बिचार

धन के हो के हैन? पैसा के, कसरी र किन?

डा. मुक्ति अर्याल र इन्दिरा अर्याल
कोहि धन नै सर्वथोक हो भन्छन्, अरु सबै बिर्सेर पैसै कमाउन पट्टि लाग्छन् र जीवनभर पैसाकै दास बन्छन् भने कोहि पैसा केहि पनि होइन भन्छन् । कसैले धनी मान्छे शोषक हुन् , पूँजीपतिहरु सामन्त हुन् भन्ने ठान्छन् भने कसैले गरीबहरु खराब हुन्छन् भन्छन् । कसैले सोझो औंलाले घिउ आउदैन अर्थात धन कमाउन ठग्नै पर्छ भन्छन् । पहिले पहिले आम्दानीको स्रोत खेतिपाति हुने गर्थ्यो र जसले जमिन हडप्न सक्यो त्यहि धनी बन्थ्यो ।

अरुलाई काममा लदाउथ्यो र सामन्त कहलाउथ्यो र श्रमको शोषण गर्थ्यो । त्यतातिर बर्णन गर्ने हो भने यो लेखमा मार्क्स्-वाद को ब्याख्या गर्नु पर्ला । तर आजको जमना फरक छ । जमिनदारहरु सँग भन्दा कैंयौं गुणा धेरै पूँजी अन्यत्रै छ । यो लेख राजनिति शाश्त्र होइन र अर्थशाश्त्र पनि होइन । यो सानो लेख त पैसाको लागि के गर्ने र के नगर्ने, पैसा कसरी र किन कमाउने भन्ने बारेको छोटो गफगाफ मात्र हो ।

सामन्यतया पैसा शक्ति र क्षमताको मापन हो । एउटा शक्तिशाली देश सँग धेरै पैसा हुन्छ । शक्तिशाली हुनुको परिचय हो पैसा । पैसाकै सहायताले ठुला ठुला आविस्कार गर्न र देशको बिकास निर्माण गर्न सकिन्छ । देश धनी भए कुनै अर्को देशको मुख ताक्नु पर्दैन । कुनै पनि कुरा प्राप्त गर्न वा दैनिक कार्य सन्चालन को लागि पैसा नै चाहिन्छ । शिक्षा, स्वास्थ्य, गास, बास र कपास सबैको लागि पैसा चहिन्छ । हामीले शीर देखि पाउ सम्म लगाउने लुगा, कुरा गर्ने फोन, चलाउने इन्टर्नेट, बस्ने घर, खाने पानी, सबैको पैसा तिर्नु पर्छ । ट्वालेटको निकास र पानी को पनि पैसा तिर्नु पर्छ । अर्थात पैसा नभए जीवन धान्न सकिन्न । पैसा भए पहुच हुन्छ र ईच्छा भएमा समाज सेवा पनि गर्न सकिन्छ । आफुलाई मन लागेको बस्तु किन्न, मन लागेको ठाउमा वा देश बिदेश घुम्न जान, साथीभाइ मिलेर खानपिन गर्न , राम्रो लगाउन आदि सबै गर्न पैसै चाहिन्छ वा पैसा नभए यी कुराहरु गर्न सकिन्न । पैसा मानिसको दास हो र हुनु पनि पर्छ । पैसाले मानिसका आबस्यकता पुरा गरिदिन्छ ।

ठुला ठुला उधोग ब्यबसायहरु संचालन गर्न सके धेरै पैसा कमाउन सकिन्छ । हिजो आज कुनै उद्धोग सन्चालन गर्न धेरै पूँजीको लागानि गर्नै पर्छ भन्ने पनि छैन । आफ्नो बुद्धि, बिबेक र नेतृत्वदायी क्षमाता छ भने थोरै पूँजीमा पनि उद्धोग सन्चालन गर्न सकिन्छ । आधुनिक युगमा कम्प्युटर इन्टर्नेटको सहायताले ब्यापार गरेर नयाँ नयाँ धनाड्यहरु देखा परेका छन । ठुलो कम्पनि सँग हुन्छ पैसा, कम्पनिको मालिक जस्तो बिल गेट्स, जुकस्बर्ग सँग हुन्छ पैसा ।

पहिले पहिले पैसा कमाउने धेरै मध्यामहरु हुदैनथे । सासक बर्ग र जमिन दारहरुले मात्र धेरै पैसा कमाउन सक्थे । पैसा कमाउन सोषण र दमन गर्नु पर्थ्यो । त्यसैका आधरमा मार्क्सवाद लेखिएको हो । जमिन जोत्नेको हुनु पर्छ भनिएको हो । पुराना मार्क्सवादी अझै पनि जमिनदारलाई मात्र धनि देख्छन् । जमिन कस्को जोत्ने को भनेर नारा लगाएर थाक्दैनन । जमिनदार भन्दा वा जमिनमा खेति गर्ने भन्दा इन्टरनेटमा खेति गर्नेहरु कति धनाड्य भए उनीहरुलाई पत्तो नै छैन । हामीले फेसबुक हेरेर मिस्टर जुकस्बर्गलाई धनी बनाइरहेका हुन्छौं भनेर बुझ्दैनन् ।

