बिचार

कोरोनाले उदाङ्गिएको नेपालको स्वास्थ्य प्रणाली

महेन्द्र भण्डारी
अहिले कोरोना माहामारीले बिश्वनै भयभीत भएको अवस्था रहिरहँदा नेपालमा पनि यसले निकै नाजुक अवस्था सिर्जित गरेको छ । यसले नेपालमा रहेका स्वास्थ्य संरचना कति कमजोर र असक्षम रहेछ भन्ने कुरा हुबहु देखाइदिएको छ । मैले यसो भनिरहदा तपाईंहरुको मनमा विभिन्न प्रश्नहरू उब्जन सक्छन । कोरोना त हालसालै आएको अप्रत्यासित माहामारी हो, देशलाई यसको परिणामबारे अग्रिम जानकारी कसरी हुन्छ ? स्वास्थ्य संरचनासँग तुलना गर्न कसरी मिल्छ ? यी सबै प्रश्नहरुको उत्तर खोज्ने र आफुलाइ लागेका कुराहरु व्यक्त गर्ने प्रयास गरेको छु ।

माहामारी अहिले मात्र भने पक्कै पनि आएको होइन । विभिन्न कालखण्डमा विभिन्न माहामारीहरु आइरहेका हुन्छन । मानव सभ्यताले विभित्र माहामारीहरु परास्त गरेर यो अवस्थासम्म आइपुगेको हो । सन् ५४१–७५० मा देखिएको Justianian Plague ले हाराहारी ३ करोड मानवको ज्यान लिएको थियो जुन त्यो बेला युरोपको आधा जति जनसंख्या हो । सन् ७३५–७३७ मा देखिएको Japanese Smallpox ले पनि २० लाख मान्छेको ज्यान लिएको थियो जुन त्यसबेला जापानको १÷३ जनसंख्या थियो । संसारमा देखिएको अर्को माहामारी The Great Plague of Marseille (सन १७२०) ले पनि झन्डै एक लाख मान्छेको ज्यान लिएको थियो । सन् १८१७–१८२० मा भारतबाट फैलिएको हैजाले पनि बिश्व नै त्रसित पारेको थियो । प्रथम बिश्व युद्ध सकिएपछि सुरु भएको माहामारी Spanish Flue (सन् १९१८–१९२०) ले पनि पाँच करोडको हाराहारीमा मान्छेको ज्यान लिएको थियो । सन् २००३ मा आएको SARS सन् २००९ मा आएको Swine Flue ले पनि थुप्रै मानिसहरुलाइ दुःख दिएको थियो । हामीले अस्ति भर्खर देखेको Ebola ले पनि सन् २०१४–२०१६ सम्म निकै डर फैलाएको थियो । इबोलाबाट पनि झण्डै एघार हजार भन्दा बढी मान्छेले ज्यान गुमाउन परेको थियो । सन् १९८० पछाडी देखिएको HIV AIDS ले अहिले सम्म तीन करोड मान्छेको ज्यान लिएको छ । यस्तै, अहिले देखिएको कोरोनाले पनि १६ करोड भन्दा बढी मानिसलाई संक्रमित बनाएको छ भने ३० लाख भन्दा बढी मान्छेको मृत्यु भैसकेको छ तर यसो भन्दै गर्दा यो सँधै नियन्त्रण बाहिर हुन्छ भन्ने होइन । केही महिना, केही बर्षपछि कोरोना भाइरस पक्कै पनि मत्थर हुँदै जानेछ । त्यसैले माहामारी भनेकै अप्रत्यासित रुपमा आउने हो र संसार जनसुकै बेलामा जुनसुकै माहामारीको चपेटामा पर्न सक्छ । यसरी हेर्दा संसारले नै स्वास्थ्य प्रणाली सुधार गरेर यसरी अपर्झट आइपर्ने माहामारीको सामना गर्न सधँै तत्पर रहिरहनुपर्छ नत्र भने संसार अर्को माहामारीको फन्दामा पर्ने कुरा इतिहासले नै प्रष्ट पारेको छ ।

