गुल्मी । गुल्मीमा आर्थिक बर्ष ०७४/०७५ मा ६० किलोमिटर सडक कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको छ । तम्घास–सीमलटारी सडक आयोजना प्रमुख इन्जिनियर सुजन अधिकारीकाका अनुसार यस आवको अन्त्यसम्म १५ किमि सडक पिच हुने अपेक्षा गरिएको छ ।
‘रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डको रुद्रवेणीदेखि चोरकाटेसम्मको २० किमि सडक पिच गर्न ठेक्का सम्झौता भइसकेको छ,” अधिकारीले भने, “बाँकी भागमा भने ग्राभेलिंगको काम हुँदैछ, कालोपत्रेको ठेक्का अर्काे वर्ष हुन्छ ।”
सडक खोलेको ३६ वर्ष पूरा भइसक्दा पनि तीन जिल्लाको संगमस्थल रिडीदेखि वामीटक्सारसम्मको ४६ किमि सडक सहज बन्न सकेको छैन । ग्रामीण क्षेत्रको निकै ब्यस्त मानिने यस सडकको केही क्षेत्र कालोपत्रे भए पनि बाँकी सडक वर्षाको समयमा हिलाम्य र हिउँदको समयमा धुलाम्य हुने गरेको छ । वर्षाको समयमा हप्तौंसम्म सडक अवरुद्ध हुँदा अत्यावश्यक सामग्री अभाव हुने गरेको छ ।
डिभिजन प्रमुख अधिकारीका अनुसार यस वर्ष सदरमुकाम तम्घासदेखि सीमलटारी जोड्ने तम्घास–सीमलटारी सडक आयोजनाको ३० किमि सडक कालोपत्रेको ठेक्का सम्झौता भइसकेको छ । सदरमुकाम तम्घासदेखि–रेसुंगा जोड्ने सडकको ७ किमि तथा रेसुंगा नगरपालिकाको छल्दी पनाहदेखि मुसिकोट नगरपालिका–५ इन्द्रगौडासम्म जोड्ने छल्दी–इन्दे्रगौंडा सडकको पनि ३ किमि कालोपत्रेको लागि सम्झौता भइ काम चलिरहेको अधिकारीले जानकारी दिए ।
“यस आवमा रिडी–रुद्रवेणी सडकखण्डमा करिब ५ किमि सडक कालोपत्रे हुँदैछ,” उनले भने, “तम्घास–सीमलटारी सडक आयोजनाको १० किमि गरी जम्मा १५ किमिमा काम हुने आशा छ ।” उनले बजेट अभावका कारण समयमै काम सम्पन्न गर्न समस्या भएको बताए । “बजेट अभावका कारण प्रभावकारी रूपमा काम गर्न सकेका छैनौं,” अधिकारीले भने, ‘करिब ६-७ करोडको काम सम्पन्न भइसक्दा पनि भुक्तानी दिन नसक्दा समस्या भएको छ ।”
रिडी–रुद्रवेणी सडकखण्ड अन्तर्गतको वामीखण्डसम्म आगामी जेठसम्म ग्राभेल गर्ने गरी काम भइरहेको छ । गुल्मीमा तम्घास–सीमलटारी सडक आयोजना र रिडी–रुद्रवेणी–वामीटक्सार सडक मुख्य ठूला सडक हुन् ।
१४ पक्की पुल निर्माण हुँदै
डिभिजन प्रमुख अधिकारीका अनुसार यस आवमा जिल्लाभरि १४ वटा पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् । तर यसै आवमा सम्पन्न हुने सम्भावना भने नरहेको उनले बताए । “अर्काे आवमा ३ वटा जति पुल निर्माण सम्पन्न हुने आशा गरेका छौं,” अधिकारीले भने, “रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डमा पनि ६ वटा नयाँ पुलको डिजाइन भइरहेको छ ।” -कारोबार दैनिकबाट