बिचार

आशिर्वाद दिनुस् आमा म बाँचेर मात्रै होइन धेरैलाई बचाएर फर्किनेछु

संगीता विश्वकर्मा
दरखाने दिनको बिहानी डयुटी जाने तरखर गर्दै थिएँ । आमाले मलिन स्वरमा फोनमा भन्नुभयो “वरपर सबैका घर उज्यालो भयो तर हाम्रो घरमा शुन्यता छायो, तिमी आइनौ छोरी ।” बोली फुटेन भक्कानिँदै फोन राखेँ अनि आँखाबाट गङ्गा बगाए, तवमात्र मन अलि हल्का भयो । भित्तामा हेरेँ घडीले साढे सात बजाइसकेछ, खाना खान मन लागेन । कपडा लगाएँ अनि डिउटी निस्किएँ ।

मलाई पनि आउन मन नभएको कहाँ हो र सम्हालेर राखेकीछु आमा ती विगतहरू । आफ्नै घर, आफ्नै पाखापखेरा, आफ्नै गाँउका गित संगीत हजुरको काख सबैको सम्झना मुटुभरी छन् । आमा हाम्रो मिलन भेट न झरी न झरना न त कुनै खोला नदी, केही कुनैले पनि छेक्न सक्दैनथ्यो । तर आज विवशता र जिम्मेवारीले मलाई चाडपर्व भन्दा धेरै बाबुआमा र बालबच्चाको स्वास्थ्य नै ठुलो लागिरहेको छ । मेरो पेशा कार्यले तपाई जस्तै धेरै आमाहरूको मुहारमा चमक आइदिन्छ ।

आमा तपाईलाई जति पिर चिन्ता छोरीको छ मलाई त्यति नै पिर अन्य आमाहरूको पनि छ । प्रसुती पिडामा छट्पटाईरहेका ती आमाहरू छाडेर म मेरी आमाको अंगालो भर्न आउन सकिन आमा । जतिसुकै पिरचिन्ता अभाव भएपनी हामिले आफ्नो धर्म भुल्ने छैनौ भनेर बलेको मैनबत्ती समाती कसम खाएका थियौ । जस्को स्वास्थको लागि हामी दिनरात नभनी खटिरहेका छौ आज उनैबाट हामी अपमानित र तिरस्कृत भएका छौ तर पनि हामी काममा बिचलित भएका छैनौ ।

मेरी आमा तपाँईलाइ थाहै छ आज विश्व संक्रमित रोग कोरोना भाइरस कोभिड १९ को महामारीसंग लडिरहेको छ । सम्पुर्ण स्वास्थ्यकर्मीहरू आफ्नो ज्यानको प्रवाह नगरी जोखिम मोलेर उचित सेवासुबिधा नहुँदापनी रोगसँग लडिरहेका छौँ । जनतालाइ स्वस्थ बनाउन खटिरहेका छौ । आफ्ना र आफन्त नै नजिक पर्न डराइरहेको अवस्थामा हामी प्रत्यक्ष सम्पर्कमा रहि उपचार गरिरहेका छौँ । यो समय हामिलाई सबै क्षेत्रबाट सहानुभुती र हौसलाको खाँचो छ सङ्गै सम्पुर्ण जनताको सचेतना जरुरी छ ।

कोभिड १९ लाई मास्कले छेक्छ/रोेक्छ, सेनिटाइजरले मार्छ भन्ने सुनेको धेरै भो तर हालसम्म पनि यो नियन्त्रण बाहिरै छ । औषधी समेत पत्ता लागेको छैन । विभिन्न राष्ट्रहरूमा स्वास्थ्यकर्मीहरू सम्मानित भैरहेको बेला हाम्रो देशमा बसिरहेका घर-कोठा छोड्न बाध्य बनाउने, सामुहिक रूपमा घेराउ गरि अपमानित गर्ने, भौतिक आक्रमण समेत गर्ने गरेका घटनाहरू दैनिक बढिरहेका छन् । आमा हजुरलाइ थाहै छ हामी युद्धमा होमिएका सिपाही जस्तै भएका छौं । फर्किनेको टुंगो छैन, हाम्रो हतियार भनेको तपाईं र तपाईं जस्तै अन्य आमाहरुको आशीर्वाद, सहानुभूति र हाम्रै आत्मविश्वास हो ।

हजुरले जागिर मात्र नखाएस अरुले आहा भन्ने गरि काम गर्नु भनेको म सधै सम्झिरहन्छु । म जागिर मात्र खानलाई हैन देश र जनताको सेवा गर्नलाई कसम खाएर प्रवेश गरेकी हुँँ । मलाई आशिर्वाद दिनुस् आमा तपाइकी छोरी बाँचेर मात्रै होइन धेरैलाई बचाएर फर्किनेछु । हामी सबैको सहकार्य र मेहनतमा मानव जगत कै अभिशाप यस कोरोना भाइरसको विनाश पश्चात मानव जातिको विजय लिएर मुस्कुराउदै फर्किनेछु । हो म फर्किनेछु आमा ।।

(विश्वकर्मा गुल्मी स्थित एक सरकारी स्वास्थ्य सेवामा कार्यरत छिन् ।)

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D