पैसा जागिर गरेर, ब्यवसाय गरेर वा अन्य कुनै माध्यम जस्तो पुरस्कार स्वरुप पनि प्राप्त गर्न सकिन्छ । रास्ट्रिय र अन्तरास्ट्रिय स्तरका खेलाडिहरुले लाखौ करोडौं कमाउछन् । फिल्मको नायक, आदि सबै सँग पैसा हुन्छ । पुस्तक लेखेरै पनि मिलियन डलर कमाउनेहरु हुन्छन् । जति धेरै क्षमता त्यति उच्च ओहदा त्यति धेरै जिम्मेवारि, अनि त्यति धेरै आम्दानि । त्यसैले पैसा क्षमताको परिचय हो । पैसा पैत्रिक सम्पतिबाट पनि प्राप्त हुन्छ, कसैले दिएको दानबाट पनि प्राप्त हुन्छ । तर पैत्रिक सम्पतिबाट प्राप्त पैसाले भने मानिसको क्षमताको मापन गर्दैन । यो त बरु अरुलाई ध्वास दिने साधन र पितॄसत्तमा छोरालाई मात्र सम्पत्ति दिइने हुदा भेदभावको कारक पनि हो ।

पैसा राम्रो काम गरेर मात्र कमाइन्छ भन्ने भने पनि होइन । पैसाको अर्को पक्ष पनि छ त्यो हो घुसखोरी, डाका , चोर, कालो बजारिया, चन्दा असुलि , तस्कर, बैस्या आदि सँग पनि हुन्छ । संसारलाई वा मानव जातिलाई नै अमुल्य गुन लगाएर, विज्ञान, चिकित्सा, शान्ति जस्ता विषयमा नोवेल पुरस्कार पाएर पाएको मिलियन डलर पनि पैसा हो । घुस खाएर कमाएको पनि पैसा हो । चेलि बेटि बेच बिखन, कालो बजारी, डकैति, चोरी आदि बाट कमाएको पनि पैसा हो । त्यसैले सबै खाले पैसालाई एउटै आँखाले हेर्न भने हुदैन ।

पैसालाई होइन कामलाई सम्मान गर्नु पर्छ । समाजमा विकृति आउनुको मुख्य कारण पेसालाइ नभइ पैसालाई सम्मान गरिएकोले हो । पैसालाई होइन कामलाई सम्मान गर्ने हो भने सामजिक विकृतिमा कमि आउछ । उद्ध्योग, कलकारखना चलाएर कमाएको पैसा र तस्करि बाट कमाएको पैसा लाई फरक नदेख्ने हो भने ; जसरी कमाएकोलाई पनि एउटै नमस्कार, एउटै दन्डवत ट्क्र्याउने हो भने ; खराब कामले प्रसय पाउने नै भयो । काम गर्ने लाई भन्दा नगर्नेलाई सम्मान दिने हो भने काम गर्न हिच्किचावट लाग्ने नै भयो ।

जसरी कमाए पनि पैसै हो, धनै हो भनेर सबै पैसालाई वा पैसावालालाई एउटै आँखाले हेर्ने हो भने खराव प्रबृति मौलाउछ । जबसम्म खराब तवरले पैसा कमाउनु भन्दा निर्धन हुनु हजारौं गुना श्रेयस्कर हो भन्ने कुरा स्थपित हुदैन तबसम्म खराब तत्व रमाइरहन्छ । खराब तवरले पैसा आर्जन गर्नेहरु मफतको धन फुपुको श्राद्धे भने जस्तो बढी भड्किलो जिन्दगि जिउने हुन्छन् । तिनीहरुको पछि लाग्दा सीधा साधा पनि भ्रममा पर्छ्न र अनावस्यक ऋणको भारी बोक्छन् । पैसा चिन्नु भनेको साचो अर्थमा पैसाको मुलस्रोतलाई चिन्नु हो । आयस्रोतको पहिचान गर्नु हो । आयसस्रोत नखुलेको पैसालाई तिरस्कार गर्नु पर्छ । घुसखोरीले जहाजको टिकेट नपाओस, घुसखोरीको छोरा छोरीले स्कुलमा भर्ना नपाओस, घुसखोरीले बोलाएको निम्ता तिरस्कार गरियोस । दामलाई होइन कामलाई सम्मान गरौं ।

