बिचार

गुल्मी पहिरो बितण्डा: बाँच्ने आशा मरेको त्यो एक पल

बबिता कुँवर
असार १८ गते हाम्रो खेत रोपाई थियो । हामी खेत सम्मको ४५ मिनेटको हिडाँइ र खेत रोप्दाको दिनभरको थकाई र रमाइलो सम्झना लिएर साँझ घर फर्कियौँ । समाचारमा आयो ‘८/९ जनालाई धान रोप्दा चट्टयाङ लाग्यो रे’। मम्मीले सुनाउनु भयो ।

आज दिन भरि थकान हामी अलि चाडैँ निदाउन कोसिस गर्दै थियौँ । बर्षौँ पछिको खेत रोपाईँ दिउँसोको खेत रोपाईका केहि रमाइला पल साथीहरुसँग बाँड्न मन लाग्यो, ४/५ वटा फोटो भिडियो फेसबुकको स्टोरीमै राखेँ अनि सुतेँ । गुल्मीको ईस्मा १ मा हाम्रो घर ५/७ मिनेटको फरकमा २ वटा छन् । हामी जन्मेको घर र बुबाले पछि बनाएको घर ।

माईली दिदी र म जन्मेको घरमा सुत्थे गर्थ्यौँ त्यो रात पनि दिदि र म थियौँ । माथीको नयाँ घरमा बुबा ममि र भाई । दुबै दिदी बहिनी थाकेकोले ९ बजे तिर नै भुसुक्कै निदाएछौँ । त्यो दिन बिहानै देखि राम्रो नै थियो साँझ पनि सित्तल अलिअलि सिमसिमे पानी हाम्रो लागी असारको महिना भएकोले केही नौलो भएन । राती ११ बजे तिर ठुलो गड्याङ गुडुङ बिजुली चम्कियो, जमिन फुटे जस्तो गरि चड्किने, ज्वालामुखी आएजस्तो सातो उड्यो । अरु बेलाको सामान्य गर्जनसँग पनि डराउने म त्यो रात जन्मेदेखि भुकम्प बाढि र पहिरो देखेँ तर यस्तो अहिले सम्म थाहा थिएन । एकदम डर लाग्यो । चट्याङ दिदी र म सुतेको रुमको बत्तिको बल्बमै ४/५ पटक परे जस्तो लाग्थ्यो । बल्ब जलेको हामीलाई थ्हा थियो । हामी बाचौँला भन्ने थिएन मन र दिमागले काम गर्न छोडे जस्तो भयो, चट्याङ र बत्तीको उज्यालो पनि हाम्रो लागी अन्धकार महशुश भयो । समाचारमा सुनेका थियौँ चट्याङ लागेर मृत्यु हुनेँ खबर सायद यस्तै भएर होला । हामी पनि बाँच्ने आश त थिएन ।

मान्छेले दु:ख परेपछि मात्र बल्ल भगवान सम्झन्छ भन्ने सुनेको थिएँ त्यो बेला बल्ल हो जस्तो लाग्यो ।हामी भगवान पुकारी रह्यौँ । ‘ जय श्री कृष्ण भगवान’ । त्यो रात भोली बिहान सबै परिवार सकुशल नै भेट्न पाइयोस् भगवान हामीलाई बचाउनुहोस भन्दै यति धेरै कामना गर्यौ । त्यो चट्यांग चिमिक्क गर्दाको उज्यालोबाट तर्कन आँखा चिम्म गरे पनि कानबाट सुनिने गर्जन रोक्न सकिरहेको थिइन । दिदी र म आत्तिएर बेला बेला उठेर हामी भन्दा पारी पट्टीको गाउँ नियाल्थ्यौँ, फेरीफेरी बिजुली चम्किरह्यो । दिमागले त्यतिबेला कति सम्म सोच्न भ्याए कुन्नी, यता त भित्ताले छेकेको छ । झ्याल तिर बस्दा सिधै आफैलाई लाग्छ जस्तो लागेर सुतौँ न भनिहाल्थे तर त्यस्तो बेला पनि पारी गाउँमा भने टर्च बाल्दै मान्छेहरु हिँडिरहेको देखिन्थ्यो । अर्को दिन थाहा पायौं गोठमा पहिरो खसेछ पशु चौपायाहरु जोगाउन राती ठुलो पानी परे पनि जोगाउन सफल हुनुभएछ ।

