Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
परदेशभन्दा गाउँकै सुन्तला प्यारो: सुन्तलाबाटै हमालको कमाल, भए मालामाल - Gulminews

परदेशभन्दा गाउँकै सुन्तला प्यारो: सुन्तलाबाटै हमालको कमाल, भए मालामाल

टोपलाल अर्याल
गुल्मी, ६ पुस । बारीमा सुन्तला लटरम्मै । गोठमा बाख्रा टम्मै । टीका बहादुर हमाल कहिल्यै फुर्सर्दिला भेटिदैनन् । उमेरले ५३ पुगे । मेहनत युवाको भन्दा कम छैन् । धुर्कोट गाउँपालिका १ नयाँगाउँका हमालकोमा साढे दुई सय सुन्तलाका बोट छन् । अहिले पाकेर बारी पहेँलपुर भएको छ । गत बर्ष ७ लाखको सुन्तला बेचे । अहिले अझै बेच्न थालेका छैनन् । त्यो संगै हमालले सुन्तला र कागतीको नर्सरी समेत गर्दै आएका छन् । दुई टर्नेलमा करिव ५० हजार सुन्तला र पाँच हजार कागतीका विरुवा रोपेका छन् । उनले गत बर्ष सुन्तलाका विरुवा पनि सात लाखकै बिक्री गरेको बताए । अहिले पनि सुन्तला र कागतीका विरुवा तयार हुँदैछन् । बर्षाद सुरु भएपछि असारमा प्रति वोट २२ रुपैयाँका दरले जिल्लाका विभिन्न स्थान तथा पर्वत, बाग्लुङ्ग र अर्घाखाँचीमा बिरुवा बिक्री गर्ने गरिएको हमालले बताए । उनले बर्षमा सुन्तला र बिरुवाबाट १० देखि १२ लाखको कारोवार गर्ने गरेको बताए ।

तीन पुस्ते सुन्तला
हमालको बारीमा करिव सय बर्ष अगाडीका सुल्तलाका बोट पनि अझै फल्दै छन् । ती सवै बाबुले रोपेका हुन् । आफुले रोपेका पनि अधिकांश फलेका छन् । भने अहिले पनि करिब ५० बिरुवा थपेका छन् । नर्सरीमा विरुवा समेत उत्पादन भइरहेका छन् । ‘राम्रो स्याहार पाए सुन्तलाले तीनदेखि चार पुस्ता राम्रो आम्दानी दिने रहेछ,’उनले भने,‘मेरो बगैचामा अधिकांश तीन पुस्ते सुन्तलाका बोट छन् ।’ त्यस्तै सुन्तलाको कारोबार पनि तीन पुस्तासम्म चल्दै आएको छ । उनलाई बुवा तुल बहादुर हमालले पनि नुन ल्याउन पथ्थरकोट र बटौली जाँदा सुन्तला लगेर बिक्री गर्ने गरेको सम्झना छ । त्यसपछि गाउँमा कोदो मकैमा सुन्तला साट्नेदेखि पैसा लिएरै घरमा खरिद गर्न आउने स्थिती समेत हमालले भोगे ।

बाख्रा र मौरीबाट पनि राम्रो आम्दानी
गोठमा २५ बाख्रा छन् । थुप्रै बर्षदेखि व्यावसायीक बाख्रा पालन गर्दै आएका छन् । भर्खरै ९० हजारका छ वटा खसीबोका बेचेको श्रीमति पार्वता हमालले बताइन् । त्यस्तै हमाल परिवारले व्यावसायीक मौरीपालन पनि थालेको छ । अहिले घरमा १२ वटा मौरीका आधुनिक घार छन् । बर्षमा बाख्रा र मौरीबाट तीन लाख बढि आम्दानी गर्ने गरेको पार्वताले बताइन् । ठूलो छोरा शिव हमाल परदेश छन् । दुई छोरी तारा र सुमित्राको बिहे भयो । एक छोरा अनिल र छोरी रचना बुटवलमा पढाउँदै आएका छन् ।