नेपालमा कोरोनाको बर्तमान अवस्था हेर्ने हो भने दयनीय र कहालीलाग्दो छ । २०१९ को डिसेम्बर मा चिनको वुहानमा देखिएको कोरोना भाइरस नेपालमा २३ जनवरी २०२० मा चिनबाट फर्किएका एक विद्यार्थीमा देखिएको थियो । त्यसपछि चार–पाँच सय केस सन् २०२० को मार्च महिनासम्म देखिएका थिए । बिस्तारै सङ्क्रमण संख्या बढ्दै गयो । नेपालले कोरोना नियन्त्रणमा बन्दाबन्दी बाहेक खासै केही गर्न सकेन । नेपालका प्रधानमन्त्रीले गैह्र जिम्मेवारीपूर्ण र हास्यास्पद अभिव्यक्ती दिदै हिँडे । कोरोना आछ्यिु गरेर उडाउने, कुपोषण ग्रसित नेपालीको रोग प्रतिरोधात्मक शक्ति बढी छ भन्ने जस्ता भ्रम छरीरहे । पहिलो कोरोनाको लहरले कयांै नेपालीहरुले ज्यान गुमाए । पहिलो लहरपछि मानिसहरु सामान्य अवस्थामा आउन के लागेका थिए दोस्रो लहरले नेपालको अवस्था झन् भताभुङ्ग भएको छ । कतिले बेड नपाएर छट्पटाइरहेका छन् भने कतिपय मानिसहरु अक्सिजनको अभावमा मर्न बाध्य छन् । कति आफ्नो परिवारको लागि अक्सिजन खोज्न भौतारिरहेका छन भने अस्पतालहरुले अक्सिजन उपलब्ध नहुँदा उपचार गर्न नसकिने कुराको सुचना टाँसिरहेका छन । न त प्रधानमन्त्रीले भनेको जस्तै आछ्उि गरेर कोरोना उड्यो न त नेपालीको रोग प्रतिरोधात्मक शक्ति बढी देखियो आखिर मृत्युको सैयामा छट्पटाउन त त्यहि निमुखा जनतालाई नै परिरहेको छ ।

दोस्रो लहरले नेपालमा यस्तो अवस्था बनाउनमा वर्तमान सरकारको जनताप्रतिको गैह«–जिम्मेवारीपन, निर्णयशक्तिको असमक्षता र स्वार्थिय राजनिति प्रमुख कारक बनेको छ । पहिलो लहर सकिएपछि दोस्रो लहर आउँछ भन्ने जानकार हुदाहुँदै पनि सरकार कानमा तेल हालेर बस्यो । भारतमा कोरोनाको दोस्रो लहरले निकै क्षति गरिरहेको र यो कोरोनाको नँया म्युटेन्ट निकै घातक छ भन्ने जान्दा–जान्दै पनि सरकारले नजरअन्दाज गरिरह्यो । राजनीतिक तरङ्गहरु थुप्रै आए तर स्वास्थ्य प्रणाली सुधार गर्न नेपाल सरकारले कुनै चासो देखाएन । संसद् विघटन भयो, सर्वोच्च अदालतले विघटन खारेज गर्यो, नेपाल कम्युनिस्ट पार्टी फुट्यो, थुप्रै आन्दोलन, ¥यालीहरु भइरहे तर सरकारको स्वास्थ्यप्रतीको दायित्व सँधै ओझेलमा नै प¥यो । नेकपाको किचलोमा सिङ्गो नेपाल नै फसिरह्यो । नेपाल कम्युनिस्ट पार्टीमा आन्तरिक विवाद यति बढ्यो कि देशले कोरोनाको दोस्रो लहरको तयारी गर्नु पर्छ भन्ने सामान्य हेक्का समेत सरकारले राखेन । भारतजस्तो श्रोत–साधन प्रशस्त भएको देशमा त्यस्तो त्रसित स्थिति सिर्जना भयो भने नेपालमा कस्तो परिणाम होला भनेर बुझ्न समेत फुर्सद भएन । नेपाल सरकारले दोस्रो लहर आएको खण्डमा नियन्त्रण कसरी गर्ने, देशमा स्वास्थ्य संरचनाको अवस्था के छ, अक्सिजन कति चाहिन्छ, ब्यवस्थापन कसरी गर्ने भन्ने गृहकार्य गर्नतर्फ अग्रसर देखाएन । प्रधानमन्त्री आफ्नै साँख जोगाउन र गुटकै राजनिती गर्न तत्पर देखिए तर माहामारी रोकथामका केही गम्भिर कदम चाल्न सकेनन् । सरकारले दोस्रो लहर आउदा नियन्त्रण, रोकथाम तथा तयारी गर्ने समय प्रशस्त पाएतापनि सरकारलाई जनताको जीवन भन्दा राजनीतिक खेलनै प्यारो लाग्यो । अहिले भयावह स्थितिमा सरकार रमिते बनेर बसिरहेको छ । उपचार नपाएर मरेका जनता सरकारद्वारा गरिएको सामुहिक हत्या हो भन्दा केही फरक पर्दैन । प्रधानमन्त्री विभिन्न बाटो, पुलहरु सम्पन्न नभइ उदघाट्न गर्नमै रमाए तर देशमा एक दुई वटा अक्सिजन प्लान्ट बनाएर उद्घाटन गरौँ भन्ने उनलाई लागेन । भारतका दिल्ली प्रान्तका चिफ मिनिस्टर अर्बिन्द केजरीवालले १००० ICU बेड सहितको अस्पताल उद्घाटन गर्दा नेपालका प्रधानमन्त्रीले ३००० सिटको सनराइज सम्मेलन केन्द्र उदघाट्न गरे । अरु त कुरै छोडौँ अन्तर्राष्ट्रिय मिडिया CNN सङ्ग कोरोनाको स्थिति नियन्त्रणमा छ भनेर झुटो र लज्जास्पद अन्तरबार्ता दिए ।

