समाचार

गुल्मीमा प्रधानमन्त्री रोजगार कार्यक्रममा झण्डै चार करोड रुपैँया, यसरी छनौट गरिन्छ कामदार?

हुमाकान्त पोखरेल
गुल्मी, २३ जेठ । गुल्मीका प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगारी सृजना गर्न झण्डै चार करोड रुपैँया बजेट बिनियोजन भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकाको लागि तीन करोड ७१ लाख ६९ हजार रकम मन्त्रालयले स्थानीय तहमा पठाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टमा स्वकीय सचिव गणेश श्रीपालीले बताए । रेसुङ्गा नगरपालिकाको लागि ४१ लाख, मुसिकोट नगरपालिकाको लागि ३७ लाख र अन्य गाउँपालिकाहरुमा न्यूनतम २७ लाखदेखि अधिकतम ३१ लाखसम्म बजेट बिनियोजन भएको श्रीपालीले बताए ।

यो पनि पढ्नुस्: गुल्मीमा १५ हजार भन्दा बढीले दिए रोजगारीको लागि निवेदन: कुन स्थानिय निकायमा कतिको निवेदन?

झण्डै १७ सयले पाए रोजगारी

गुल्मीमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ धेरै स्थानीय तहले यो कार्यक्रम सुरु गरिसकेका छन् भने कतिपय स्थानीय तह संचालन गर्ने तयारीमा छन् । जिल्लाको धुर्कोट, मदाने, मालिका, इस्मा, मुसिकोट, चन्द्रकोट लगायतका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिसकेका छन् । केन्द्रिय सरकारले स्थानीय सरकारमार्फत बेरोजगारीको तथ्याङ्क संकलन गरेको थियो । जसमा जिल्लाका सबै स्थानीय तहका कुल १५ हजार तीन सय दुई जनाले बेरोजगार भएको फाराम भरेका थिए ।

यो पनि पढ्नुस्: गुल्मीमा व्यक्तिका गाेठ र बारीमा काम गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमका कामदार

गुल्मीमा सबै स्थानीय तहमा गरी कुल एक हजार छ सय ८३ लाई ३० दिनसम्म रोजगार प्रदान हुने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तरगत धुर्कोट गाउँपालिकामा एक सय ५० जनालाई रोजगारी दिइएको छ । जसमध्ये सडकमा ८१ जना, खानेपानी मर्मतका लागि १५ जना, कृषि र पशुपालनका लागि १५ जना, शिक्षामा १३ जना, स्वास्थ्यमा चार, सिँचाईमा १५ र विद्युतमा सात जनालाई लगाइएको सुचना अधिकारी इश्वरी भण्डारीले जानकारी दिए । इस्मा गाउँपालिकाले एक सय ३१ जनालाई रोजगार प्रदान गरेको छ ।

यो पनि पढ्नुस्: गुल्मीको दुर्गम गाउँमा पुगे अमेरिकन पर्यटकहरु, रमाए स्थानियसँगै (फोटोहरु)

रोजगार पाएका सबैलाई सडकको क्षेत्रमा काममा लगाइएको रोजगार संयोजक बाबुराम कुँवरले जानकारी दिए । छत्रकोट गाउँपालिकाले एक सय ३५ जनालाई रोजगारी दिएको छ । जसमध्ये धेरैलाई मन्दिर जाने पदमार्ग र सडक मर्मतमै खटाएको प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौड्यालले जानकारी दिए । मालिका गाउँपालिकाले पनि एक सय २६ जनालाई रोजगारी प्रदान गरेको छ । गाउँपालिकाले पनि सडक र सिंचाई मर्मतमै केन्द्रित भएर रोजगारी दिएको प्रवक्ता शोभाखर गिरीले बताए ।

जिल्लाका मुसिकोट नगरपालिकाले एक सय ६९ जनालाई रोजगारी दिएको छ । रोजगार पाएकाहरुलाई पोखरी निर्माण, चौपारी चिन्ने, बृक्षारोपण, घोडेटो बाटो निर्माणदेखि सरसफाईका काममा खटाइएको छ । नगरपालिका प्रमुख सोमनाथ सापकोटाले सवैजनालाई अनुशिक्षण मार्फत प्रशिक्षित गराएर काममा लगाइएको बताए । उनले समुहमा केहिलाई पुराना पोखरी मर्मत गर्ने, नयाँ निर्माण गर्ने, जिर्ण पुराना चौपारी मर्मत गर्ने र सार्वजनिक स्थल, बजार तथा सरकारी कार्यालय वरपर सरसफाईको जिम्मेवारी दिइएको जानकारी दिए ।

नर्सरी व्यावस्थापन, शिक्षक र नर्समा रोजगारी

मदाने गाउँपालिकाले भने नर्सरी व्यवस्थापन, शिक्षक र नर्समा रोजगारी दिएको छ । रोजगारीका लागि छनोट भएका एक सय ३४ जनामध्ये धेरैलाई नर्सरी व्यावस्थापनमा लगाइएको छ । त्यस्तै सिएमए पढेकी एक जनालाई वडा नं ७ भनभनेको स्वास्थ्यचौकीमा र आइए पास गरेका एक जनालाई सोहि वडाकै बालबोध प्राविमा शिक्षकको रुपमा एक महिना नियुक्त गरिएको प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारीले बताए । साथै सडक मर्मतमा पनि केहिलाई व्यावस्थापन गरिएको उनले बताए ।

जिल्लाको रेसुङ्गा नगरपालिकाले कुल एक सय ८५ जनालाई रोजगारी दिएको छ । भने चन्द्रकोट गाउँपालिकाले एक सय ३५ र मालिका गाउँपालिकाले एक सय २६ जनालाई रोजगारी दिएका छन् । कालिगण्डगी गाउँपालिकामा एक सय २२, गुल्मीदरबार गाउँपालिकामा एक सय ३५, रुरु गाउँपालिकामा एक सय २६ र सत्यवती गाउँपालिकामा एक सय ४० जनालाई रोजगार प्राप्त हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए ।

यो पनि पढ्नुस्: यस्तो देखियो रेसुङ्गामा हिउँ खेल्नेको भीड: पाल्पा र अर्घाखाँचीबाट समेत हिउँ हेर्न र खेल्न गुल्मीमा

कसरी छनौट गरिन्छ कामदार?