गाउँकै प्रमुख आम्दानी सुन्तला
नयाँगाउँका स्थानीयको प्रमुख आम्दानी सुन्तला हो । प्राय घरमा सुन्तला छन् । सोहि गाउँकी माया जिसीको बारी पनि सुन्तला पाकेर पहेँलपुर छ । छोराछोरी शहर । घरमा आफु मात्रै छन् । बारीमा अरु अन्नबाली हुँदैन् । बर्षमा सुन्तलाबाट हुने आम्दानीले जिसीको जिविकोपार्जन राम्रै भएको छ । नयाँगाउँकै बिष्णु बहादुर हमालले गाउँ छोडेकै १५÷२० बर्ष भए । बारीभरी डेढ सय सुन्तलाका रुख छन् । बुटवल बस्दै आएका हमाल प्रत्येक बर्ष सुन्तला स्याहार्न मात्रै गाउँ आउँछन् । करिव दुई लाखको सुन्तला उत्पादन हुने गरेको छ । त्यस्तै सोहि गाउँकै हिम बहादुर मल्लले पनि बर्षमा साढे दुई लाखका सुन्तला बिक्री गर्दै आएका छन् ।

परदेशभन्दा गाउँकै सुन्तला प्यारो
नयाँगाउँका दल बहादुर खनाल पनि व्यावसायीक सुन्तला कृषक हुन् । पहिले दुई पटक मलेसिया पुगे । कमाई पनि राम्रो हो । तर फेरि फर्किनन् । गाउँमै सुन्तलाबाट थप भविष्य देखे । अहिले डेढ सय सुन्तलाका बोटहरु खनालको बारीमा छन् । अझै रोप्दैछन् । बर्षमा डेढदेखि दुई लाखका सुन्तला बुटवल पठाउँछन् । दुई वटा टर्नेलमा सुन्तला र कागतीको नर्सरी गरेका छन् । ३५ हजार सुन्तला र १५ हजार कागतीका बिरुवा बेच्ने भएका छन् । बर्षमा आठदेखि नौ लाख आम्दानी घरमै बसेर गर्न थालेपछि परदेश मोह हराएको खनालले बताए ।

कोल्ड स्टोर नहुँदा मुल्य नपाएको गुनासो
नयाँगाउँको सुन्तला मंसिर र पुस महिनामै सकिन्छ । गाउँमा टिपेर राख्ने कुनै उपाय छैन् । अहिलेको सुन्तालालाई कोल्ड स्टोर गर्न सके पछि राम्रो मुल्य पर्नेमा धेरै जना आशावादी छन् । नयाँगाउँका सवैभन्दा ठुला सुन्तला व्यावसायी टीका हमालले कोल्ड स्टोर भाषणमा मात्रै सुनेको गुनासो गरे । उनले आफैले अहिले सस्तोमा सुन्तला बेचेर बेमौषममा भारतको सुन्तला महङ्गोमा किनेर खाने स्थिती रहेको बताए । नयाँगाउँको सुन्तला अहिले ५० देखि ७० रुपैयाँसम्ममा बिक्री गर्नु पर्ने बाध्यतामा कृषक छन् । नयाँगाउँको सुन्तलाको बजार अर्घाखाँची, वुटवल र कपिलवस्तु कृष्णनगर हो । केहि समय स्टक गरेर चैत बैशाखमा सुन्तला बजार पठाउन पाए डेढ सयसम्म मुल्य पर्ने अर्का व्यासायीक सुन्तला कृषक दल बहादुर खनालले बताए ।

गाउँमै तीन करोडको सुन्तला उत्पादन
धुर्कोट गाउँपालिका सवैभन्दा बढि सुन्तला उत्पादन हुने स्थानीय तह हो । धुर्कोट गाउँपालिकाको नयाँगाउँ, पिपलधारा, भनभने लगायतका स्थानमा सुन्तलाको राम्रो उत्पादन रहेको छ । गत बर्ष मात्रै दुई करोड ८६ लाखको सुन्तला उत्पादन भएको गाउँपालिका प्रमुख भुपाल पोख्रेलले जानकारी दिए । अहिले पनि राम्रो सुन्तला फलेको छ । नयाँगाउँमा यो बर्ष कोल्ड स्टोर निर्माणको लागि संघिय सरकारबाट ५० लाख बिनियोजन भएको पोख्रेलले बताए ।

गुल्मीमा एक हजार ९२ हेक्टर क्षेत्रफलमा सुन्तला रोपिएको छ । जसमा छ सय ७० हेक्टरका सुन्तलाले उत्पादन दिने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सन बहादुर रानाले बताए । गत बर्ष गुल्मीमा आठ हजार दुई सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएका थिए । यो बर्ष आठ हजार तीन सय ७५ मेटिन टन सुन्तला उत्पादन हुने अपेक्षा गरिएको रानाले बताए । उनले अहिले बजारमा ७० देखि ८० रुपैयाँमा बिक्री भएको छ । बोटबाट ४५ रुपैयाँका बिक्री गरेपनि करिव ३८ करोडका सुन्तला बिक्री हुने बताए ।

यो पनि पढ्नुस्

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D