समाचार

गुल्मी कांग्रेस हिँडेको बाटो

दमाई बस्तीको नाम फेरेर कालिका बस्ती बनाउँदै

शोभा शर्मा
काठमाडौं, जेठ ११ । केन्द्रमा पार्टी हाँक्ने नेताहरू चुनावी हार र अगाडिको बाटोलाई लिएर झगडामा व्यस्त छन्। गुल्मी जिल्ला कांग्रेसले भने आफू हिँड्ने बाटो पहिल्याइसकेको छ- जनताको दैलो पुग्ने बाटो।

फागुनको अन्तिम साता जिल्ला सभपति भुवन श्रेष्ठले सचिव खिलध्वज पन्थीलाई आफ्नो घर बोलाए।

चुनावी हारले कार्यकर्ता निराश थिए। के गर्दा पार्टीका ‘इन्जिन’ कार्यकर्तामा छाएको निराशा हटाएर चलायमान बनाउन सकिन्छ भन्नेबारे उनीहरूले लामो छलफल गरे।

कांग्रेसलाई समाज र आमनागरिकसँग नजोडी हुन्न भन्नेमा दुबैजना एकमत थिए। सर्वसाधारणसँग कांग्रेसको साइनो छुटेरै हारिएको हो भन्ने पनि साझा निष्कर्ष थियो।

अब के गर्ने त?

उनीहरूसामू दुइटा बाटा थिए।

एउटा, केन्द्रीय तहबाट आउने निर्देशन र कार्यक्रम कुर्ने। दोस्रो, आफ्नो बाटो आफैं पहिल्याउने।

पहिलोबाट आशै थिएन। आश नभएको कुराको भर पर्नु भएन। उनीहरूले दोस्रो बाटो रोजे।

आर्थिक/ सामाजिक हिसाबले सबभन्दा पिछडिएका सर्वसाधारणको हितमा अब कांग्रेसले काम गर्नुपर्छ भन्ने सभापति श्रेष्ठको विचार थियो। सचिव पन्थीले भने— अब गाउँगाउँ पस्नुपर्छ।

दुबैको कुरा मिल्यो। उपाय पनि सुझ्यो।

फागुन २७ गते जिल्ला समितिको बैठक डाकेर प्रस्ताव राखे— ‘गाउँ जाउँ, गाउँमै रमाउँ’ महाअभियान सुरू गर्ने। प्रस्ताव पास भयो।

‘जनताको दैलोमा कांग्रेसलाई पुर्‍याउने अभियान हो। कांग्रेसको अबको बाटो यही हो भन्ने हामीलाई लाग्यो, साथीहरू सबैले सहमति जनाउनु भयो,’ सचिव पन्थीले सेतोपाटीसँग भने, ‘ संगठनात्मक र सामाजिक सुधारका लागि यो महाअभियान गरेका हौं।’

५० दिनसम्म के काम कसरी गर्ने भन्ने सामुहिक सल्लाह भयो। कार्यक्रमहरु तय भए।

वैशाख १ गतेदेखि अभियान सुरू भयो।

यो अभियाननको मुख्य ध्येय कांग्रेसको संगठन विस्तार र पार्टीलाई दलित समुदायसँग जोड्ने हो।

अभियानको पहिलो साता जिल्ला संगठनमा पदपूर्ति गर्ने काम गरे। भातृसंगठन र विभिन्न विभागको बैठक राखे। तिनलाई पूर्णता दिए।

दोस्रो साता खबरदारी सभा गर्ने कार्यक्रम थियो।

मुसिकोट नगरपालिकामा- २का १० घर थिए। अन्त खानेपानी पुगे पनि ती १० घरमा खानेपानीको पाइपसमेत पुगेको थिएन।

अभियानको छेको पारेर पुगेका कांग्रेस नेताले पहिले त्यहाँका आफ्ना सदस्यलाई भेला पारे। त्यसपछि स्थानीयलाई बोलाए।

स्थानीय सरकारका प्रतिनिधि बोलाए। समस्या राखे। समाधानबारे छलफल गरे। मेयरलाई छिट्टै खानेपानीको योजना त्यहाँ पुर्‍याउने वाचा गराएर फर्किए।

