बिचार

कोरोना नियन्त्रणमा तीन तहका सरकारका काम

हुमाकान्त पोखरेल
अहिले सिङ्गो विश्व कोरोनाले त्रसित छ । अहिलेसम्म झन्डै ६० हजार मानिसको मृत्यु भईसकेको छ । लाखौं मानिसहरु मृत्युसँग जुधिरहेका छन् । सामान्य सर्वसाधारण मात्र होइन, कोरोना रोग पत्ता लगाउने डाक्टरले समेत कोरोनाकै कारण ज्यान गुमाउनुप¥र्यो । अझै पनि विश्वका हजारौं स्वास्थ्यकर्मी समेत कोरोनाको उच्च जोखिममा छन् ।

कोरोना हाम्रो छिमेकी देश चीनबाट सुरु भएको सर्वविदितै छ । पछि भारत हुँदै पानीजहाज र कैयौं देशहरुमा यो भाइरस फैलिसकेपछि विश्व स्वास्थ्य संगठनले समेत नेपाल उच्च जोखिममा रहेको भन्दै सचेत हुन आग्रह ग¥र्यो । हाल नेपालका पाचँजनालाई कोरोनाले छोइसकेको छ । सरकारले कोरोना नियन्त्रणको लागि काम गरेको जनाएको छ । जसले गर्दा अहिले नागरिकहरुले नेपालका तीन तहका सरकारको कामको मुल्याकंन गर्ने बेला भएको छ ।

संघिय सरकारका आशालाग्दा काम

संघिय सरकारले कोरोनाको नियन्त्रणमा केहि महत्वपूर्ण कदमहरु चालेको छ । सरकारले सर्वप्रथम चीनबाट नेपाली विद्यार्थीहरुको उद्धार गरी स्वदेशमै १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलायो । यो विषयले आम नेपाली नागरिकहरुमा सरकारप्रति सकारात्मक धारणा निर्माण भयो । सरकारले अघिल्लो दिन एसईई स्थगित गर्ने निर्णय ग¥र्यो । तत्कालिन समयमा धेरैले सरकारप्रति धेरै किसिमबाट धारणा बनाएपनि अहिले भने सरकारको निर्णय सहि सावित भएको छ । सरकारले समयमै गरेको निर्णयबाट अहिले लाखौं नागरिक संक्रमित हुनबाट जोगिएका छन् । सरकारले सबै सिमा नाका बन्द गर्ने निर्णय ग¥र्यो । साथै अन्तराष्ट्रिय हवाई उडान पनि बन्द ग¥र्यो । यो कोरोना नियन्त्रणका लागि गरिएको महत्वपूर्ण काम हो ।

सरकारले नागरिकका लागि सिङ्गो नेपाल ‘लकडाउन’ गर्ने निर्णय ग¥र्यो । यो निकै चुनौतिको विषय थियो । तर सफल भयो । अहिले संसारका धेरै मुलुक ‘लकडाउन’ मा छन् । नेपालमा पिपिई लगायतका स्वास्थ्य सामग्रीको अभाव थियो । जसले गर्दा स्वास्थ्यकर्मीहरुमा निराशा छाएको थियो । तर सरकारले ढिलै भएपनि खरिद गरेर राम्रो काम गरेको छ । त्यस्तै घर–घरमै खाद्यान्न, निजि विद्यालयहरुलाई एक महिनाको शुल्क मिनाहा गर्न आग्रह, घरबेटीलाई एक महिनाको भाडा छुट गर्न आग्रह, व्याजदर, शुल्क छुट लगायतका थुप्रै विषयहरुमा सरकारले राहतका कार्यक्रम घोषणा गरेको छ । जुन सकारात्मक र नागरिकको पक्षमा छन् ।

