समाचार

गुल्मी पुगेका अर्थमन्त्री खडिवडा भने – सरकारले पहरो फोर्दैछ, शिर ठाडो पारेर हिँड्ने गरी काम गर्दैछौं

अनिल खत्री
गुल्मी, १९ माघ । कालिगण्डकी करिडोर अवलोकन क्रममा रुरु आएका अर्थमन्त्री युवराज खतिवडाले सरकारले पनि पहरा फुटाइरहेको बताएका छन् ।

कालिगण्डकी करीडोरमा ट्रयाक खोल्न सेनाले पहरो फोर्दैछ । उनले अघि भने, हामीले पनि कानुनी, नियामक, संस्थागत, संरचनागत, वित्त रुपमा सबै किसिमका पहराहरु फोर्दैछौं । सबै क्षेत्रका पहरा फोरिएपछि बिकासको बाटो अघि बढनेछ ।’

बजेटमा ल्याएका र गरेका कामहरु जनतालाई कम जानकारी रहेको भन्दै उनले सरकारले केही गरेन भन्नु भ्रम मात्र हुने बताए । भने, ‘अर्को चुनावमा जाँदा सरकारले यो काम किन गरेन भन्ने वातावरण हुँदैन । शिर ठाडो पारेर हिड्ने गरी काम गर्दैछौं ।’

सबै नागरिक सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकार लागिपरेको उनले बताए ।

कालिगण्डकी करिडोर भारत र चीनसँग व्यापारिक सम्बन्ध जोडने गरी तयार हुने भन्दै अर्थमन्त्री खतिवडाले सडक पुरा भएपछि स्थानीयबासीले पनि लाभ पाउने बताए ।

बाग्लुङदेखि गुल्मीसम्म कालीगण्डकी करिडोर सडक अवलोकन तथा नयाँ थप बजेट हस्तातरण गर्ने कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनिसँगै रहेका थिए ।

२० करोड बजेट विनियोजन

कालीगण्डकी करिडोरलाई थप व्यवस्थित गनए २० करोड बजेट विनियोजन गरिएको छ । कालिगण्डकी करिडोरलाई १० मिटर कायम गर्ने उद्देश्यले बजेट विनियोजन भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

२० करोडमध्ये १० करोड रुपियाँको काम बागलुङ खण्डमा र १० करोड रुपियाँको काम गुल्मी खण्डमा हुनेछ । तत्कालका लागि बागलुङ खण्डमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्म १० मिटर सडक चौडा पार्ने कार्य हुनेछ । बागलुङ खण्डमा पर्ने ३६ किलोमिटरसहित गुल्मीमा समेत गरी ८० किलोमिटर साधारण बाटो खोल्ने काम नेपाली सेनाले जिम्मा लिएको थियो ।

चीनको कोरलादेखि भारतको सुनौली नाका जोड्ने ४३५ किमी यो सडक आयोजना त्रिदेशीय व्यापार तथा पारवहनमा महत्वपूर्ण नाका मानिएको छ । यो सडकले कोरलादेखि म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी हुँदै भारतसम्म जोड्नेछ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D