‘ती १० घर खानेपानीबाट बञ्चित थिए, हामी गएर स्थानीय सरकारसँगै कुरेर आएका छौं,’ सचिव पन्थीले भने, ‘मुसिकोटममा मात्र होइन जिल्लाभरि नागरिकले पाउनु पर्ने सुविधाका बारे स्थानीय सरकारलाई यसरी नै सचेत गरायौं।’

खबरदारी सभा कार्यक्रममा उनीहरूले जनताका दु:खमर्का बुझ्ने र समाधान खोज्ने कामका साथै सरसफाइ अभियान पनि चलाए।

कहिँ पानीको मुहान सफा गरे त कहिँ मन्दिर र बाटो। अनि हरेक वडामा एउटा वीपी चौतारा बनाए।

‘हामीले हरेक वडामा एकएक वटा वरपीपल रोपेका छौं, अरू रचनात्मक काम पनि यही बेला गर्यौं जसले हाम्रा कार्यकर्तामा केही गर्ने जोस आएको छ, चुनावमा भएको हार बिर्सिन सजिलो भएको छ,’ उनले भने।

तेस्रो काम थियो, दलित बस्तीमा श्रम शिविर।

जिल्ला समितिका पदाधिकारी, जिल्लाका भातृसंगठनका नेतृत्व, महासमिति सदस्य, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, नगर/गाउँका सभापति को भेला गरेका थिए।
gulmi congress
गुल्मी जिल्लाका नगरपालिका र गाउँपालिकामा जम्मा ९३ वटा वडा छन्। सबै वडाका दलित बस्तीमा एक जना जिल्लास्तरीय नेता जाने निर्णय भयो।

त्यहाँ गएर के गर्ने भन्ने पनि तय थियो।

वस्तीको एउटा घरमा जाने। परिवारको सदस्य जसरी सात दिन बस्ने। जे पाक्छ त्यही खाने। जे काम पर्छ, त्यही गर्ने।

‘यस्तो विधिले हामीलाई धेरैथरी काम एकैचोटी गर्न सजिलो भयो। सबभन्दा ठूलो कुरा त नेताहरूले दलितको घरमा बस्दा छुवाछुतविरूद्ध चेतना फैलिने भयो, नेतालाई पनि दलितका समस्या बुझ्न सजिलो भयो,’ उनले भने।

उनी आफैं वाग्ला गाउँ पुगे। स्थानीय वसन्त सुनारको घरमा उनले बास मागे।

बसन्त सुनार पुर्खौली पेशा आरन चलाउँदैनथे। घर बनाउने डकर्मी थिए। उनकी श्रीमती सीता घरको काम गर्थिन्। उनलाई आधा घन्टा हिँडेर खानेपानी लिन जानुपर्थ्यो।

कांग्रेस सचिव पन्थीले आधा घन्टा टाढाको कुवाबाट पानी ल्याइदिएर सीतालाई सघाए।

यसअघि कहिलै कोही नेता आफ्नो घरमा बस्न नआएकोले उनी आएर सँगै बस्दा आफूहरूलाई रमाइलो लागेको सीता र उनका श्रीमान् वसन्तले बताए।

‘हामीलाई खुब राम्रो लाग्यो। आधाघन्टा टाढाबाट पानी ल्याइदिनु भयो। हाम्रै घरमा पाकेको खान हिचकिचाउनु भएन। उहाँ जानेबेलामा त नरमाइलो पो लाग्यो,’ सीताले भनिन्।

वाग्ला गाउँमा ४०/५० परिवारको दलित बस्ती छ। स्कुल /क्याम्पस जाने उमेरका केटाकेटी कमाउन दिल्ली पुगेका छन्। नजिकै स्कुल त छ तर ड्रेस र किताब किन्ने पैसा नभएर धेरैले छोराछोरी स्कुल पठाउन सकेका छैनन्। १२ जना केटाकेटी त कहिलै स्कुल नै नगएको पन्थीले फेला पारे।