संघिय सरकारले गर्न नसकेका काम

देशमा कोरोनासँग जुध्नको लागि प्रशस्त समय थियो । तर पनि सरकारले कतिपय कुराहरुमा ढिलाई गरेको छ । जसले गर्दा जनतामा निराशा छाएको छ । छिमेकी राष्ट्र चीनमा कोरोनाको पुष्टि हुँदा नेपालले त्यससम्बन्धि पूर्व तयारी गरेन । गर्नुपथ्र्यो । यो जनताका लागि सानो काम गरेर मन जित्ने समय हो । सरकारले कोरोना संक्रमित मुलुक भारतबाट आउने श्रमिकहरुको व्यवस्थापन गर्नेसम्बन्धि कार्यविधि बनाउनुपथ्र्यो । बनाएन । जसले गर्दा भारतबाट आएका मजदुर नेपालका गाउँगाउँ पुगेका छन् । आम नागरिकमा त्रास फैलिएको छ । चीर र भारतमा कोरोना फैलिदा नै नेपालमा क्वारेन्टाइन निर्माण र संचालनसम्बन्धि कार्यविधि बनाउनुपथ्र्यो । तर ढिला ग¥र्यो । अहिले सरकाले चीनबाट स्वास्थ्य सामग्री ग¥र्यो । तर अनियमितता भएको समाचार आए ।

विपद्को यो समयमा स्वास्थ्य सामग्री खरिदमा कमिशनतिर लाग्नु असल नेतृत्व होइन् । नेपालका जिम्मेवार मन्त्रीहरु नै मनलाग्दी बोल्दै हिँडे । स्वयं स्वास्थ्य मन्त्रीले मिडिया र नागरिक भन्दा घरमा आएका पाहुनालाई महत्व दिने अभिव्यक्ति दिनु, पर्यटनमन्त्रीले ‘नेपाल कोरोना फ्रि’ देश हो भन्नु गलत थिए । त्यस्तै सरकारले प्रदेश र स्थानीय तहसँग पनि समन्वय गरी काम गर्नुपथ्र्यो । अहिले कोरोनाको डरमा थुप्रै निजि अस्पतालहरुले बिरामीहरुको उपचार गरेका छैनन् । एम्बुलेन्स लगायतका थुप्रै सामग्री खरिदमा राज्यबाट भन्सार छुट लिने तर विपद् पर्दा सहयोग नगर्ने अस्पतालहरुलाई कारवाहि गर्नुपथ्र्यो । अझै पनि समय छ, त्यस्ता अस्पतालहरुलाई छिटोभन्दा छिटो कारवाहि गरियोस् ।

प्रदेश सरकारले गरेका आशालाग्दा काम

यो समयमा प्रदेश सरकारले पनि केहि महत्वपूर्ण कार्यहरु गरेको छ । मजदुर तथा विपन्न वर्गका लागि कोष स्थापना गर्ने महत्वपूर्ण काम प्रदेश सरकारले गरेको छ । सबैजसो प्रदेशमा प्रदेश सरकारकै पहलमा कोरोना विशेष अस्पताल स्थापना भएका छन् । त्यस्तै आफ्नो प्रदेशभित्रका अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन पहल गरेका छन् । जुन सकारात्मक छ । प्रदेश सरकारको यो कार्यलाई अझै तिब्रता दिनुपर्ने देखिन्छ ।

प्रदेश सरकारले गर्न नसकेका काम

आम नागरिकहरुले प्रदेश सरकारको काम नबुझिरहेको यस अवस्थामा राम्रो समन्वयमार्फत आफ्नो अस्तित्व माथि उठाउने अवसरको रुपमा लिनुपथ्र्यो । तर त्यस्तो गरेको पाइएन् । सिमानाकामा अलपत्र नेपालीहरुको उद्धार गर्न संघिय सरकार नै कुर्नुपर्दैनथ्यो । अलि छिटो गर्नुपथ्यो । तर गरेन । समयमै पर्याप्त मात्रामा क्वारेन्टाइनको स्थापना गर्न तथा जिल्लास्तरमा रहेका प्रदेश मातहतका कार्यालयहरुलाई परिचालित गर्नमा पनि प्रदेश सरकारको निरिहतापन देखियो । भने आवश्यक स्वास्थ्य सामग्री ल्याउन प्रदेश सरकारले केन्द्र सरकारकै बाटो हेरेर बसे । जसले गर्दा कोरोना विशेष अस्पतालमा नै स्वास्थ्य सामग्रीको अभाव देखियो ।

