बिचार

उक्सिए फुस्किन्छ नी फेरी

टोपलाल अर्याल
शुक्रबार गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीका महिला दिदिबहिनीले पानीमा छाता ओढेर दाउरा र ताउलाहरु बोकेर रामराज्य मावि पुगेको तस्विर सामाजिक संजालमा सकरात्मक रुपमा भाइरल बने । पछिल्लो एक सातामा झण्डै २५ सय मानिस गाउँ आए । यो दर दैनिक घटेको छैन । एक स्थानीय तहमा कम्तिमा एक हजार भारतबाट मात्रै गाउँ आउने अनुमान गरिएको छ । त्यो बाहेक तेस्रो मुलुकमा अलपत्र परेका नेपाली फर्काउने योजनामा सरकार अगाढी बढेको छ । त्यो तस्विरबाट धेरै खाले सन्देश लिन सकिन्छ ।

क्वारेन्टाइन समुदायको नजिक भए भनेर बिरोध पनि भएका छन् । तर यो अब निर्विकल्प उपाय हो । नजिकको बिद्यालयमा क्वारेन्टाइन भनेको गाउँमा संक्रमण फैल्याउन होइन । समुदायमा सहयोगको अपेक्षा पनि हो । त्यसैले महिलाहरुले पानीमा छाता ओढेर दाउरा र ताउला बोकेर क्वारेन्टाइन व्यावस्थापनमा जुटे । क्वारेन्टाइन परिवारको नजिक बनाएकै कारण दुरुपयोग गर्न भने पाइदैन् । दुरुपयोग भए परिवारनै संक्रमित बन्ने भएकाले व्यक्ति र परिवारनै यो बिषयमा जानकार बन्नुपर्छ ।

नजिक आएको आफ्नो आफन्तलाई सहयोग परिवारले गर्न सक्छ । तर सरकारले जारी गरेको निश्चिित प्रक्रिया अर्थात परिक्षण नहुँदासम्मको अवस्थाको लागि समुदाय परिवारलेनै निगरानी बढाउनुपर्छ । अव पनि कुनै जनप्रतिनिधी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको काँधमा मात्रै यो संकट थुपार्ने प्रयत्न वा सोचको विकास भए दुर्भाग्य एक जनाले मात्रै भोग्नु पर्नेछैन् । त्यसैले युवा, समाजवेवी, राजनैतिक दल, शिक्षक वा अन्य व्यक्तिहरुको रचनात्मक सुझाव र कार्यको खाँचो बढि रहेको छ । सुरुमा हतारले बाँडेको राहतले अहिले स्थानीय तह पछुतो मानेका छन् । राहत बाँडने बेला बल्ल भएको रहेछ भनेर । त्यति बेला पनि पत्रकार, दल सवैले दवाव नदिएका होइनन स्थानीय तहलाई जनता भोकै भए भनेर ।

अचम्मको कुरा धेरै स्थानीय तहले दोस्रो चरणमा राहत बाँडेका छैनन् । चार÷पाँच जनाको बिपन्न परिवारले २०÷२५ किलो चामललेनै अहिलेसम्म थेगेका छन् ? धेरै स्थानीय तहको पहिलो चरणको प्याकेजमा दुई हजारदेखि बढिमा २५ सयको खाद्यन्न थियो । त्यति खर्चले डेढदेखि दुई महिना थेगे वा आफैले पनि केहि जोहो गरेका थिए । अहिले वास्तविक मजदुर पीडित छन् । उनीहरुको बिषयमा सोच्नुपर्छ । उक्साउनेहरु वा बिपदमा मत बटुल्ने दल, कोठाबाट समाचारको मसला खोज्ने पत्रकार र संजाल हेरेर धारणा बनाउने र डेलिगेशन पुग्ने अधिकारकर्मी र नागरिक समाजले पनि वास्तविकता बुझे जनतामा प्रस्तुत हुनुपर्छ । पछिल्लो समय क्वारेन्टाइन मापदण्डको कुरा बहस बन्ने गरेका छन् ।

पहिले क्वारेन्टाइन बने बस्ने मान्छे भएनन् । अहिले मान्छे भए क्वारेन्टाइन नहुने अवस्था आएको छ । सवैले नजर अन्दाज गर्नुनै परेन । सुनौलीबाट एक मान्छे एक बस सम्भव थियो ? सायद थिएन, त्यसैले कोचिएर आए । बसमा कोचिएर आएकालाई क्वारेन्टाइनमा छुट्टै कोठा ! मापदण्ड कोठा र बसमा एउटै होइनर । भैगो स्कुलले पुग्नेबेलासम्म एक व्यक्ति एक कोठानै बनाउँलान । अनि हग्छन्, कहाँ ? गुल्मीमा कुन बिद्यालय बनाएका छन, प्रति बिद्यार्थी छुट्टा–छुट्टै चर्पी भएको । त्यसैले भवितव्यमा हाम्रा, हामीले बनाएका भौतिक संरचना बिर्सेर कोठाबाट मापदण्डको रोइलो गरेर संभव छैन् । अहिले भएका संरचनाकै प्रयोगलाई कसरी व्यावस्थापन गर्ने भन्ने बिषयमा सोचौ । भएका र सक्ने अवस्था र व्यावस्थामा कतै कम्जोरी भए समाधानसहितको रचनात्मक सुझाव दिने गरौ । सवै स्वार्थी छौ ।

भारतबाट नाकामा आएर म मरे मर्छु भन्ने, म क्वारेन्टाइन बस्छु भन्ने, जे पनि भोग्न राजी छु भनेर आउने । कति हि**डेर आए, रातमा जंगलमा सुते । चार दिनमा भात भेटाएका पनि देख्यौ । उनीहरुसंग पनि गुनासानै थिए । पछि नाकामै बस पुगेर फ्रिमा ल्याए । उनीहरुका पनि गुनासानै थिए । स्थानीय तहले सकेनन्, अहिले आफै पैसा तिरेर आएका छन् । तिनीहरुमा पनि गुनासा नहुने कुरै भएन । नाकामा बिलौना गरेर बस चढ्ने तर गाउँका झरेपछि बाघ बन्ने प्रवृति छोडौ । अब समुदायकै सक्रियता र निगरानीमा क्वारेन्टाइन व्यावस्थापन गर्नुपर्छ । सकेसम्म स्थानीय सरकारले आफ्ना नागरिकको व्यावस्थापनमा राम्रो गर्नुपर्छ । तर नागरिकहरुले आफुले सकेको अवस्थामा परिणाम गलत बनाएर अरु कसैको प्रतिक्षा गर्नु हुँदैन् ।

भारतबाट आएकै कारण क्वारेन्टाइनमा बसेकाहरुलाई तल्लो दर्जामा नराखौ दुरी कायम गरेर सहयोग र सद्भाव राखौ । अरु बेला महिनौ पाल्ने आफ्नो आफन्तलाई राज्यले खाना दिएन भनेर संजालमा कटाक्षा नगरौ । सवै स्थानीय तह, जनप्रतिनिधी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई एउटै डोलीमा राखेर मान मर्दन नगरौ । सवैको सहयोग र समन्वयमा यो बिपत्तिको मिलेर सामना गरौ

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D