर्ने हो भने त घोषणापत्रहरुले महत्व राख्छन, तर नेपालको व्यवहारिक सन्दर्भमा घोषणापत्र लेख्नु र नलेख्नुको कुनै तात्विक भिन्नता महसुस गरिंदैन । तैपनि तपाईको अबको पाँच वर्षे कार्यकाल तपाईले नै जारी गरेको प्रतिबद्धता-पत्र प्रति इमान्दार तरिकाले समर्पित भएको देख्न पाऊं । घोषणा गरिने मात्रै होइन, व्यवहारत लागू पनि गरिन्छ भने नजीर स्थापित गर्दिनुस् ताकी राजनीतिप्रति विकर्षित युवा पुस्तालाई यस्तो लागोस् कि राजनीति सेवा नै हो नकी पेशा । तपाईले मूल रूपमा उठान गरेका रेसुंगा एअरपोर्टको सम्पन्नता, कालीगण्डकी करिडोरको समाप्ती, रिडी-रुद्रवेणी-वामी र चोरकाटे-शान्तिपुर सडक खण्ड स्तरोन्नति सहित कालोपत्रो गर्ने, विभिन्न ठाउँको खानेपानी योजना हरु सम्पन्न गर्ने, आदि जस्ता आकर्षक प्रतिबद्धताहरु पुरा गर्ने कुरामा अबको पाँच वर्ष अब कुनै पनि हालतमा पछी हट्नु हुदैन् । त्यति मात्रै होइन सामान्य गरिखाने वर्गका मान्छेहरुको जीवनस्तरलाई उकास्ने खालका लघु उद्यम, कृषिको आधुनिकीकरण र व्यावसायिकरण अनि शिक्षा र स्वास्थ्यको शुलभ उपलब्धता जस्ता कुराहरुलाई पनि विशेष प्राथमिकतामा राख्नु यँहाको मुख्य दायित्व हुनेछ ।

चुनावी घोषणापत्रहरु जनता लोभ्याउने ‘ललीपप’ हुन् भन्ने लाग्छ । सैद्धान्तिक दृष्टिकोणबाट हेर्ने हो भने त घोषणापत्रहरुले महत्व राख्छन, तर नेपालको व्यवहारिक सन्दर्भमा घोषणापत्र लेख्नु र नलेख्नुको कुनै तात्विक भिन्नता महसुस गरिंदैन । तैपनि तपाईको अबको पाँच वर्षे कार्यकाल तपाईले नै जारी गरेको प्रतिबद्धता-पत्र प्रति इमान्दार तरिकाले समर्पित भएको देख्न पाऊं । घोषणा गरिने मात्रै होइन, व्यवहारत लागू पनि गरिन्छ भन्ने नजीर स्थापित गर्दिनुस् ताकी राजनीतिप्रति विकर्षित युवा पुस्तालाई यस्तो लागोस् कि राजनीति सेवा नै हो नकी पेशा ।

विगतमा महाकाली बेचेको आरोप तपाईको पार्टीलाई लागेको छ । खैर जे होस्, यो कुरा छोडौं । तर अब भने बिबादित सन्धि र सम्झौता गर्ने कुरामा तपाईले नेतृत्त्वलाई रोक्नुपर्छ । तपाई आफु पनि यस्ता काममा सहभागी हुनका लागि गुल्मेलीले भोट दिएका होइनन् भन्ने कुरा आफैले बुझ्नुभएको कुरामा हामी विश्वस्त छौँ नै । बरु असमान सन्धी हरु पुनरावालोकन गर्ने कुरा जुन तपाईहरुको बाम गठबन्धनले चर्कै रूपमा उठाएको छ, त्यो काम चाही शिघ्रातिशिघ्र गर्नु जरुरी छ । सत्ताबाहिर हुँदा भारतको बिरोध गर्ने तर सत्तामा पुगेपछी सबै भुल्ने इतिहासलाई फेर्न तपाईको व्याक्तिगत पहल उल्लेखनीय होस् भन्ने हाम्रो कामना छ । दुई छिमेकी चिन र भारतसंग सन्तुलित सम्बन्ध स्थापित गरि यी दुई देशको सम्पन्नताको बढी से बढी फाइदा नेपालले उठाओस् । व्यापारमा भारतप्रतिको निर्भरतालाई अन्त्य गर्न व्यापार विविधिकरण र चिनसंगको व्यापारिक सम्बन्ध विस्तार गर्ने कुरामा अबको सरकारले तदारुकताका साथ काम गर्नु पर्छ । कथनी र करणीको बिचमा तादम्यता रहेन गरे र नैतिकताको ठुलै प्रश्न ठडिने छ, चेतना भया ।

