टोपलाल अर्याल
गुल्मी, १७ माघ । मालिका गाउँपालिकाले यो बर्ष गाउँगाउँमा निशुल्क पशु स्वास्थ्य शिविर संचालन गरिरहेको छ । गत बर्ष मालिका गाउँपालिकाले वडा नं २ दर्लिङ्ग र वडा नं ७ घमिरमा शिविर आयोजना गरेको थियो ।
यो बर्ष बाँकी छ वडामा निशुल्क पशु स्वास्थ्य शिविर आयोजना गरिएको गाउँपालिकाका पशु स्वास्थ्य संयोजक झविन्द्र जिसीले बताए । सोहि अनुसार मालिका गाउँपालिका वडा नं १ नेटा र वडा नम्बर ३ ह्वाङ्दि र वडा नं ४ को अर्खबाङ्गमा एकदिने निःशुल्क पशुस्वास्थ्य शिविर सम्पन्न भएको जिसीले बताए ।
गाउँमै आफ्ना पशुको निःशुल्क उपचार गर्न पाउँदा नागरिक खुसी भएका छन् । ‘पहिले गाउँमा शिविर नहुँदा तम्घास जानुपथ्र्यो खर्च पनि धेरै हुन्थ्यो,’ स्थानीय खगेश्वर घिमिरेले भने, ‘गाउँमै निःशुल्क शिविर आएपछि खुसी भएका छौ ।’ शिविरबाट उनले भैँसी, बाख्रा र गाईको लागी जुका, जुम्रा, भिटामिन लगायतका औषधी प्राप्त गरेका छन् । १८ माघमा वडा नम्बर ५ छापहिले, १९ गते वडा नम्बर ६ अर्जै र २० गते वडा नम्बर ८ मर्भुङमा शिविर संचालन गर्ने प्रवक्ता शोभाखर गिरीले जानकारी दिए ।
शिविरको लागि यो बर्ष गाउँपालिकाले चार लाख विनियोजन गरेको छ । गाउँपालिकाले यो आर्थिक बर्षमा पशु स्वास्थ्यको क्षेत्रमा कुल २० लाख विनियोजन भएको गिरीले बताए । जसबाट बोयर पाठी वितरण, शिविर संचालन, डाले घासँ नर्सरी, कृतिम गर्भाधान लगायतका काम गरिने गाउँपालिकाले जनाएको छ । शिविरको उद्घाटन गर्दै गाउँपालिका प्रमुख रित बहादुर थापाले गाउँपालिकालाई कृषि र पशुमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमहरु ल्याएको जानकारी दिए ।
पाचँ बर्षभित्र गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उदेश्य भएकोले बाख्रापालनमा जोड दिनुपर्ने उनले बताए । ‘कृषि र पशुपालनबाट मात्रै हाम्रो समृद्धि सम्भव छ,’ उनले भने, ‘तपाईहरु काम गर्नुस, सहयोग गाउँपालिकाले गर्छ ।’ निशुल्क पशु स्वास्थ्य शिविरमा बंगुर, कुखुरा, बाख्रा र भैसीको उपचार तथा औषधी वितरण गरिएको छ । मालिका गाउँपालिका वडा नं १ को नेटामा एक सय पाँच, वडा नं ३ ह्वाङ्गदीमा एक सय ३० र वडा नं ४ को अर्खाबाङ्गमा एक सय २५ जनाले सेवा लिएको गाउँपालिकाका पशु स्वास्थ्य कार्यकर्ता बसन्त भुसालले जानकारी दिए ।