कृषी

पहिरोले लुम्पेक र अस्लेवामा ५ करोड रुपैँया खर्चेर बनाएको कुलो बगायो, बाँधको कुनै निशाना छैन

टोपलाल अर्याल
गुल्मी, ११ साउन । साउन ७ गतेको अविरल बर्षसंगै आएको पहिरोले करोडौका कुलोहरु बगाउँदा किसान मर्कामा परेका छन् । सत्यवति गाउँपालिका वडा नं १ अस्लेवा र वडा नं २ ठुलोलुम्पेकका थुप्रै कुलोहरु पहिरोले बगाएको स्थानीयले बगाएका छन् । जसका कारण विभिन्न फाँटहरुमा रोप्न नपाए र रोपिसकेका दुवै किसान समस्यामा परिरहेका छन् ।

पहिरोले चेहेमी सिंचाई वन कुलो आयोजना र चौर फाँट सिंचाई आयोजनासंगै वडा नं १ को अस्लेवा–मचाकोट कुलो, नयाँ कुलो र मले ठाँटी कुलोमा पहिरोले क्षति पुराएको अस्लेवा–मचाकोट कुलोका संरक्षक मोतिलाल कुवंरले बताए । जसका कारण करिव पाँच सय किसान प्रत्यक्ष रुपमा मर्कामा परेका छन् । चेहेमी सिंचाई वन कुलो र चौरफाँट सिंचाई आयोजना प्रभावित भएसंगै लुम्पेकको ढाव, गुलम्दी र चेहेमी तथा अस्लेवाका ठुलो चौर फाँटहरुमा सिंचाई बन्द भएको छ ।

असारमा पानीको आश, साउनमा बिनाश

सत्यवति वडा नं २ ठुलोलुम्पेक चेहेमीका हुम बहादुर कुवंरले यो बर्ष खेत रोप्न पाएनन् । उनको झण्डै २५ मुरी धान फल्ने खेत छ । पहिले बर्षा नभएकाले खेत रोप्न भ्याएनन । अहिले बर्षासंगै कुलो गयो । ‘असारमा पानी नपरेर ८० प्रतिशत खेत रोप्नै पाइएन,’उनले भने,‘ पानी परेरकाले धेरै किसान रोप्ने आशमा थिए तर पहिरोले कुलौनै लग्यो ।’ हुम बहादुर जस्तै थुप्रै किसानको खेत बाँझै रहने अवस्था छ । भने रोपेकाहरु पनि फल फल स्याहार्ने आशमा छैनन । सोहि स्थानकी सीता कुवंरले खेत रोपेको भर्खरै हो । २० देखि तीस मुरी धान उत्पादन हुन्छ । ‘रोपेको बिउ मर्ने डर रह्यो, टाँसेकी मात्रै छु,’उनले भनिन,‘पानीनै नभएपछि फलको के आश ।’

सवैभन्दा ठुलो सिंचाई आयोजना नै प्रभावित

पहिरोले लुम्पेकको चेहेमी सिंचाई वन कुलो आयोजना, चौर फाँट सिंचाई योजना तथा अन्य साना सिंचाई कुलोहरु पूर्ण क्षति पु¥याएको स्थानीय शिक्षक शेर बहादुर कुवंरले बताए । चेहेमी सिंचाई वन कुलो आयोजना जिल्लाकै ठुला सिंचाई आयोजना मध्ये पर्ने कुवंरले बताए । चेहेमी र चौरफाँट तथा अन्य सिंचाई कुलो पहिरोले बगाएपछि झण्डै २५ सय रोपनी खेतमा रोपाई भएको छैन । करिव सात किलोमिटर लामो सिंचाई कुलोहरुको अधिकांश भाग पक्की रहेको चौर फाँट सिंचाई आयोजनाका सचिव गोपाल पाण्डेयले बताए ।

दुई ठुला सिंचाई आयोजनाकै लागि अहिलेसम्म करिव पाँच करोड खर्च भएको थियो । तर पहिराले सवै बगाएर लग्यो । स्थानीयको जनश्रमदान र सरकारी कार्यालयको सहयोगमा पक्की कुलो निर्माण भएपछि धेरै किसानलाई राहत भएको थियो । तर पहिरोले कुलोको बाँधको कुनै निशाना नराखेको सचिव पाण्डेय बताए । उनले रोप्ने बेलामा स्थानीयको पहलबाट कुलो पुन: संचालन गर्ने कुनै संभावना नभएकाले साह्रै मर्का परेको बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D