बिचार

नेताज्यूलाई गाउँबाट एक आम नेपालीको अनुरोध!

कमल सुबेदी
यस अघि निर्वाचित वा पराजित वा आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा होमिनुभएका विभिन्न राजनीतिक दलका नेताज्यूहरुलाई मेरो सविनय अनुरोध । हुन त मेरो सम्पर्कमा कति नै नेता पो हुनुहुन्छ र तै पनि नेतागणसंग सामिप्यता राख्नुहुने महानुभावहरुलाई यो सन्देश सम्प्रेषण गर्दिनुहुन् मेरो अनुरोध छ |

मलाई लाग्छ नेताज्यूहरुले समवेदना सायद गुमाउनु भएको छैन | यही कुरामा ढुक्क भएर नै यो अनुरोध पोस्टिएको छुं | संवेग नहराएको भए जनता तथा विपक्षी पार्टीका नेता कार्यकर्ताहरुले गाली अनि विरोध र अक्सर आक्षेप लगाउदा त मनमा चस्स हुन्छ होला नै | कि संवेदनहीन भएर ‘ह्या, यस्तो भैरहन्छ’ भनेर हल्का रूपमा लिनुहुन्छ | मलाई लाग्छ तपाईहरु पनि मान्छे नै हो र त्यस्ता नकारात्मक टिप्पणीले तपाईलाई पक्कै पीडा दिन्छ |

प्राय मान्छेहरुको गुनासो भनेका बाचा पुरा गरेनन्, जितेपछी फर्किएनन, विकास गरेनन, आदि आदि नै हुन् |

kamal suvediअब म मूल विषयमा प्रवेश गरें | मलाई थाहा छ हामी आर्थिक रूपमा गरिब देश नै हौ प्राकृतिक सम्पदाका बाबजुद | जब सिमित स्रोत र साधन हुन्छन तब तिब्र विकासको परिकल्पना तासको महल झैँ हुन्छ | चुनाव ताका तपाइँहरुले गर्ने प्रतिबद्धता (लालीपप) यस्तै हुन्छन बिल्कुल हावादारी | यथार्थताको धरातलमा रहेर चुनावी घोषणापत्र बनाए के बिग्रने रैछ, मैले मेसो पाइन् | जब असम्भव कुराको बाचा गरेर चुनाव जित्नुहुन्छ नि, यदि तपाईसंग नैतिकता भन्ने चिज हुन्छ नि, त्यो पुरा गर्ने तपाइको धर्म र कर्तब्य दुवै हो |

घोषणा पत्र लेख्दा नै ‘लेख्दिम केरी, जे त होला’ भने पछी जितपछीको कार्यकालमा तपाईमा आफ्नो प्रतिबद्धता प्रतिको इमान्दारिता देखिदैन्, हामी जनताको दशकौ देखिको नियती हो | मसंग प्रशस्त उदाहरण पनि छन् | पहिलो आम निर्वाचन २०१५ ताका गोर्खा परिषदले पाँच वर्ष भित्रमा जनताको जीवन स्तर दोब्बर तुलाउने, दुई हजार स्कूल खोल्ने , प्राथमिक शिक्षालाई अनिवार्य बनाउने, दुई हजार अस्पताल बनाउने लगायतका कुरा आफ्ना चुनावी एजेन्डामा समावेश गरेको रैछ | हुनत त्यो पार्टीले त्यतिखेरको चुनावमा बहुमत ल्याएन, न त त्यसपछि सरकार नै चलायो | फेरी २०१७ सालमा राजा महेन्द्रले पंचायत सुरु गरेसी त सत्तासिन कांग्रेस पनि नीति निर्माणको मूल प्रवाहबाटै बाहिरियो | यदि गोर्खा परिषद नामको त्यो पार्टीले जितेकै भए पनि उसका खोक्रा आश्वासन कदाचित पुरा हुने थिएनन् |

