समाचार

“पपुलर” बन्दै भार्सेको होमस्टे, गाउँमा पाहुना भित्र्याउन कस्सिए भार्सेली महिलाहरु

टोपलाल अर्याल
गुल्मी, २७ चैत्र । जिल्लाकै सबै भन्दा अग्लो स्थान थाप्लेको काखमा अवस्थित भार्से गाउँ । वरिपरि पहाडले घेरिएको समथर भु–भाग । बिचमा सानो बस्ती । अभिकाँश ढुङ्गे घर । हरियाली अनि स्वच्छ वातावरण । मुटु नै खाने चिसो हावा र पानी । बुटवलबाट दुई घण्टामा पक्की सडक रिडी र रिडि–रुद्रवेणी– वामी टक्सार मुख्य सडक अन्तरगत खैरेनीबाट डेढ घण्टाको उकालो हिँडेपछि भार्से पुगिन्छ । त्यति धेरै अग्लो स्थानको त्यो उपत्यका, प्रकृति र जिल्लाको अनुपम उपहार हो । समुन्द्रि सतहवाट एक हजार सात सय ५० मिटरको उचाईमा भार्से पर्छ ।

पुराना कलात्मक शैलीका घरहरु, गुरुङमगर दिदिबहिनीहरुको न्यानो आतिथ्यता बर्णन गरि साध्ये छैन । यो समुदायको बृद्धि र विकासका निम्ति भार्सेका महिलाहरुले होमस्टेको अभ्यास शुरु गरेको रानीवन होमस्टेकी उपाध्यक्ष टोकली पुनले बताइन् । उनीहरुले सामुहिक अतिथी गृहमा पाहुनाहरुलाई स्वागत गर्ने, भार्सेका स्थानीय परिकारहरुको स्वाद चखाउने र विभिन्न मनोरञ्जनहरु प्रदान गर्ने गरेका छन् । मनोरन्जनकै निम्ती भार्से पुग्ने र त्यहाँको सामाजिक सद्भाव र आतिथ्यताबाट प्रभाववित नहुने बिरलै होलान् । अहिलेसम्म समुदायलेनै बिशेष पाहुनाहरुलाई स्वागत र सत्कार गर्ने गरेको भएपनि अर्थोपार्जन र व्यवस्थित व्यावस्थापनको लागि होमस्टेको अभ्यासमा रहेको उपाध्यक्ष पुनले बताइन् ।

के छन् भार्से होमस्टेको आकर्षण?

जिल्लाकै सवैभन्दा धेरै गुरुङ र मगर बस्ती भएको भार्से । यो समुदायको आफ्नो परम्परागत रितिरिवाज, भेषभुषा, भाषा, सस्कृति र पहिचान जीवितै छ । सालैजो, सोरठी, कृष्ण चरित्र र ठाडो भाका पाको पुस्तादेखि नयाँसम्मले गाउन र नाच्न सक्छन् । गीत गाएर र नाचेर रात गएको पत्तै हुँदैन् । होमस्टेमा खान, बस्न र सुत्नका लागि खासै महङ्गो छैन । स्थानीयस्तरमै उत्पादित खानाका परिकारहरु खान पाईन्छ ।

लोकल कुखुरा र कोदोको रक्सी होमस्टेको प्रमुख आकर्षण भएको होमस्टेकी सचिव जया भुजेल बताउँछिन् । स्वादिष्ट कोदोको ढिडो, सिस्नो, बाँकको गुन्द्रुक, कालो भट्ट, मकै र फापरको रोटी होमस्टेको बिशेषता हो । धेरै व्यावस्थापन गर्न बाँकी भएकाले अहिले महिलाहरुले पालैपालो होमस्टेको काम गरिरहेका छन् ।

राम्रो संग होमस्टे संचालन भए घर खर्च चलाउने र भार्सेको विकासमा टेवा पुराउने उदेश्य उनीहरुको छ । ‘अहिले त बेला बखतमा मात्रै पाहुना आउँछन्, कहिले त महिनौ पाहुना आउँदैनन,’भुजेलले भनिन्,‘ व्यवस्थित गर्ने प्रयासमा छौ, भर्खरै त सामानको खर्च पनि आउँदैन ।’ थोरै पाहुनालाई पनि सवै परिकार बनाउनुपर्ने बाध्यता उनीहरुमा छ ।

बसाइसराईको समस्या

विभिन्न कारणले भार्सेको बसाईसराइँ अत्यधिक छ । प्रत्येक बर्ष चार÷पाँच घर बसाईसराई गरेर शहर झर्छन् । पुरानो घर र पुस्ता गाउँमा छ । भार्से गाउँमा विपन्न समुदाय पनि धेरै छन् । उनीहरु रोजोरोटीकै लागि जिल्लाकै विभिन्न स्थानमा बसाई सर्ने र गाउँमा पनि काममै व्यस्त हुनुपर्ने होमस्टेको लागि चुनौति भएको वडाध्यक्ष सन्त कुमार थापाले बताए ।

त्यो बाहेक शिक्षा स्वास्थ्य, भौतिक संरचना, सडक बिस्तार, सुचना र संचार पनि अर्को समस्या हो । होमस्टे संचालनकै लागि भार्सेका महिलाहरुलाई लम्जुङ्गको घले गाउँ, स्याङजाको सिरुवारी र घान्द्रुक लगायतका स्थानमा अवलोकन समेत गरेर फर्किइको थापाले बताए । उनले होमस्टे संचालन गर्न तालिम र अवलोकन चाहिने भएकाले अझै पनि गाउँपालिकासंगै विभिन्न बिषयमा छलफल र समन्य भइरहेको बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D