अहिले आएको कोरोनाले नेपालको स्वास्थ्य प्रणाली तोडेर माहामारी भएको भन्दा पनि थोत्रो र निरिह स्वास्थ्य प्रणाली उदाङ्गो बनाइदिएको छ । जनता माहामारीले मरीरहेको बेला रमिते मात्र बनेको सरकारले लाज पचाएको छ । हजारौ श्रद्धाञ्जलीको बिचमा अल्पमतको परेको सरकारले कुर्ची बचाएकोमा बधाई खाइरहेको छ । जनता र देशको सेवा गर्छु भनेर गएका जनप्रतिनिधिहरु पद र दलिय स्वार्थमा लिप्त भइरहेको अवस्थमा नेपालीहरुमा नैराश्यता छाएको छ । अस्पतालका स्वास्थ्यकर्मीलाई बिरामीको अवस्था बारे सोध्ने हो भने विवस्ताको आँसु गहभरि भरिन्छन् । ऊनीहरु आफ्नै आँखा अगाडी बिरामीले प्राण त्यागेको हेर्न लाचार छन् । गरून् पनि के ? आवश्यक श्रोत–साधाबिना बचाउन गाह«ो छ भन्ने राम्ररी बुझ्दाबुझदै पनी आफ्नै ज्यान जोखिममा राखेर दिन रात खटीरहेका छन ।

हाम्रै गृह जिल्ला गुल्मीको कुरा गर्ने हो भने जिल्लाले विभित्र कालखण्डमा थुप्रै मन्त्रीहरु पायो तर जिल्ला भरिका अस्पतालले एउटा ICU बेड पनि पाएन । अचम्म नपर्नुहोला गुल्मीका अस्पतालमा एउटा ICU बेड पनि छैन । बिरामी भएर ICU को आवश्यकता परे ५–६ लाख तिरेर हेलिकोप्टरबाट अरु ठाउँमा उपचार गर्न जानू परेको छ । ५–६ लाख तिर्ने सामथ्र्य नभएकाहरु उपचार नपाएर मृत्युवरण गर्नुपरेको छ । अहिलेको अत्याधुनिक युगमा उपचार नपाएर मर्नु भनेको सुन्दा आश्चर्य लाग्छ तर सत्य यहि नै हो । जिल्लाले ठुला–ठुला नेता र मन्त्री दियो तर तिनीहरुले जिल्लालाई एउटा ICU कक्ष पनि दिन सकेनन् ।
कोरोना जस्ता माहामारी आउलान् जालान् त्यो एउटा कुरा रह्यो । यसबाट हामीले के पाठ सिक्ने भन्ने कुरा पनि महत्वपूर्ण छ । राज्यको जनताप्रति उत्तरदायित्व के हो ? भ्यु टावरहरु आवश्यकता हुनु कि गुणस्तर अस्पताल ? यो माहामारीमा अस्पताल उद्घाटन गर्ने कि सम्मेलन केन्द्र ? डा. गोविन्द केसी जस्ता व्यक्तिले स्वास्थ्य प्रणाली सुधार गर्न पटक पटक अनसन बसेको कत्तिको सान्दर्भिक रहेछ त ? अहिलेका नेता प्रतिनिधिले यो माहामारिबाट के पाठ सिके त ? अबको कदम कस्तो हुन्छ ? आगामी दिनमा योजना बनाउदा कुन क्षेत्रलाई प्राथमिकता दिने ? यी सब प्रश्न जनताले सरकारलाई सोध्न सक्नुपर्छ ।
अन्ततः मानव समुदायले जसरी Asian-flue, Plague, Spanish Flue जस्ता घातक माहामारीलाइ त परास्त गरि बिगत भुलेर अगाडि बढ्यो हामी पनि छिट्टै यो कोरोनालाइ उच्च आत्मबलका साथ परास्त गरि अगाडि बढ्नेछौ ।

(भण्डारी नेपाली कांग्रेसका महासमिती सदस्य तथा पुर्व ने.वि संघ केन्द्रिय उपाध्यक्ष हुन् ।)

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D