gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

गुल्मीका सात पालिकामा भएन गठबन्धन

हुमाकान्त पोखरेल
गुल्मी, १४ वैशाख । गुल्मीका छ पालिकामा सत्तारुढ दलहरुबीच गठबन्धन भएको छैन । जिल्लाको रेसुङ्गा र मुसिकोट नगरपालिका, धुर्कोट, गुल्मीदरबार, छत्रकोट, कालिगण्डकी र इस्मा गाउँपालिकामा गठबन्धन भएको छैन । जिल्लाका १२ पालिकामध्ये पाँच पालिकामा मात्रै केन्द्रका सत्तारुढ दलहरुबीच चुनावी तालमेल भएको छ ।

धुर्कोट गाउँपालिकामा माओवादी केन्द्र र नेपाली काँग्रेसले गाउँपालिका अध्यक्षमा आ–आफ्नै अडान नछाडेपछि गठबन्धन भत्किएको हो । गाउँपालिकामा काँग्रेसबाट महेन्द्र भण्डारी र माओवादी केन्द्रबाट भुपाल पोखरेलले पालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । रेसुङ्गा नगरपालिकामा काँग्रेसले माओवादीलाई बेवास्ता गरेका कारण गठबन्धन नभएको नगर इन्चार्ज गीता थापाले बताइन् । पार्टीको तर्फबाट अशोक थापालाई नगर उप–प्रमुख र पाँच वटा वडामा वडाध्यक्षका उम्मेदवार बनाएको थापाले जानकारी दिइन् । ‘हामी नेतृत्वसँग निरन्तर सम्पर्कमा थियौँ ।’ उनले भनिन्, ‘अन्तत काँग्रेसले सम्झौता तोड्यो ।’ रेसुङ्गामा काँग्रेसको तर्फबाट जिल्ला सभापति खिलध्वज पन्थी मेयरका उम्मेदवार छन् ।

मुसिकोट नगरपालिकामा माओवादी केन्द्रको कारण गठबन्धन भत्किएको छ । काँग्रेसबाट नरहरी सापकोटा मेयर, एकीकृत समाजवादीबाट श्रीराम महत उप–मेयर र माओवादी केन्द्रलाई केही वडा दिने भनिएपनि माओवादी केन्द्रले वडा नम्बर ३ मा वडाध्यक्षको उम्मेदवारमा अडान नछोडेपछि गठबन्धन भत्किएको हो । माओवादीको तर्फबाट मेयरमा दुर्गा विक र उप–मेयरमा विष्णु खड्का ले उम्मेदवारी दर्ता गरेका छन् ।

इस्मा गाउँपालिकामा पनि माओवादी केन्द्र गठबन्धनमा समावेश छैन । काँग्रेसका भगत सिंह खड्का प्रमुख र पार्वता कुँवर उप–प्रमुखको उम्मेदवार छन् । माओवादीको केन्द्रको तर्फबाट बसन्त सुनार अध्यक्ष र बालिका बोहोरा उपाध्यक्षको उम्मेदवार छन्् । माओवादीले सबै वडामा वडा सदस्य माग गरेपनि दिन सम्भव नभएकोले तालमेल तोडेको काँग्रेस इस्मा गाउँ कमिटी सभापति कृष्ण रिजालले बताए ।

छत्रकोट गाउँपालिकामा माओवादी केन्दले अध्यक्षमा शिला पौडेल र उपाध्यक्षमा लोकनाथ पाण्डेलाई उम्मेदवार बनाएको छ । त्यहाँ काँग्रेसबाट अध्यक्षमा अनन्द पौडेल र उपाध्यक्षमा जनमोर्चाका गुमानसिहं पौडेल उम्मेदवार छन् । माओवादी र जनमोर्चाले धेरै सिट मागेकोले तालमेल सफल नभएको काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार पौडेलले बताए । तर अहिले पनि उम्मेदवार फिर्ता गराएर कार्यपालिका सदस्यमा मनोनित गर्नेगरी छलफल चलिरहेको पौडेलको भनाई छ ।

गुल्मीदरबार गाउँपालिकामा काँग्रेसका कारण गठबन्धन भएको छैन । काँग्रेसले माओवादीलाई वडा सदस्यमा पनि उम्मेदवार नदिएपनि गठबन्धन नभएको हो । कार्यपालिकामा दुईजना, बलिथुम र जुगुममा दुई÷दुईजना सदस्य एवम् अन्य वडामा एक÷एक जना सदस्य माओवादीले माग गरेपनि काँग्रेसले नदिएका कारण गठबन्धन नभएको माओवादी गाउँकमिटी उपाध्यक्ष शेर बहादुर सर्तुङ्गेले बताए । काँग्रेसको तर्फबाट सरोज थापा अध्यक्ष र तारा ढेगा उपाध्यक्षको उम्मेदवार छन् । त्यस्तै माओवादी केन्द्रबाट शेर बहादुर सर्तुङ्गे अध्यक्ष र शिखा रेश्मी उपाध्यक्षको उम्मेदवार छन् ।

कालिगण्डकीमा माओवादी केन्द्र नै विभाजित भएको छ । गठबन्धनमा पार्टीको तर्फबाट एउटा वडामा अध्यक्षको उम्मेदवार छन् । एमालेसँगको तालमेलमा माओवादी केन्द्रको तर्फबाट मन्जु दर्लामी सूर्य चिन्हबाट उपाध्यक्षको उम्मेदवार छिन् । अझै पनि उम्मेदवारी फिर्ता गर्ने समय रहेकोले नमिलेका पालिकाहरुमा गठबन्धन जोगाउने प्रयास भइरहेको माओवादी केन्द्रका जिल्ला संयोजक बुद्धि जिसीले प्रतिक्रिया दिए ।

पाँच पालिकामा तालमेल

जिल्लाका पाँच पालिकामा मात्रै सत्तारुढ दलहरुबीच गठबन्धन भएको छ । जिल्लाको मालिका, मदाने, रुरुक्षेत्र, सत्यवती र चन्द्रकोटमा मात्रै तालमेल भएको हो । सबैभन्दा पहिले मालिका गाउँपालिकामा तालमेल भएको थियो । गठबन्धनबाट माओवादी केन्द्रका देविराम अर्याल अध्यक्ष र काँग्रेसका उपेन्द्र अर्याल उपाध्यक्षका उम्मेदवार छन् । त्यस्तै दुईवटा वडा माओवादी केन्द्र र छ वटा वडा काँग्रेसले पाउनेगरी सहमति भएको छ । रुरुक्षेत्र गाउँपालिकामा माओवादी केन्द्रका यदु ज्ञवाली अध्यक्षका उम्मेदवार छन् । चन्द्रकोट गाउँपालिकामा माओवादी केन्द्रकै युवाज केसी र मदाने गाउँपालिकामा काँग्रेसका महेन्द्र कुँवर गठबन्धनबाट अध्यक्षका उम्मेदवार छन् ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D