काठमाडौं, जेठ २१ । नेपालका ४२ जिल्लाहरुको करिब ११ लाख हेक्टर क्षेत्रफमा कफी खेती गर्ने सम्भावना हुदाहुदै पनि नेपालले कफी खेती मार्फत् लाभ लिन नसकको आज काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताउनुभएको छ ।
नेपाल कफी व्यवसायी महासंघको चौथो राष्ट्रिय महाधिवेशनका वक्ताहरुले नेपालले कफीको उत्पादन बढाएर मुलुकको निर्यात वृद्धि मार्फत गरिवी निवारण र आर्थिक वृद्धि गर्न सकिने प्रयाप्त अवस्था हँुदाहुदै पनि विगतका सरकारहरुको ध्यान जान नसकेको बताउनुभयो ।
कार्यक्रममा कृषि, भूमि व्यवस्था र सहकारी मन्त्री चक्रपाणी खनालले कफी खेतीको विस्तारका लागि सरकारले कफीको सुपरजोन निर्माण गरी उल्लेख्य मात्रामा कफीको उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको बताउनुभयो ।
मन्त्री खनालले गुल्मी जिल्लालाई केन्दमा राखेर वरिपरिका विभिन्न पाँच जिल्लाहरुमा कफीको व्यवसायिक उत्पादन गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो ।
कृषिमन्त्री खनालले सरकारले कफी खेतीको विकास र विस्तारका लागि हाल देखिएका नीतिगत तथा अन्य समस्याहरुको समाधान गरेर अघि बढन सरकार तयार रहेको पनि उल्लेख गर्नु भयो ।
कार्यक्रममा नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष श्यामप्रसाद भण्डारीले विश्वको उत्कृष्ट मानिएको कफी नेपालमा फल्ने र उत्पादित कफीको अन्तराष्ट्रिय व्यापार पनि राम्रो रहेकोले सरकारले कफी खेतीको विस्तार, प्रर्वद्धन, बजारीकरण मार्फत मुलुकको आर्थिक विकास अघि बढाउन सक्ने बताउनुभयो ।
कार्यक्रममा कफीको उत्पादन, विकास र प्रर्वद्धनमा सहयोग गरेका विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो । महाधिवेशनले महासंघको नयाँ नेतृत्व पनि चयन गर्ने कार्यक्रम रहेको छ ।