समाचार

तम्घासमा विकासका काम अधुरै: अध्ययनमै सीमित केबलकार, विमानस्थल सञ्चालनमा आएन

टोपलाल अर्याल
गुल्मी, चैत १ । जिल्लाको विकासमै सहयोग पुग्ने योजना योजना अधुरै हुँदा जनता निराश हुन थालेका छन् । धार्मिक क्षेत्र रेसुंगा, रेसुंगा विमानस्थल, केबलकार निर्माणलगायतका विकासका काम अधुरा हुँदा स्थानीय मात्र होइन जिल्लावासी नै निराश हुन थालेका छन् ।

सम्भाव्यता अध्ययनमै सीमित केबलकार
धार्मिक क्षेत्र रेसुंगामा परम्परागत र आधुनिक दुई खाले विचारको लडाइँ छ । रेसुंगा संरक्षण समितिका केही सदस्य आधुनिक सुविधासम्पन्न बनाउन चाहने र अर्को पक्ष धार्मिकस्थलमा नयाँ संरचना बनाउन नहुने अडानमा छन् । दुई पक्षको विवादले केबलकार सम्भाव्यता अध्ययमै सीमित रहेको छ । पटक–पटक सम्भाव्यता अध्ययन भए पनि अरू कामअघि बढ्न सकेको छैन ।

विमानस्थल सञ्चालनमा आएन
जनतालाई वर्षैदेेखि आशा देखाए पनि रेसुंगा विमानस्थल सञ्चालनमा आएको छैन । अहिले व्यवसायी र अन्य नागरिकमा निराशा पलाएको रेसुंगा नगरपालिका–८ का कृष्णप्रसाद भण्डारीले बताए । अन्य पूर्वाधारमा पनि उस्तै समस्या छ । सदरमुकाममा २५ जनालाई व्यवस्थित रूपमा राख्ने होटेल छैनन् । ५० शय्याको तम्घास अस्पताल जीर्ण रहेको छ । ९० प्रतिशत सरकारी डाक्टरको दरबन्दी रिक्त छ ।

राम्रो प्राविधिक शिक्षालय तम्घासमा छैन । पटौती–खज्र्याङ–तम्घास सडक तम्घासको भविष्य हो । तर, त्यो सडकको काम पनि सन्तोषजनक छैन । ‘मान्छेमा वितृष्णा पैदा हुँदै गएको छ, सम्भावना र आकर्षण अधुरा रहे,’ उनले भने, ‘यो विषयमा नगरपालिका र नेतृत्वले वेलैमा विचार पुर्‍याउनुपर्छ ।’

विद्यार्थी सार्दै अभिभावक
तम्घासमा विकास निर्माणले गति नलिँदा विद्यार्थीहरू पनि अन्य सहरमा जान थालेका छन् । गण्डकी इंग्लिस बोर्डिङ स्कुल तम्घासबाट गत शैक्षिक सत्रमा ३७ जना अभिभावकले बुटवलका लागि ट्रान्सफर मागे भने १० जना अभिभावकले छोराछोरी गाउँ फर्काएको प्रिन्सिपल श्रीराम महतले बताए । त्यस्तै, अर्जुन आवासीय माविबाट पनि ३० जना अभिभावकले ट्रान्सफर लगेका छन् ।

धेरैले बुटवल र केहीले अन्य सहरहरूमा बालबच्चा लगेको भाइस प्रिन्सिपल रवि विष्टले बताए । महेन्द्र नमुना माविबाट पनि ५० अभिभावकले बुटवलका लागि ट्रान्सफर लिए । सदरमुकामका अरू सरकारी तथा गैरसरकारी विद्यालयहरूबाट पनि छोराछोरी लिएर विभिन्न सहर झर्ने अभिभावक धेरै छन् ।

जग्गा कारोबार घट्दै
स्थानीय तह गठनपछि नागरिकमा सदरमुकामप्रतिको आकर्षण घट्दै गएको छ । एकाएक वृद्धि भएको जग्गाको कारोबार अहिले बिस्तारै खस्किएको बैंक तथा वित्तीय संस्था प्रमुखहरू बताउँछन् । एक बैंकका शाखा प्रमुखका अनुसार अहिले बैंकमा जग्गा धितो राखेर ऋण लिनेहरूको ४० प्रतिशतभन्दा बढीले घटेको बताए ।