‘दलितहरू पिछडिएका छन् भन्ने त पहिलेपनि थाहा थियो, तर घरगाउँमै बसेर अनुभव लिएको पहिलो पटक हो,’ उनले भने, ‘हामीले यो अभियानमार्फत् उनीहरूका दैनिकीसँग पार्टीलाई जोड्न खोजेका हौँ। अब उनीहरूलाई सुविधा दिलाउन राज्यसँग पहल गर्छौं’

आफ्नो अभियानमा सामेल हुन उनीहरुले केन्द्रीय नेताहरूलाई पनि बोलाएका थिए।

बुधवार गुल्मी पुगेका केन्द्रीय सदस्य चन्द्र भण्डारीले यो अभभियानले कांग्रेसका कार्यकर्तामा उत्साह ल्याएको बताए।

उनले भने, ‘आर्थिक सामाजिक विकासमा गुल्मीलाई नमूना जिल्ला बनाउने हाम्रो अभियान हो यो। यसले कार्यकर्तामा उत्साह भरेको छ।’

सात दिन दलित बस्तीमा बसुन्जेल नेताले कांग्रेसको संगठन नभएको ठाउँमा निर्माण गर्ने, भएको ठाउँमा कार्यकर्ता भेला राख्ने, प्रशिक्षण दिने काम गरे। गाँउ/गाउँ पुगेर आफ्नो पार्टीका प्रतिनीधिहरुलाई स्थानीय सरकारमा सशक्त प्रतीपक्षको भूमिका कसरी निभाउने भनेर सिकाए। आफ्नो पार्टीले जितेका ठाँउमा कसरी प्रभावकारी काम गर्ने भनेर सिकाए।

यसरी दलित बस्तीमा नेताहरू गएको खबर थाहा पाएका केहीले सामाजिक सञ्जालमा लेखे – दलित बस्तीमा एक्लै गएर बस्न त जो पनि सक्छ। हिम्मत छ भने आफ्नो घरको भान्सामा दलितलाई ल्याऊ।

यस्तो सुनेपछि उनीहरुले दलितलाई घरमा भित्र्याउने कार्यक्रम पनि राखे। गैरदलितको भान्सामा दलितलाई खुवाउने ‍अभियान जारी छ।

तेस्रो सातासम्म काम गरेपछि सबै स्थानीय तहका सभापति भेला भएर अभियानको समीक्षा गरे।

पाँचौं साता गाउँगाउँमा कांग्रेस मतदाता र कार्यकर्तालाई प्रशिक्षण दिए। कार्यकर्ता विस्तार गर्न कतिलाई पार्टी प्रवेश गराए।

मंगलबार पन्थी कालिगण्डगी गाउँपालिकाको वडा नम्बर २ मा थिए। वडाका कांग्रेस प्रतिनिधि होमबहादुर बुढाको घरमा ४ जना दलितहरूलाई ल्याएर भान्छामा सँगै खानाखाएको उनले बताए।

त्यही दिन उनीहरूले अरू दुइटा काम पनि गरे। दलित र गैरदलितले सँगै गाउँको सिद्धबाबा मन्दिरमा पूजा गरे।

अनि, त्यहाँको एउटा टोलको नाम परिवर्तन गरे। ‘दमैटोल’ भनेर चिनिएको ठाउँको नाम परिवर्तन गरेर बसपार्क टोल राखे।

केन्द्रीय सदस्य तथा गुल्मीकै पूर्वसांसद भण्डारी बिहीबार वाक्सा गाउँको हर्मीचौर पुगेका थिए। त्यही दिन उनीहरूले त्यहाँको ‘दमाइ बस्ती’ नाम फेरेर कालिका बस्ती राखे।

यस्तो सामाजिक सांस्कृतिक सुधार छैँठौं साताको काम थियो।

‘दलित गाउँलाई नै हेप्ने खालका नाम राख्ने चलन छ। त्यस्ता हेपाहा नाम परिवर्तन गर्ने हाम्रो अभियान छ,’ पन्थीले भने।

अभियानको सातौं साता उनीहरूले पुर्ख्यौली पेशा अपनाएका दलितलाई सम्मान गर्ने कार्यक्रम राखेका छन्।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D