gulminews logo
शनिबार, २०८१ बैशाख १५

तम्घास सिमलटारी सडकका चार स्थानमा पक्की पुल बन्ने

अनिल खत्री
२७ भदौ, गुल्मी । गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ को तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा तम्घासदेखि सिमलटारी सम्मको मदन भण्डारी राजमार्गको पश्चिमतर्फको व्यस्त सडकमा पुल नहुँदा वर्षाको समयमा आउ–जाउ गर्न समस्या हुने गरेको छ । सडक कालोपत्रे भएको तीन वर्ष बितिसक्दा पनि विभिन्न खहरे खोलामा पुल नहुँदा यात्रुले निकै सास्ती खेप्नु परेको छ ।

तम्घास सिमलटारी सडक अन्तरगत राजमार्गका गुर्वा, हुलाके, धनार्जी, पुलवारी र घमिर खहरे खोलामा पुल नबन्दा साना ठूला सवारी साधानहरु र पैदल यात्रुलाई समेत आउ–जाउ गर्न समस्या परेको हो । पुल नहुँदा वर्षातको समयमा जिल्ला सदरमुकाम तम्घास आउजाउ गर्न निकै सास्ती खेप्दै आएका हुन् ।

वर्षातको समयमा सुरक्षित र भरपर्दो राजमार्ग मानिएको मदन भण्डारी राजमार्गमा पुल नहुँदा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता छ । गुल्मी जिल्लाका धुर्कोट, मदाने, इस्मा, मालिका र मुसिकोट नगरपालिका भित्रका नागरिहरुलाई फाइदा पुग्दै आएको छ । यो सडक भएर छिमेकी जिल्ला प्युठानसम्म पनि पुग्न सकिन्छ । राजमार्ग अन्तर्गत तम्घासदेखि सिमलटारी सम्म २८ किलोमिटर सडक कालोपत्र गरिसकिएको छ । तर यसबीचमा पर्ने खहरे खोलामा पुल नबन्दा यात्रुले सास्ती खेप्नुपरिरहेको हो ।

मदन भण्डारी राजमार्ग तम्घास कार्यालयका कार्यालय प्रमुख शशांक मिश्रले अहिले हुलाके, धनार्जी, पुलवारी र घमिर खहरे खोलाका चार वटा पुलको काम सुरु गरेको बताए । वर्षाका कारण हाल रोकिएको र पानी रोकिनासाथ तत्काल काम अघि बढ्ने उनको भनाई छ । अहिले पुल नहुँदा सामान्य पानी पर्दा समेत बाटोमै रोकिनुपर्ने सर्वसाधरण र सवारी चालकको बाध्यता छ । यी खहरे खोलामा आउने भेलले कैयौं सवारी साधनहरु बगाउने गरेको स्थानीय बिद्यार्थी बसु क्षेत्रीले बताइन् । पानी परेपछि खोला बढ्दा समयमै स्कुल पुग्न पनि कठिनाई हुने गरेको उनले बताइन ।

पुल नहँुदा धेरै जोखि बढेको स्थानीय चक्रबन्धु भुसालले बताए । यात्रा गर्दा जोखिम मोलेरै यात्रा गर्नुपर्ने अवस्था भएको भुसालले बताए । उनले समयमै पुल निर्माण सबैले खबरदारी गर्नुपर्ने बताए । खहरे खोलामा पुल नहुँदा वर्षातको समयमा स्वास्थ्य सेवा लिन तम्घास जानेहरु पनि दुइ तिन दिन खहरे खोलाले थुनेर बिच बाटोमै बस्नुपर्ने बाध्यता रहेको छ । वारिपारि कालोपत्र सडक भए पनि बीचमा पर्ने खोलामा पुल नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको स्थानीयको भनाई छ ।

हुलाके, धनार्जी, पुलवारी र घमिर खहरे खोला खोलामा पुल निर्माणका लागि ठेकेदार कम्पनी छनोट भएका छन् । पन्त निर्माण सेवाले फुलवारी र घमिर खोलामा पुल निर्माणका लागि ठेक्का पाएको छ । हुलाके र धनार्जी खोलामा पनि पुल निर्माणका लागि सुनिल समीर निर्माण सेवा प्रालि तम्घास गुल्मीले ठेक्का सम्झौता गरेको मदन भण्डारी राजमार्गका इन्जिनियर दुर्गा गौतमले बताए । घमिर खोलको पुल निर्माणको लागि ३ करोड १३ लाख ८४ हजारको लागत रहेको छ ।

फुलवारी खोलाको पुल निर्माणको लागि ३ करोड ३२ लाख ६८ हजार लागत रहेको छ । यी दुई स्थानका पुल निर्माण कार्य २०८० साल भदौ महिना भित्र सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएको मदन भण्डारी राजमार्गका इन्जिनियर गौतमले बताए । घमिर खोलाको पुल १५ मिटर लम्बाई र ११ मिटर चौडाईको हुनेछ । फुलवारी खोलाको पुल २० मिटर लम्बाई र ११ मिटर चौडाईको हुनेछ । त्यस्तै धनार्जी खोलामा पुल निर्माणको लागि ७ करोड ४८ हजार र हुलाके खोलामा पुल निर्माणको लागि ५ करोड ७९ लाख ५३ हजार को लागतमा निर्माण हुनेछ ।

धनार्जीमा बन्ने पुल ३५ मिटर लम्बाई र ११ मिटर चौडाई को हुनेछ । यो पुल २०८० साल माघ महिना भित्र सम्पन्न गर्नुपर्ने इन्जिनियर गौतमले बताए । हुलाकेमा निर्माण हुने पुल २५ मिटर लम्बाई ११ मिटर चौडाईको हुनेछ । पुल निर्माण कार्य २०८० साल मंसिर महिना भित्र सम्पन्न गरिसक्नु मदन भण्डारी राजमार्ग कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D