समाचार

दृष्टिविहीनले पाल्दै अशक्त आमा

श्रावण १०, २०७४- आमाको उमेर ६९ वर्ष । छोरा ५१ वर्षका । आमाको शरीरको दायाँ भाग चल्दैन, आँखा पनि देख्दिनन् । छोरा पनि पूर्ण दृष्टिविहीन । मुसिकोट नगरपालिका–३ बडागाउँ चौरका आमा ज्याङग्री थापा र छोरा केशबहादुको अवस्था हो यो।

दीर्घरोगी आमा र दृष्टिविहीन छोराको यो अवस्था आठ वर्षदेखि यसरी नै चल्दै आएको छ। शरीर नचल्ने, आँखा नदेख्ने र बोल्न नसक्ने आमाको दैनिक हेरचाह दृष्टिविहीन छोरा केशबहादुरले गर्दै आएका छन्।
‘के गर्नु गर्नै त परो नि,’ छामछुमकै भरमा आमाको कपाल कोर्दै गरेका केशबहादुरले भने, ‘बिहे गर्न पनि सकिएन।

खानका लागि यसरी नै गर्दै आएको छु।’ बाबु तिलबहादुरको १५ वर्षअघि मृत्यु भएपछि दीर्घरोगी आमाको हेरचाह गर्ने र दैनिक गुजाराका लागि सबै काम गर्ने जिम्मेवारी उनमा सरेको हो। छिमेकी खुमबहादुर थापाका अनुसार ६ वर्षको हुँदा उच्च ज्वरोले केशबहादुरको आँखाको ज्योति गुमेको थियो। आँखाको कमजोरी भएकी आमालाई आठ वर्षअघि पक्षघात भएको थियो। आर्थिक अभावले तत्काल उपचार गराउन नसकेपछि उनको शरीरको एक भाग पूरै चल्न छोड्यो र बोली पनि बन्द भयो।
blind
आमाको हेरचाह र सरसफाइदेखि खाना पकाउने र खुवाउनेसम्मका सबै काम उनी एक्लैले गर्छन्। घरमा अन्य कोही सदस्य नभएको र दृष्टि गुमेकै कारण कसैले विवाह गर्न नमानेपछि आफ्नो जिन्दगी नै दु:खी भएको केशबहादुरको पीडा छ। बिरामी र अपांग आमा छोराको दैनिक जीवन निर्वाहका लागि कुनै नियमित स्रोत छैन ।

मिहिनेत गर्दा तीन महिनालाई खान पुग्ने जमिन त छ तर, त्यसमा खेती लगाउन सक्ने उपाय दुवैसँग छैन। ‘केही नभए पनि खानै पर्‍यो,’ केशबहादुर भन्छन्, ‘भोक लागेपछि बोल्न नसक्ने आमा एकोहोरो चिच्चाइरहन्छिन्।’ दैनिक गुजाराका लागि लौराको भरमा उनी गाउँभरि काम खोज्दै हिँड्छन्। ‘खेती नभएको जग्गा खन्न सक्छु,’ उनी भन्छन्, ‘कसैले कच्ची घर बनाए माटो मुछ्ने काममा सघाउँछु।’ -कान्तिपुर दैनिक

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D