हो, पैसा कमाउनु पर्छ असल काम गरेर । गरीब भएर जन्मिनु कमजोरि होइन तर गरीबि मै मोर्नु असक्षमता हो । जागिर गरौं, पेसा गरौं, खेलाडि बनौं, फिल्म खेलौं, लेखक बनौं , कामदार बनौं तर खुसखोरि, डकैति, तस्करि आदि नगरौं । धनी बन्नु, देसमा उद्धोग सन्चालन गर्नु, रोजगारिको सृजना गर्नु देसको सेवा गर्नु हो , सामन्ति र शोषण होइन । कुनै कुनै राजनितिक स्कुलिङ्गमा धनिलाई घृणा गर्न सिकाइन्छ । तर पैसा शक्ति हो, क्षमता हो, बहदुरी हो, कला हो, नेतृत्व हो र सम्पन्नताको सुचक हो । पैसा खराब हुनन्थ्यो भने देसले किन सम्पन्न बन्न खोज्नु पर्थ्यो, गरीबि मै रमाए हुन्थ्यो ।

सबै कुराको मापन पैसा मै हुन्छ । मान सम्मान दिंदा पनि पुरसकार स्वरुप पैसा नै दिइन्छ अर्थात मान सम्मानले पैसा प्राप्त हुन्छ । तर पैसाको श्रोत गलत छ भने त्यो पैसाले सम्मान भने किन्न सक्दैन र सक्नु पनि हुदैन । तर दुष्ट आत्माहरु गलत तरिकाको प्रयोग गरेर पैसा कमाउछन् र आफ्ना आवस्यकताहरु पुरा गर्छन् । अबुझहरु तिनै दुष्टहरुलाई सम्मान टक्र्याउछन् र हाम्रो जस्तो धेरै अबुझहरु भएको समाजमा एउटा भ्रम सृजना हुन जान्छ कि जसरी कमाए पनि पैसा कमाए पछि सम्मान मिल्दो रहेछ ।

हामीले असल काम गरेर मात्र पैसा कमाउनु पर्छ र पैसाको सहि उपयोग पनि गर्नु सक्नु पर्छ । पैसा कमाए पछि जीवन सुखि बन्छ आफुले भनेको बस्तु किन्न पाइन्छ । आफुले भनेको ठाउँमा घुम्न जान सकिन्छ, चाड पर्व मनाउन, रमाइलो गर्न, साथि भाइ भेट्न, छोरा छोरीलाई शिक्षा दिन सकिन्छ । तर कोहि पैसा कमाउनु लाई नै जीवनको लक्ष ठान्छन् र जीवनको लागि पैसा कमाउने होइन कि पैसाको लागि नै जीवन समर्पण गर्छन् ।

कति मान्छेहरु मरिमरि काम गर्छन् र प्रसस्त पैसा त कमाउछन् तर त्यसको उपयोग भने गर्दैनन् । घर घडेरि जोड्छन, घर बनाउछन् तर बजारमा गएर राम्रो तरकारि किन्न समेत हात कमाउछन् । उनीहरुले आफु सँग क्रय शक्ति छ भन्ने चाल सम्म पनि पाउदैनन् । उनीहरुको पैसा न त उनीहरु स्वयंको लागि खर्च हुन्छ न त उनीहरु कुनै सामाजिक कार्य वा दान नै गर्न सक्छन् । मोर्ने दिन आउछ तर पैसा को उपयोग हुदैन ।

पैसा कमाउनु लाई नै जीवनको लक्ष ठान्नेहरु र इमान्दारिता पुर्वक आफ्नो पेशा गर्ने हरुको हकमा भन्नु पर्दा उनीहरु राम्रै पेसा गर्छन्, ब्यबसाय गर्छन्, जागिर खान्छन् आदि । तर उनीहरुलाई पैसा कमाउनैमा ब्यस्त हुन्छन् र अन्य कुनै कुराको लागि फुर्सद नै हुदैन । उनीहरु पैसा कमाए पछि जीवन सुखि बन्छ आफुले भनेको बस्तु किन्न पाइन्छ, आफुले भनेको ठाउँमा घुम्न जान सकिन्छ, चाड पर्व मनाउन, रमाइलो गर्न, साथि भाइ भेट्न, छोरा छोरीलाई शिक्षा दिन सकिन्छ भन्ने कुरा नै बिर्सन्छन् । आफ्नो ब्यबसाय छ, प्रसस्त पैसा छ तर आफन्त भेट्न आए कुराकानि गर्न लाई २ मिनेट फुर्सद छैन । जागिर छ, ओभर टाइम छ – श्रीमान श्रीमतिको बीचमा कुराकानि गर्ने संगै खाना खाने सम्म पनि फुर्सद छैन ।