त्यो डरलाग्दो समय पार गर्न मात्र पाए युद्ध जिते जस्तो हुन्थ्यो । त्यो समयमा जमिन फुट्ने गरि थर्किरहेको थियो । मोवाइल चलाउँदा, चार्ज गर्न खोज्दा चट्ट्याङ लाग्यो भन्ने समाचार पहिले सुनिन्थे । दिदीको मोवाइल हामी सुतेको बिस्तारा भन्दा टाढा रहेछ । आफ्नो मोवाइल अफ गर्न भ्याएकी रैनछन् उनले । मेरो फ़ोन भ्याएन कि याद भएन करीब २:१० भएको हुँदो हो एक जना आफन्तको फ़ोन आयो । खोला नजिक घर भएको बाको गोठ गाइ भैसी बगायो भन्ने खबर आयो उताबाट । मान्छे घर भित्र छन्, ठुलो खोलाले त्यो घर बगाउन लाग्यो रे मान्छेलाई जसरी भए पनि बचाइदेउ भन्दै हुनुहुन्थ्यो उहाँ । सुन्दा छागांबाट खसेको जस्तो भएँ त्यो पल । उहांहरुलाई कस्तो भएको हुदो हो आँका अघी आफ्नो मृत्यु देख्दा ?

हामीलाई पनि नभएको होइन अघि भर्खर सम्म तर हाम्रो समस्या अघि उहाँको समस्या ठुलो थियो । दिदीले गर्न सक्ने जति फ़ोन गरिन्, प्रहरीको नम्बर १०० मा फोन गरेर प्रहरी टोली जाँदैछ भन्ने खबर पायौँ तर जताततै पहिरो गएर टोली असफल भएछन् । बुवाबाट गाउँमा सबैले चिन्ने भएकाले पनि होला बुबाबाट केही सहयोग पाउने आशाले फोन गर्नु भएको रहेछ । बुवा मम्मीलाई लगभग ३० मिनेटसम्म फ़ोन गर्दा नउठे पछि दिदी र म पनि आत्तियौँ के गर्न सकिन्छ ? खोजिरह्यौ विकल्प दिदीको फोन अफ, घर अगाडीको दाईलाई फोन लगायौँ त्यो पनि उठेन । डर र सातो सप्पै पहिरो बनेर आयो । हामी यति अत्तालियौँ कि बरु मरे पनि परिवारसंगै मर्न पाईयोस भनेर माथी घर हिड्यौँ । आफै जान बाहेक केही विकल्प नदेखिएपछि हामी नै माथी डाँडामा जाऔ भन्यौँ । हामी तल घरबाट डाडांमा जान ५/७ मिनेट जति लाग्थ्यो दिदि बहिनीले नै एउटा हातमा मोवाइलको लाईट अँध्यारो,हिलो बाटोलाई केही उज्यालो पार्दै र अर्को हातमा छाता समाउँदै अघि बढ्युँ । पानी अघि भन्दा केही कम भएकोले हिँड्न त्यति गाह्रो भएको थिएन । घर देखि अलि पर पुग्दा पहिरो झरेको रैछ । त्यो बाटो २ महिना अघि डोजर बाटो बनाउँदै गएको थियो । जेठ महिनाकै पानीले सानों ढिस्को झरेको थियो ।

घरअघि पुगेर सटर बजाउँदै मम्मी बुवा भन्दै बोलायौँ । कोही बोल्नुहुन्न, घर पल्तिर हुने फुफु निदाउनु भएको रैनछ । ’के भयों यस्तो पानीमा कसरी आयौ भन्दै हुनुहुन्थ्यो’ । त्यति बेला सम्म ३ बजिसकेको थियो । पानी कम परेपछि भर्खर पहिलो निद्रामा पर्नु भएछ धेरै बेरमा थाहा पाउनुभयो भित्र गएपछि बल्ल अघि देखिको पिडा आँशुबाट झार्दै मम्मीलाई सुनाएँ । धन्न बाँचेर आएछौ “छोरा” हो, यस्तो पानी अनि चट्टयाङ सबै मरिन्छ जस्तो भयो । अघि भर्खरसम्म निदाएको थिइन, भर्खर भुसुक्क निदाएको राइछु । निद्रालाई सराप्दै हुनुहुन्थ्यो, हामी आएको थाहा नपाएकोमा । “म पनि साढे २ बजे सम्म त थपक्क गायत्री मन्त्र जप्तै भगवानको नाम लिदै बसेको थिएँ”, बुबा भन्दै हुनुहुन्थ्यो ।