प्राकृतिक सम्पदामा धनी भैकन पनि ‘माल पाएर चाल नपाएका’ हामी नेपालीहरुको जीवन स्तर उकास्न धेरै केही गर्ने पर्दैन । कृषि, पर्यटन र व्यापारको प्रवर्द्धनमा ध्यान दिए पुग्छ। गुल्मीको हकमा धार्मिक, सांस्कृतिक, मनोरन्जनात्मक र खेलकुद पर्यटनको व्यापक सम्भावना छ । सामान्य ज्ञानका किताबमा कफी खेतीको लागि प्रसिद्ध जिल्ला भनेर पढेर पनि कफीको बोट नदेख्ने विद्यार्थीहरुले पढाईको कुरा यथार्थ हुँदोरैछ भनेर प्रमाणित गर्नु पनि तपाईको अवसर र चुनौती दुवै हुन् । सुन्तला, अदुवा, आलु , आदि लगायतका बालीको व्यवसायीकरणका लागि जनप्रतिनिधिको हिसाबले माननीयको विशेष जोड हुनु जरुरी ठान्दछौं । रिडी, रुद्रबेनी, रेसुंगा, दिब्रुंग, तिमुरे, थापले, सेतीबेणी, आदि लगायतका ठाउँको धार्मिक पर्यटन विकास अनि रिडी, खैरेनी, शान्तिपुर, मजुवा, बलेटक्सार, तम्घास, आदि ठाउँमा व्यवस्थित सहरीकरण गर्ने संगसंगै काली गण्डकी करिडोर र मध्यपहाडी लोकमार्गसंग गुल्मीका दूरदराज जोड्ने कुरामा मात्रै अलिकति काम गर्न सक्नुभो भने विकासका ढोका खोल्न धेरै कसरत गर्नु पर्दैन् । पार्टीका भरौटे भन्दा विज्ञको साथ र सल्लाहअनुसार अघि बढ्नु भो भने मात्रै विकासको वस्तुगत लक्ष्य पूरा गर्न सक्नुहुन्छ । अनि यसअघिका जनप्रतिनिधिले सुरु गरेका कतिपय लोकप्रिय योजनाहरुलाई बिना पूर्वाग्रह अघि बढाउनु पनि तपाईको धर्म हुने नै छ । तपाई जस्तो शालीन नेताबाट यो अपेक्षा राख्नु अत्युक्ति नहोला पक्कै पनि ।

लेख्नु पर्ने भन्नु पर्ने त कति कुरा छन् कति । बरु गाउँ गाउँ आउनुभएछ भने भेटेर भन्न पनि सकिन्छ । तर अन्त्यमा एउटा कुरा भन्नै पर्छ । स्वास्थ्य क्षेत्रमा हाम्रो गुल्मी जिल्ला निकै नाजुक अवस्थामा छ । गाउँमा मुस्किलले रहेका हेल्थपोस्टमा आधारभूत बाहेक अन्य सुविधा पाउने कुरै भएन् । जिल्लाको एकमात्र सरकारी अस्पताल अपायक ठाउँमा छ । पाल्पा र बुटवल कुद्नु पर्छ । त्यसैमाथी बाटोको कन्तबिजोग । हे, भगवान! मान्छे प्रार्थना गर्छन, शत्रु पनि बिरामी नहोउन् । त्यसैले प्रत्येक एउटा स्थानीय तहमा कम्तीमा एउटा ‘सरकारी’ अस्पताल स्थापना गर्ने कुरामा माननीयको ध्यान जाओस, सविनम्र अनुरोध । अनि अर्को अनुरोध पनि, स्वास्थ्य सेवालाई निशुल्क र सर्वसुलभ बनाउन केन्द्रिय स्तरबाटै नीति निर्माण र ऐननियम तर्जुमाका लागि तपाईको विशेष पहलका लागि अनुरोध छ ।

प्रजातन्त्र र लोककल्याणकारी राज्यको परिभाषालाई व्यवहारिक रूपमा पुष्टि गर्न विगतका कैयौ तीता अनुभव भुलेर नयाँ नजीर स्थापित गर्न माननीय सफल हुनुहुन्छ भन्ने विश्वास जनतामा छ । नयाँ संविधान जारी भए संगै राजनैतिक अधिकार सम्पन्न हामी नेपालीलाई अब विकास र संवृद्धि बाहेक केही पनि चाहिएको छैन । जुन नारा घन्काएर चुनाव जित्नु भो, त्यही अनुसार कामकारबाही देख्न पाउने गुल्मेलीको आशामाथी कुठाराघात नगर्नुहोला ।

यो चिठी अब अन्त्य गर्छुं । अपेक्षा त कति छन् कति ।

हजुरको निर्वाचन क्षेत्रबाट,
कमल प्रेरित सुवेदी

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D