त्यसैले मेरो पहिलो अनुरोध हो पुरा हुन नसकिने बाचा नगर्नुस् | ग्रेड मिलेका धुले अनि सिजनल बाटो मुस्किलले पुगेका ठाउँमा तपाईले पक्की बाटोको आश्वासन दिनुहुन्छ | ७५ प्रतिशत (सरकारी तथ्यांकलाई म् मिथ्यांक ठान्दछु) बेरोजगार भएको ठाउँमा तपाइँ सबैलाई जागिर (त्यो पनि गाउँमै) दिने ललिपप देखाउनुहुन्छ | शिक्षा र स्वास्थ्यमा विषम व्यापारीकरण भैरहेको (र ति व्यवसायिक संस्थामा तपाइँ आफ्नो पनि लागानी रहेको) यो परिप्रेक्ष्यमा शिक्षा र स्वास्थ्यलाई निशुल्क गराउने भनेर जनतालाई दिग्भ्रमित पार्नुहुन्छ |

दशकौ अघि स्थापित उद्योगलाई धरासायी बनाएर मुलुकलाई औद्योगिकीकरणतर्फ लैजाने भनेर भ्रमको खेती गर्नुहुन्छ | विभिन्न जलविद्युत आयोजनाका गाडी चढेर आयोजना सम्पन्न गर्ने काममा विभिन्न बहानामा अवरोध सृजना गरेर (तपाई यती बठ्याई गर्नु हुन्छ कि पर्दा पछाडीको खेल खेल्नुहुन्छ) हजारौ मेगावाट बिजुलीको झुटो उज्ज्यालो बाड्नुहुन्छ | फर्पिंगमा बिजुली निकालिएको यो सय वर्षको इतिहासमा मुस्किलले ८०० मेगावाट बिजुली निस्केको तितो यथार्थ भुल्लेर जनतालाई मिठो झुटो बाड्नुहुन्छ | डनहरुलाई भत्ता र चुनावकै टिकट बाड्दै अराजकता अन्त्य गर्ने उदघोष गर्नुहुन्छ | आफ्नै पार्टीको खर्चपर्च कसरी चलेको नदेखाएर पारदर्शिताको खोक्रो नारा अलाप्नुहुन्छ |

अनि जनताले पत्याउन र भोट दिउन, तपाई यही चाहनुहुन्छ | फेरी जनताले भोट नि दिन्छन | जब रोजाईका लागि प्रशस्त राम्रा बिकल्प नभएपछी एउटालाई भोट त हाल्नै पर्छ | खुसी हुनुहोस् अहिले सम्म ‘नो भोटिंग’ सिस्टम आइ सकेको छैन | यदी त्यस्तो हुदो हो त जनताले खोजेको के हो थाहा हुन्थ्यो | पटक पटक विजयी हुनुको अर्थ आफु राम्रो भएर मात्र नभएर अर्को राम्रो बिकल्प नभएर हुन् सक्छ | भन्छन नि ‘नहुनु भन्दा **** मामा हुनु जाती”, हो त्यस्तै हो जनताको रोजाई |

भन्नुहोला जनता के चाहन्छन त? नेपाली जनता आशावादी छन् | २००७साल देखि साँचो प्रजातन्त्र र स्थिरताको लागि संघर्षरत नेपाली नेताबाट अहिले पनि धेरै कुराको अपेक्षा गर्दैनन् | चुनाव अघि हात मात्रै जोड्ने नेताले चुनावपछी सकेसम्म चिन्ने र नभए बोले मात्रै हुन्थ्यो भन्ने आश गर्छन् | चुनावको बेला घरदैलो गर्ने नेता चुनाव जिते नि हारे नि आफ्नो दैलो फेरी पनि टेके हुन्थ्यो भन्ने चाहन्छन् | भोट माग्न पैदल हिड्ने आफ्नो आदर्श व्याक्ति (सच्चा नेता) पछी गाउँ आउदा हेलिकप्टरमा हैन हिडेरै आओस् भन्ने चाह राख्छन् |

मान्नुस वा नमान्नुस तर जनताले नेताले आफ्नो घरमा पटक पटक आएर पानी, चिया वा खाजा वा मिठो नमिठो आटोपिठो खाइदिओस् | पटक पटक आओस | तर हाम्रो देशमा भूकम्प बरु छिटो छिटो आउछ, जितेका नेता चाही ‘टुरिष्ट’ झैँ आक्कल झुक्कल | भन्नुहोला, “हामी कानुन र नीति निर्माण बनाउन संसदमा व्यस्त हुन्छौं, कहाँ भ्याइन्छ र ?” तर नेता ज्यू, तिनै जनतासंग साक्षात्कार नगरी इच्छा नै नबुझी कस्तो कानुन र नीति निर्माण बनाउनुहुन्छ, हाम्ले नदेखको हो र ? बेला बेलामा जनताका घर घर गएर वा नसके गाउँ गाउँ पुगेर आफुले गरेको कामको इतिवृतान्त बुझाए के हुन्छ र ? चुनावका बेला आसेपासे प्रयोग गरेर सम्मजिक संजालमा नाङ्गो नाँच देखाउनु त् पर्दैन | कार्यकर्ताको नाममा जनता लडाई दिनुहुन्छ |