स्थानीय तहले गरेका काम

जनताको नजिकको सरकारको रुपमा स्थानीय तह मानिन्छ । स्वभावैले प्रदेश र संघभन्दा स्थानीय तहको जिम्मेवारी बढी हुने गर्दछ । यो विपद्को समयमा स्थानीय तहले पनि आशालाग्दा काम गरेका छन् । स्थानीय तहले आवश्यक स्वास्थ्य सामग्रीको अभाव हुँदाहुँदै पनि स्वास्थ्यकर्मीको परिचालन गरेका छन् । देशका विभिन्न शहर तथा देश बाहिरबाट आउनेहरुको तथ्याङ्क संकलन गरेका छन् । जसले गर्दा कोरोना नियन्त्रणमा केहि सहज हुनेछ । सबैजसो स्थानीय तहले हेल्थ डेक्सको स्थापना गरेका छन् । स्थानीय तह आफैले विपन्न नागरिकका लागि कोषको सुरुवात गरेका छन् । विपन्न तथा मजदुर परिवारको तथ्याङ्क संकलन गरेका छन् भने केहिले गर्दै छन् । त्यस्ता परिवारको लागि राहतस्वरुप खाद्यान्न सामग्री वितरणको सुरुवात गरेका छन् । जनतामा निराशा छाएको यो अवस्थामा राहत वितरण सकारात्मक कार्य छ । स्थानीय स्तरमा सचेतनामुलक कार्यक्रम संचालन भइरहेका छन् । संचार माध्यम, स्वयम्सेवक तथा स्वास्थ्यकर्मीको परिचालनमार्फत धेरै जनचेतनाका कार्यहरु गाउँ–गाउँसम्म पनि पुगेका छन् । संघिय सरकारले घोषणा गरेको लकडाउनको पूर्ण कार्यान्वयनमा स्थानीय तहले ठुलो भुमिका खेलेका छन् । अहिले सबैजसो स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गरेका छन् । पर्याप्त क्वारेन्टाइन नभएको समाचार आइरहदाँ स्थानीय तहको यो कार्य सहनिय छ । भने क्वारेन्टाइनमा बसेकाहरुको पनि राम्रो व्यवस्थापन भइरहेको छ । स्थानीय तहले जनतालाई सरकारको अनुभुति दिलाउने कार्यमा अग्रसरता देखाएका छन् ।

स्थानीय तहले गर्न नसकेका काम

जनताका धेरै काम स्थानीय तहबाट सम्पादन हुन्छन् । त्यसैले गर्दा पनि नागरिकले स्थानीय तहबाट धेरै आशा गर्नु स्वभाविकै हो । स्थानीय तहले धेरै राम्रा काम गर्दागर्दै पनि केहि गर्न सकिने काम पनि गर्न सकिरहेका छैनन् । सबैजसो स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिएतापनि बाहिरबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्नुपथ्र्यो । राखेनन् । अब ढिलो भइसक्यो । बाहिरबाट आएकाहरुको तथ्याङ्क संकलनमा पनि ढिलाई भएको छ । स्थानीय तहहरुले एक–अर्काबीच समन्वय गर्न नसक्दा केहि समस्या उत्पन्न भएको छ । भने अहिले नागरिकहरुलाई खाद्य समग्री वितरणमा पनि ढिलाई भएको छ ।

निष्कर्ष,

हामी सहजै के अनुमान गर्न सक्छौ भने, यदि कोरोना फैलिएको समयदेखि नै देश बाहिरबाट आउने मानिसहरुलाई आवश्यक समयसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था सरकारले मिलाउथ्यो भने अहिले यो परिस्थितिको सामना गर्नुपर्ने थिएन । केहि कामहरुपमा नेपाली नेतृत्वप्रती गर्व गर्ने ठाउँ छ भने कतिपय विषयहरुको निर्णय क्षमतामा नेतृत्वलाई प्रश्न उठाउने ठाउँ प्रशस्तै छन् । अहिले सिङ्गो देश लकडाउनमा छ । यो समयमा विगतका कुराहरुलाई सम्झेर मनोबल गिराउनुभन्दा आगामी कार्यदिशा तय गर्नु नै उत्तम हुन्छ । त्यसैले लकडाउनको पूर्ण रुपमा कार्यान्वयन गरौं । कोरोनाबाट आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ ।

(लेखक पोखरेल आधा दशकदेखि गुल्मीमा पत्रकारितामा क्रियाशिल छन् ।)

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D