पहिले महिनामा पाँचदेखि सातजनालाई ऋण प्रवाह गर्ने गरे पनि अहिले मुस्किलले दुईजना पुग्ने उनले बताए । त्यसैमाथि जग्गाको मूल्य पनि खस्कँदै गएको छ । त्यस्तै, जिल्ला मालपोत कार्यालयका प्रमुख खुपबहादुर खत्रीले समग्रमा तम्घासको जग्गा कारोबार कम रहेको बताए । उनले आर्थिक वर्ष ०७४/७५ को साउनदेखि पुससम्म तम्घासमा मात्रै ५८ जनाले जग्गा रजिस्ट्रेसन गरेकामा यो आर्थिक वर्षको पुससम्म ५१ जनाले जग्गा रजिस्ट्रेसन गरेको खत्रीले बताए ।

तम्घासबाट पछिल्लो दुई वर्षमा ३१ जना घरपरिवार बसाइँ सरेर अन्यत्र गएका छन् । आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ को ६ महिनामा ३१ जना घरपरिवारका एक सय ४१ जना बसाइँसराइ गरेर गएको नगरपालिकाका सूचना प्रविधि अधिकृत तपन पाण्डेले बताए ।

गाउँगाउँमा सडक सञ्जाल
जिल्ला भित्रिएका सडक सञ्जालले पनि तम्घास ओझेलमा परेको छ । पहिले पनि कालीगण्डकी, चन्द्रकोट, सत्यवती, रुरू, छत्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाका ९० प्रतिशत नागरिक तम्घास आउँदैनथे ।

व्यापार व्यवसायका दृष्टिले उनीहरूको सीधै सम्पर्क रिडी, पाल्पा र बुटवल, काठमाडांै छ । त्यसबाहेक मदाने गाउँपालिकाका धेरै नागरिक पनि अर्घाखाँचीसँगै बुटवल पुग्छन् । छिमेकी जिल्लाको छत्रदेव गाउँपालिकाको भगवतीबाहेक धेरै स्थानका नागरिक तम्घास आउँदैनन् । खनदहबाट सालझन्डी–ढोरपाटन सडक नजिक पर्छ । त्यो सडकले अर्घाखाँचीसहित गुल्मीका मदाने र मालिकाका नागरिकलाई तम्घासभन्दा अर्घाखाँची र बुटवल नजिक बनेको मदाने गाउँपालिका–७ की विमला भट्टराईले बताइन् ।

रिडी–रुद्रवेणी–बामीटक्सार सडक कालोपत्रे हुँदै छ । सिमलटारी–पनाह हुँदै इन्द्रेगाँैडा सडकको स्तरोन्नतिसहित कालोपत्रेको काम सुरु भएको छ । यो सडक हुँदै इस्मा र धुर्कोट गाउँपालिकाका नागरिकलाई सीधै बुटवल पुग्न छिटो र सजिलो हुने इस्मा गाउँपालिका–२ का रामप्रसाद घिमिरेले बताए ।

धेरै चिन्ता कम चिन्तन
तम्घासको विकास र समृद्धिका विषयमा धेरै फोरमहरूमा बहस र छलफल भए पनि काम भएको पाइँदैन । समस्या पर्दा सजिलै बुटवल पुग्ने भएकाले पनि तम्घासको विषयमा चिन्ता र चासो कम भएको व्यवसायी तथा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्तले बताए । अहिलेसम्म जिल्लाको पश्चिम क्षेत्रका नागरिकहरूका कारण मात्रै तम्घासमा केही चहलपहल रहेको पन्तले बताए ।

खस्किँदो व्यवसाय, १५ होटेल बन्द
गाउँले हेयर कटिङका प्रोपाइटर संकुज अविरलले तम्घासमा कपाल काट्न सुरु गरेको सात वर्ष भएको छ । उनले दैनिक ३०/४० जनासम्मको कपाल काट्थे । अहिले मुस्किलले १०/१२ जना पुग्छन् । ‘व्यापार २५ प्रतिशतमा झर्‍यो, विद्यार्थी आएकै कारण भाडा तिरेका छाै‌ँ,’ उनले भने, ‘यो विषयमा कोही गम्भीर छैनन् ।’ पछिल्लो समय तम्घासका १५ वटा सानाठूला होटेलहरू बन्द भएका छन् । होटेल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष भेषराज कँडेलले अहिलेसम्म १५ बटा बढी होटेल बन्द भए पनि धेरैको व्यापार खस्कँदै गएको बताए ।

उनले रेसुंगा क्षेत्रमा केबलकार र रेसुंगा विमानस्थल सञ्चालन भए मात्रै पनि व्यवसायमा धेरै फरक पर्ने बताए । सिर्जना होटेलका सञ्चालक ढालबहादुर कुँवरले पछिल्लो समय भाडा तिर्न मुस्किल परेकाले बन्द गर्ने अवस्था आएको बताए । उनले गाउँका सडकहरूको स्तरोन्नतिले चाडपर्व वा अन्य समयमा पनि धेरै व्यक्तिगत गाडीमा सीधै गाउँ पुग्ने गरेको बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D