सबैजसो स्थानीय तहमा २०७५ चैत १ गतेदेखि वैशाख मसान्तसम्म वडा कार्यालयमार्फत बेरोजगारीको तथ्याकं संकलन गरिएको थियो । जसमा गुल्मीका १५ हजार तीन सय दुई जनाले फारम भरेका थिए । फारम भरेकाहरुमध्ये रोजगार सेवा केन्द्रको रोहवरमा सम्बन्धित वडा कार्यालयले श्रमिक छनोट गरेको थियो । जसमा निर्वाहमुखि कृषि गरिरहेको, वैदेशिक रोजगारबाट फर्केको, अति कम आम्दानी हुने तथा न्यून वर्गको आधारमा छनोट गरिएको चन्द्रकोट गाउँपालिकाका प्रमुख दोर्ण खत्रीले जानकारी दिए ।

श्रमिकको मजदुरी बैंक खातामा

सरकारले हरेक नेपालीको बैंक खाता हुने व्यवस्था गरेको छ । उक्त कार्यक्रमलाई ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ ले पनि सहयोग गर्ने भएको छ । किनकि श्रमिकहरुको मजदुरी खातामा जम्मा हुनेछ । जसका लागि प्रत्येक श्रमिकले आफ्नो स्थानीय तहमा रहेको बंैकमा खाता खोल्नुपर्ने छ । त्यसपछि गाउँपालिकाले उनीहरुको खातामै रकम जम्मा गरिदिनेछ । सरकारले विभिन्न नौ वटा क्षेत्रमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’अन्तरगतका श्रमिकलाई काम लगाउने छ । जसमा सडक मर्मत तथा निर्माण, कृषि, सिँचाई, ग्रामिण क्षेत्रका खानेपानीको योजना, स्वास्थ्य तथा सरसफाई रहेका छन् । त्यस्तै विद्यालयका भवन वा वगैचा निर्माण, बन तथा जलाधारको क्षेत्र, पर्यटनको क्षेत्र र स्थानीय आवश्यकताका आधारमा स्थानीय सरकारले निर्णय गरेका क्षेत्रहरुमा श्रमिक काममा जानुपर्ने इस्मा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।

नेपालको संविधानको धारा ३३ मा रोजगारिको हक उल्लेख गरिएको छ । जसमा रोजगारीका सर्त, अवस्था र बेरोजगार सहायता संघिय कानुनबमोजिम हुने, प्रत्येक नागरिकलाई रोजगारिको छनौट गर्न पाउने हक हुने उल्लेख गरिएको छ । यसै कुरालाई मध्यनजर गर्दै स्थानीय स्तरमै आन्तरिक रोजगारिको व्यवस्था गरिएको हो ।

समान ज्यालाले महिलामा उत्साह

धेरैजसो कामका क्षेत्रहरुमा महिलाको भन्दा पुरुषको ज्याला बढी हुने गर्दछ । तर प्रधानमन्त्री रोजगार कार्यक्रममा समान ज्यालाको व्यवस्था छ । जसले गर्दा महिलाहरुलाई काममा हौसला मिलेको छ । ‘काम एउटै तर ज्यालामा आधा फरक हुन्थ्यो ।’ इस्मा गाउँपालिका ६ कि संगिता गौतमले भनिन्, ‘यो कार्यक्रममा समान ज्याला रहेछ, खुसि लाग्यो ।’समान ज्यालाले गर्दा आफुहरुजस्ता महिलाहरुलाई काम गर्न पनि हौसला बढ्ने उनले बताइन् ।

स्थानीय तहको आफ्नै रोजगारी

अहिले संघिय सरकारले संचालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम एक महिनाको लागि हो । त्यसपछि अर्को बर्षबाट पुनः कार्यक्रम संचालन गर्ने जनाइएको छ । तर जिल्लाका कतिपय स्थानीय तहले आफ्नै तरिकाले रोजगारीको सिर्जना गरेका छन् । मुसिकोट नगरपालिकाले ९० जनालाई वैशाख १ गतेबाट लेन्थ वर्करको रुपमा रोजगारी दिएको छ । ०७६ को नयाँ बर्षको दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले उनीहरुलाई नियुक्ति पत्र प्रदान गरेका थिए । त्यसका साथै नगरपालिकाले ६८ जनालाई डकर्मी तालिम प्रदान गरेको र उनीहरु अहिले गाउँमै स्वरोजगार भएको नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताए ।

इस्मा गाउँपालिकाले पनि २० जना लेन्थ वर्कर नियुक्त गरी रोजगार प्रदान गरेको छ । १२ महिनाको लागि नियुक्त गरिएका लेन्थ वर्करले नियमित रुपमा सडकको क्षेत्रमा काम गर्ने गाउँपालिका प्रमुख लक्ष्मण विष्टले बताए । ‘निर्वाचनताका पनि रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता गरेका थियौँ ।’ उनले भने, ‘प्रतिवद्धता पुरा हुँदै गएको छ ।’ जिल्लाको धुर्कोट, मालिका लगायतका स्थानीय तहले विभिन्न तालिमहरु संचालन गरी आन्तरिक रोजगारीको सिर्जना गर्दै आएका छन् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker