रमेश विश्वकर्मा
गुल्मी, पुस २४ । धेरै युवाहरुको चाहना हुन्छ, छोटो समयमै धेरै पैसा कमाउने । त्यसैले त अधिकांश युवाहरु पैसा कमाउने गतिलो माध्यमको रुपमा वैदेशिक रोजगारलाई नै रोज्ने गर्दछन् । पछिल्लो समय म्यानपावर धाउनेहरुको कमी छैन । तर केही यस्ता व्यक्तिहरु पनि छन् जसले स्वदेशमै पसिना बगाएर मनग्य पैसा कमाउन सफल भएका छन् ।
उनीहरुले पशुपालन व्यवसायबाटै राम्रो आम्दानी गर्न सफल भएका छन् । यस्तै मध्येका एक हुन् जिल्लाको रेसुङ्गा नगरपालिका ४ अर्खलेका गुणानिधि भण्डारी । उनी स्वदेशमै पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण बनेका छन् । उमेरले ५९ वर्ष पुगेका भण्डारीले २०६८ सालदेखि व्यवसायिक रुपमा गाईफर्म सञ्चालन गर्दै आएका हुन् । उनले अहिलेसम्म गाईफर्ममा सम्पूर्ण काम स्वयंम् आफैले गर्दै आएका छन् । सुरुमा उन्नत जातका ४ वटा ठूला गाईबाट उनले व्यवसाय शुरु गरेका थिए । बुटवलबाट उन्नत जातका प्रति गाई ९५ हजारमा ल्याएका उनको फर्ममा अहिलेसम्म साना ठूला गरी १५ वटा गाईहरु रहेछन् । भण्डारीका फर्ममा दूध दिने ४ वटा, ब्याउने ८ वटा, अरु बाँकी ३ वटा साना बाच्छा बाच्छी रहेका छन् । फर्ममा होलस्टेन, जर्सी, साइवाल जस्ता उन्नत जातका गाईहरु रहेका छन् ।
दैनिक एउटा गाईले २० लिटर भन्दा बढी दूध दिने गरेको भण्डारी बताउँछन् । उनी भन्छन् ‘दूध विक्रीका लागि बजारको कुनै पनि समस्या छैन ।’ दैनिकी करिब ८० देखि ९० लिटर सम्म दूध रेसुङ्गा डेरीमा लैजाने गरेको भण्डारीले बताए । उनले मासिक २४ सय लिटर भन्दा बढी दूध विक्री गर्दै आएका छन् । भण्डारीले खर्च कटाएर मासिक ३० हजार भन्दा बढी आम्दानी गर्दै आएका छन् । वार्षिक ३ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेको उनले सुनाए । गाईका लागि आवश्यक पर्ने दानामा बढी खर्च हुने गरेको भण्डारी बताउछन् ।
उनले गाईका लागि पराल, गहुँको चापट, ढुटो छल्दी, हुलाके फाँटबाट खरिद गरी ल्याउने गर्दछन् । दाना महंगो हुँदा गाईपालक कृषकहरुलाई बढी समस्या हुने गरेको भण्डारीको भनाई छ । भण्डारीले गाईको बाच्छाको व्यवस्थापनमा अत्याधिक समस्या आउने गरेको बताए । ‘बाच्छी जन्मिन्छ भनेर एआई गरियो, तर बाच्छो जन्मिन्छ, बाहिर भनिए जस्तो हुँदो रहेनछ ।’ यस्तो भन्न लाएको मैले गाईपालन गर्दा देखि नै हो तर त्यसो नहुँदो रहेछ उनले भने । बाच्छाहरु व्यवस्थापन गर्न नसक्दा कृषकहरु समस्यामा पर्ने गरेको भण्डारीले बताए । सरकारले गाईको बाच्छाको व्यवस्थापन गरिदिए गाई पालन गर्ने कृषकहरूलाई सहजता हुने उनी बताउँछन् । सरकारले बाच्छाको मात्र व्यवस्थापन गरिदिने हो भने आफुले २० वटा गाई पाल्ने र २ वर्ष भित्रमा दैनिक ५ सय लिटर दूध उत्पादन गर्ने लक्ष्य रहेको सुनाए ।
सरकारले दिने अनुदान पनि वास्तविक कृषकहरुले पाउन नसकेको कृषक भण्डारीले गुनासो गरे । उनले वास्तविक कृषकहरुले अनुदान पाउन नसकेको बताउँदै यसलाई व्यवस्थित र प्रभावकारी बनाउन आग्रह गरे ।