छोरा छोरीलाइ स्कुलमा तिर्न पैसा जति पनि छ तर आज स्कुलमा के के कृयाकलाप भए भनेर सोध्ने फुर्सद छैन । राम्रा राम्रा गहना छन तर लगाएर जाने फुर्सद छैन । बैदेशिक रोजगारीबाट पैसा त कमाइयो तर श्रीमान श्रीमति मिलेर बस्ने होइन फेरि अझै कमाउन परो, बिदेश तिरै हानियो सगै बस्ने फुर्सद छैन । पैसा कमाएर त्यसलाई आफ्नो जीवनमा प्रयोग नगर्ने हो भने, परिवार सँगको सम्बन्ध लाई बेवास्ता गर्ने हो भने, पैसा कमाउनुको के अर्थ ?

बाबु आमा यति ब्यस्त हुन्छन् कि छोरा छोरीलाई एक दिन पनि समय निकाल्न सक्दैनन् । अनि उनीहरुले सोचिरहेका हुन्छन् कि यो सारा सम्पत्ति र यतिका दुख उनीहरुले छोरा छोरीको लागि नै कमाएका हुन / उनीहरुको लागि नै गरेका हुन् । तर छोरा छोरीहरुको भने बाबु आमाको साथ नपाएर निरास हुने र फरक मनसिकता बिकास गर्ने, कुलतमा लाग्ने सम्भवना समेत रहन्छ । यदि सहि मार्गमा लाग्न सकेनन् भने बाबु आमाले कमाइ दिएको सम्पत्तिले छोरा छोरीको भविश्य उज्जल बन्न सक्दैन ।

पैसैको लागि पैसा कमाउने मानिसहरुको मानस पटलमा पैसा कमाउने कुरा मात्र हुन्छ । कसले कति पैसा कमाए के गरे भन्ने कुरा कण्ठै हुन्छ । एक छिन कसै सँग कुरा गर्ने फुर्सद मिलि हाल्यो कि – फलना ले घर किनेछ, ढिस्कानाले गाडि किने छ, ऊ घुम्न गएछ । यो त धनि छ आदि । अनि सोच्छन् यति कमाए भने त म पनि एसो गरुँला उसो गरुँला । तर, जब त्यति कमाइ सक्छन्, उनीहरुको कमाउने अभिलासा बढिसकेको हुन्छ र फुर्सद को दिन भने कहिल्यै आउदैन । उनीहरु अरुलाई पैसा कमाउने अर्ति उपदेश दिन पनि खप्पिस नै हुन्छन् ।

तैले किन काम गरिनस । बच्चा बच्चिलाई शिशु स्याहार केन्द्रमा राख्नु पर्थ्यो । तैले काममा जानु पर्थ्यो । किन काम नगरेरको, अहिले पैसा नकमाए कहिले कमाउने, अमेरिका गएर पनि पैसा नकमाई बसे काहाँ गएर कमाउने आदि । कसैको दिमागमा पैसा भन्दा अरु हुदै हुन्न कि उनीहरुले आफुलाई पैसैको दास बनाउछन तर पैसालाई आफ्नो दास बनाउन सक्दैनन् ।

अन्तमाः सामान्यत पैसा क्षमता को मापन हो तर यसको निर्धरण पैसा कसरी आर्जन गरिन्छ भन्ने कुरामा भर पर्छ । आफु सम्पन्न बन्न मान्छेले अनेकौं गलत तथा अनैतिक हर्कत गरेर पनि धन आर्जन गर्न सक्छन् । त्यस्तो अवस्थामा पैसाले मान्छेको पौरख र क्षमताको मापन गर्न सक्दैन । खराब तवरले पैसा कमाएको धन र धनि ब्यक्तिलाई सम्मान दिनु हुदैन । धन वा पूँजी सन्कलन गर्न मान्छेले बिभिन्न उपाएहरु अबलम्बन गर्छन् र पूँजीपति बन्छन् ।

बदलिदो परिस्थितिमा पूँजीपति धनाड्य वर्गको परिचय बदलिएको छ । इन्टर्नेट वा विश्वसन्जाल को कारणले गर्दा पनि पैसा आर्जन गर्ने तौर तरिकामा फरक आएको छ । श्रमजीविहरुले पनि आफ्नो जीवन यापन गर्न र जीवनका आवस्यकता पुरा गर्न पैसा कमाउनु पर्छ तर पैसाको पछि लागेर जीवन जिउन भने बिर्सनु हुदैन । पैसा जीवनको लागि हुनु पर्छ तर जीवन पैसाको लागि हुनु हुदैन ।
तथास्तु : ।

१८ फरवरी, २०१८
टेक्सास, अमेरिका

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D