समाचार

ओझेलमा गुल्मीको अर्जुनडाँडा

गंगा खड्का
तम्घास । गुल्मी सदरमुकाम तम्घासदेखि नजिक भएर पनि प्रचुर सम्भावना बोकेको पर्यटकीय क्षेत्र अर्जुनडाँडा ओझेलमा परेको छ। हिमालदेखि तराईसम्मको दृश्य देख्न सकिने अर्जुनडाँडा गुल्मीको महत्वपूर्ण पर्यटकीय क्षेत्र हो। तर प्रचार प्रसारको अभावमा आन्तरिक पर्यटक समेत निकै न्युन देखिएको छ। भौतिक पूर्वाधारको विकास नुहुँदा पर्यटकलाई त्यहाँ पुग्न समस्या हुने गरेको छ। अग्लो स्थान भएकाले अर्जुनडाँडाबाट मनोरम हिम श्रृंखला अवलोकन गर्न सकिन्छ।

माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्णलगायत हिमालसहित पुरै गुल्मी र छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, बाग्लुङ र प्युठानका विभिन्न स्थान देख्न सकिन्छ। यस क्षेत्रमा भ्यू टावर, बनभोज स्थलको निर्माण सर्न सके पर्यटक भित्र्याउन सकिने तम्घासका स्थानीय अशोककुमार केसीले बताए। ‘यसक्षेत्रमा फोहोर व्यवस्थापन गर्न सकिएको छैन’,उनी भन्छन्, ‘स्थानीय सरकारले यस्ता संभावनाको विकासमा ध्यान दिनुपर्छ।’
arjun dada gulmi
स्थानीय तहको आर्थिक स्रोतलाई वृद्धि गर्न यस्तो प्राकृतिक स्थलको विकासमा ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले बताए। अर्जुनडाँडामा अर्जुन मन्दिर समेत रहेको छ। धार्मिक पर्यटकहरुलाई आकर्षित गर्नका लागि समेत यसले मद्दत गर्नसक्छ। जिर्ण मन्दिर र पोखरीको समेत संरक्षण गर्नुपर्ने अवस्था देखिएको केसीले जानकारी गराए। अर्जुनडाँडा व्यवस्थापन समिति गठन भएपनि त्यसले काम गर्न नसकेको उनले बताए। जिल्लाको महत्वपूर्ण धार्मिक एवं पर्यटकीयस्थल रेसुंगा घुम्न आउने पर्यटकहरुलाई अर्जुनडाँडामा घुमाउनसके जिल्लाको आर्थिक गतिविधिमा वृद्धि हुन सक्ने स्थानीयको भनाई छ। तम्घासमा सधैँभरी शितलता हुने भएकाले बाह्य पर्यटकहरुलाई जिल्लामा भित्र्याउन सकिने राम्रो संभावना देखिएको छ।

अर्जुनडाँडा सहित समग्र पर्यटकीय क्षेत्रको विकास लागि गुरुयोजना बनाएर अघि बढ्ने सोँच रहेको रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुषालले जानकारी गराए। उनले यस क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट २० लाख रुपैयाँ बजेट विनियोजन भएको उनले बताए। ‘यस क्षेत्रलाई धार्मिक वा पर्यटकीय कुन क्षेत्रको रुपमा विकास गर्ने भन्ने योजना बनाउने चरणमा छौँ’,भुषालले भने,‘स्थानीयसँग बसेर छिट्टै यसबारेमा टुंगो लगाउछौँ।’

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D