समाचार

गुल्मीमा साढे दुई बर्षमा २३२ जना हराए

हुमाकान्त पोखरेल
१३ पौष, गुल्मी । रेसुङ्गा नगरपालिका १० की २० बर्षिया मिना पाण्डे रेसुङ्गा बहुमुखी क्याम्पसमा परिक्षा छ भन्दै मंसिर २४ गते घरबाट हिँडिन् । घर छोडेको १३ दिसम्म पनि सम्पर्कमा नआएपछि उनकी सासु छत्रदेवी पाण्डेले पौष ७ गते बुहारी हराएको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइन् ।

मुसिकोट नगरपालिका २ कि १७ बर्षिया मनिसा महत असार २९ गते माइत जान्छु भन्दै घरबाट हिडिन् । स्थानीय बिमल सुनारसँग अन्तरजातिय विवाह गरेकी महत सम्पर्कविहिन भएपछि चारदिनपछि श्रीमानले नै श्रीमाती हराएकोले खोजि गरिदिन भन्दै प्रहरी कार्यालयमा निवेदन दर्ता गरे । अहिले पाण्डे र महत मात्र होइन, जिल्लामा मानिस हराएका निवेदनको संङ्ख्यामा उल्लेख्य रुपमा बृद्धि भएको छ ।

साउनदेखि मंसिरसम्म ६३ हराए

जिल्ला प्रहरी कार्यालय गुल्मीमा यसैगरि मानिस हराएका उजुरीमा बृद्धि हुदँै गएको छ । आर्थिक बर्ष २०७५÷७६ को पछिल्लो पाचँ महिनामा मात्रै ६३ जना हराएका छन् । हराएकाहरुमध्ये सबैभन्दा धेरै महिला ३१ जना छन् । जुन कुल सङ्ख्याको ४९.२० प्रतिशत रहेको जिल्ला प्रहरी कार्यालयकी महिला तथा बालबालिका सेलकी प्रजयशोधा खनालले जानकारी दिइन् ।

त्यस्तै सात बालक, १३ बालिका तथा १२ पुरुष हराएको निवेदन पनि प्रहरी कार्यालयमा दर्ता भएका छन् । हराएका कुल ६३ जनामध्ये १९ जना अझै फेला परेका छैनन । जसमध्ये महिला १०, पुरुष छ र तिन बालिका बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हराएका बालिका भने सबै फेला परेका छन् ।

अघिल्लो दुई बर्षमा १६९ जना हराए

आर्थिक बर्ष ०७३÷७४ मा कुल ७९ जना मानिस हराएका छन् । जसमध्ये महिला ६२ जना, बालक ११ जना र बालिका छ जना छन् । हराएकामध्ये महिला २५, बालक र बालिका पाचँ÷पाचँ जना गरी ३५ जना सम्पर्कमा आएका छन् भने ४४ जना सम्पर्कबाहिर छन् । हराउनेहरुको सङ्ख्या आर्थिक बर्ष ०७४÷७५ मा बृद्धि भई ९० पुगेको छ । जुन अघिल्लो आर्थिक बर्षको भन्दा ११ ले बढी हो । ०७४÷७५ मा महिला ७०, बालिका ११ र बालक नौ जना हराएको तथ्याङ्क जिल्ला प्रहरी कार्यालयमा छ । जसध्ये महिला १२, बालिका पाँच र बालक चार जनामात्रै भेटिएका छन् । बाँकि ७९ जना अझैसम्म प्रहरी कार्यालयका यम खत्रीले जानकारी दिए ।

महिलाहरु १६ देखि २५ बर्षसम्मका बढी हराए

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी महिला हराएका छन् । तिमध्ये १६ देखि २५ बर्ष उमेर समूहका सबभन्दा बढी हराउने गरेको पाइएको छ । विवाह गर्दा भागेर जानु र माइती पक्षले हराएको भनेर उजुरी दिनु तथा भेटिएपछि प्रहरीको सम्पर्कमा नआउनु महिला हराउनुको प्रमुख कारण बनेको महिला तथा बालबालिका सेलकी खनालले बताइन् ।

त्यस्तै अधिकाशं पुरुषहरु रोजगारीको लागि विभिन्न ठाँउमा जाने र श्रीमती अर्कैसँग जानुले पनि महिला हराउनेको सङ्ख्यामा बृद्धि भएको हो । त्यसभन्दा बाहिर शारीरिक अपाङ्ग, मानसिक असन्तुलन, घरपरिवारको झगडा, सामाजिक अपहेलना आदि कारणले गर्दा पनि मानिसहरु हराउने गरेको प्रहरीले जनाएको छ । ।

भेटिएको जानकारी प्रहरीमा आउदैन

मानिस हराएको उजुरी प्रहरीमा आएपनि भेटिएपछि भने कुनै जानकारी नआउनुले पनि हराउनेहरुको सङ्ख्यामा बृद्धि भएको प्रहरीको निष्कर्ष छ । अहिले प्रहरी कार्यालयमा भागि विवाह, श्रीमान–श्रीमतीको झगडा लगायतका कारणले घर छोडेपछि पनि हराएको भन्दै उजुरी आउछन् । तर मानिस भेटिएपछि त्यसको सूचना प्रहरीमा आउदैनन् । ‘प्रक्रिया र ब्यवहारिकता हेरेर आएका निवेदन प्रहरीले दर्ता गर्नैपर्छ ।’ जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपक कुमार बस्नेतले भने, ‘हराएकामध्ये धेरै भेटिएका छन, तर प्रहरीमा जानकारी नहुँदा समस्या परेको छ ।’

सबैमा राष्ट्रियताको भाव जागृत गराउनुपर्छ

रेसुङ्गा बहुमुखि क्याम्पसका समाजशास्तका उप–प्रध्यापक गुणनिधी हराउने मानिसहरुको सङ्ख्यामा कम गर्न चेतनामुलक कार्यक्रम गर्नुपर्ने बताए । स्वदेशमै रोजगारको सिर्जना र जनतामा राष्ट्रियताको भाव जागृत गराउन सकेमा पनि बैदेशिक रोजगार कम हुने र त्यसले हराउने मानिसको सङ्ख्यामा कम हुने उनको भनाई छ । ‘स्वदेशी उत्पादनलाई बढावा दिने, सरकारी निकयाबाट कृषि जस्ता शिर्षकमा अनुदान र प्रोत्साहनको ब्यवस्था, जनचेतामा बृद्धि आदि जस्ता काम गरेमा रोजगारी सिर्जना हुन्छ ।’ उनले भने, ‘यसो भएसँगै परिवारमा मेलमिलाप हुन्छ र हराउनेहरुको सङ्ख्यालाई कम गर्न सकिन्छ ।’

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D