आसन्न प्रतिनिधि सभा चुनावमा गुल्मी क्षेत्र न. १का लागि उम्मेद्वारी दर्ता गरेका प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको वाक युद्ध र सम्बन्धित पार्टीका समर्थकको सोसल मिडियामा देखिएको नाङ्गो नांच कम लाज मर्दो छैन | जनता चाहन्छन, आफ्ना प्रतिनिधिले आफ्नो बोली बोलोस् | आफ्नो नेराघेरामा हुर्किएको त्यो मान्छेमा आफ्नो माटोको गन्ध नहाराओस् | जुनसुकै पार्टीको समर्थक भए पनि समभाव दर्शाओस् | सौताको छोराको व्यवहार नगरोस् | नातावाद र कृपावादको प्रश्रय नगरोस् | नेता ज्यू, तपाइँको अघिपछी हिड्ने कतिपय तपाईको जितपछी तपाईलाई उनीहरुको व्यक्तिगत स्वार्थमा प्रयोग गर्न सकिन्छ भनेर ध्यान केन्द्रित गरिरहेका पनि हुन्छन् | हो, जनताले तपाई त्यस्ता मान्छेहरुबाट जोगिनोस् भन्ने चाहन्छन् | नेपालको विद्यमान गरिबी र सिमितताको यो विषम अवस्थामा तपाइँबाट चमत्कारिक विकासको अपेक्षा पक्कै गरेका छैनन् जनताले | तर विकासको लय चाही देशले पक्कै समात्नु पर्छ | आफैलाई चुन्ने जनताको अवस्था ‘कठैबरा’ हुदै गर्दा तपाइँको जीवनशैली अस्वाभाविक रूपमा आकाशिएको देख्न जनताको आँखा छैनन् | अनि जनता ‘सिस्टम’मा सुद्धिकरण चाहन्छन् | र यो विजयी हुनेले चाहेमा गर्न सक्छ |

नेताज्यू, जनताको भावनामाथी खेलवाड नगर्नुस् | प्रत्येक चुनावमा जनताले भोट हाल्छन नि, त्यो भोटमा जनताको भावना र अपेक्षा दुवै गाँसिएका हुन्छन भन्ने कुरा जबसम्म बुझ्नुहुन्न तबसम्म यो देश र हामी जनताको नियतीमा बीसको उन्नाईस हुने छैन् | कमसेकम राजनीतिलाई कमाइ खाने भाँडो बनाउन छाडिदिनुस | राजनीति पेशा होइन, सेवा हो भन्ने मानक स्थापित गरिदिनुस् ताकी तपाईलाई यो युग र पुस्ताले धन्यवाद देओस् | जनताको समस्या समाधान गर्न नसके नि समस्यामा संगै भैदिनुस्| जनहितका पक्षमा संसदमा आगो ओकल्नुस् | विवादास्पद सन्धि सम्झौता र नीति निर्माण अनि देश गरिबीले जर्जर बन्दै गर्दा सांसदको तलब भत्ता वृद्धि गर्ने जस्ता विवादास्पद एवम् जनविरोधी काम पटक्कै नगरिदिनुस् | शतप्रतिशतको प्रिय बन्न भगवान त सकेनन्, तपाइँ पनि सक्ने कुरा भएन तर अधिकांसको आदर्श पुरुष बनिदिनुस् | जनतालाई ढाँटन सकिन्छ सजिलै, तर एक पटक आफैलाई ढाटेर हेर्नुस् त्, पटक्कै सक्नुहुन्न |

बस्! जनता यत्ति चाहन्छन् | मात्र यत्ति | अति भो | असह्य भो | अब एक पटक जनताको नेता बनेर हेर्नुस् त|

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D