रमेश विश्वकर्मा
गुल्मी, फागुन २४ । गुल्मीको सदरमुकाम तम्घासमा बन्ने “रेसुङ्गा मिनि पार्क”को थ्रिडि नस्सा सार्वजनिक भएको छ । सदरमुकाम तम्घासको मुटु मानिने लाँकुरी मञ्चमा “रेसुङ्गा मिनि पार्क निर्माण गर्न लागिएको हो । सदरमुकाम तम्घासको धरोहरको रूपमा रहेको लाँकुरीको बोट सुकेपछि सदरमुकाम तम्घासको शोभामा नै आँच आएको स्थानिय समाजसेवीहरूले बताउँदै आएका थिए ।

रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भरत भलामीको सक्रियता तथा प्रदेश सरकार र रेसुङ्गा नगरपालिकाको ३०–३० लाख आर्थिक सहयोगमा मिनि पार्क निर्माण गर्न लागिएको वडा अध्यक्ष भरत भलामीले बताए ।

भलामीले वडाको मात्रै बजेटले पार्क निर्माण गर्न नसकिने हुँदा प्रदेश र नगरपालिकाको सहयोग लिएर मिनि पार्क निर्माण गर्न लागिएको बताए ।

शनिबार रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले एक कार्यक्रमका बिच मिनि पार्कको शिलान्यास गरेका छन् । शिलान्यास गर्दै मेयर भुसालले भने, “यस मिनि पार्क निर्माणमा प्रदेश सरकारले पनि सहयोग गरेको छ र बजेट फ्रीज हुने हुँदा समयमै काम सक्न सम्बन्धित निकायलाई आग्रह समेत गरिएको छ ।”