एकछिनसम्म त पुन: जन्म पायौँ हामी बाँच्न खुसी साथ भेट्न पायौ भन्दै बस्यौ । सबै डराई डराई सुत्ने प्रयास गर्यौँ । हिजो राती बविता आज नै मरिने भयों भनेर दुखी हुदै बोलेको स्वर बाट नै बिहान ६ बजे बविता उठ हिँड तल घरमा गएर सुतौँला दिदी भन्दै थियो । नाई म यही सुत्छु भन्दै नउठेको तल कसैले “झन हेर त जेठी भाउजुको घर पछाड़ी सब झरेको छ“ कानमा पर्यो । जुरुक्क उठेर घर पल्तिर जेठी भाउजुको घर हेर्न गएको दलानबाट नै आधा गएछ । डाडांमा चौरभरी केवलको तार जलेर टुक्राटुक्रा । यस्सो उता जादां कसैको घरको सुरबाट कसैको गोठ छैन रात भरको त्यति ठुलो पानी । पहिरो त धेरै अब खस्छन भन्दै दिदी म मम्मी तल घर झर्यौ । हिजो आफु गडेको बाटो पुगेर माथी हेर्दा ठुल्दाईको घरमुनिको बारी बाट ४ वटा बारी सोर्दै त्यो बाटोमा आएर बाटो मुनि पनि पल्तिर दिदीको ४/५ वटा बारी मकै कोदो सहित तल तीजुखोला पुराएछ । बारी थियो कि ढुंग्यान भीर छुट्ट्याउन सकिने अवस्थामा थिएन । त्यतिबेला बल्ल मनमा डर आयो राती यो बाटो कसरी गयौँ होला ।

घर पछाडिबाट पल्लाघर मास्तिर गयौँ, कर्सामा घर माथीको बारी आएर थुप्रीएछ । त्यतै देउरालीबाट अलि पर गएको मल्दी झन हर्पुकोट भन्दा बर्वाद पारेको रहेछ । कसैको गोठ छैन, कसैको घर । हिजोसम्म खेतीपातीले भरिएका बारी माटोको थुप्रो बाहेक केही देखिन्न । क्षती नभएको एउटा घर छैन । भएकाहरुको पनि पहिरोले घेरेको छ । जोखिमको कारणले बस्नै नसकिने छन्, बिजोग छ । १९ गते मनले केही गर्नै सकेन, सब सगैं बसे हुन्थ्यो कोही कतै आफ्नो अघि देखेन भने डर लाग्थ्यो ।

दुइटा बच्चाको ज्यान गएछ एउटा १२ वर्षकी नानी आमासँगै घर बगाउन लाग्यो भनेर भाग्न खोज्दा आमाकै हातबाटै पानीले खोसेछ । आमालाई रुखले च्याँपेछ । बिहान १० बजेतिर बल्ल उद्दार भएछ । त्यस्तै अर्को १८ महिनाको बच्चा पनि आमासँगै सुतेको गोठ नै बगाएछ । आमा पनि घाइते हुनुहुन्छ सबैमा सिघ्र स्वास्थ्य लाभको कामना ।
केही नगरी दिन वित्यो ३/४ बजेतिर हेलिकप्टरले घाइतेको उद्दार गर्यो, राहत पनि ल्यायो । दिनभर भारी मन भयो, पानी नपरोस भन्ने कामना गर्नु सिवाय केही गर्न सकिएन । बुवा जानुभाको घुँडासम्मको कपडा हिलैहिलो देख्दा नै त्यताको अवस्था बुझ्न काफी थियो । सुन्दा मन थाम्नै सकिएन ।

पहिरो गएपछिको बिहान झन जानेहरु कसरी जानुभए होला सोच्न पनि नसकिने । ४ दिनपछि जाँदा सम्म त्यो बीचमा पानी नपर्दा पनि अवस्था एकदम बिजोग नै थियो । कम प्रभावित क्षेत्र भनिएको ठाउँमा त विजुली आज २५ गते बल्ल आएको छ । जुन बढी प्रभावित क्षेत्र छ फोन लाग्दैन जोखिम घरमा हुनुहुन्छ के कस्तो अवस्थामा हुनुहुन्छ अप्ठ्यारो भिर धाएरै जानुपर्छ । सुचना संचार माध्यमबाट टाढिन बाध्य अवस्थामा उहाँ हरु आपत्कालीन अवस्थामा सहयोगबाट वन्चित हुनु नपरोस ।

बाटोमा हिँड्दा बिजुलीका पोल देख्दा सबै सहज हुँदै गए बिजुली पुग्न कम्तीमा कम्तीमा पनि ४/६ महिना लाग्छ होला । जताततै भिर बनेको छ १/२ वटा मात्र भए पो छिट्टै बन्ने आश गर्न हुन्थ्यो । बाटो, घर-गोठ, खेत-बारी, धारा, कुलो कुलेसो जे हेर्यो सबै बिरक्त लाग्दो । जे हेर्यो उस्तै, पुनर्निर्माणमा महिनौँ लाग्ने आँकलन गर्न गार्है नपर्ने । मन अझै सम्म स्थिर छैन सानो पानी पर्दा पनि यसै अतालिन्छ । त्यही पहिरोले जोखिम घरमा बस्नेहरुको झन् हप्तादिन देखि निद्रा खोसिएको छ । उहांहरुलाई ढुक्कसगंको बास निद्रा आधारभुत आवश्यकता छिट्टै फिर्ता ल्याइयोस् । जनप्रतिनिधी र राज्यको अभाव पिडामा परेका जनताले कहिल्यै महशुश गर्ने अवस्था नआओस् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker