gulminews logo
मंगलवार, २०८० चैत्र ६

खानीको जीन्दगानी: ढुङ्गाखानीले पहाडनै खस्ने जोखिम, मजदुरलाई डरभन्दा खानीको भर

टोपलाल अर्याल
गुल्मी, ७ साउन । ठुलो पहाड र अनकन्टार भिर । कपेरामा काम गर्ने बिपन्न परिवारलाई ढुङ्गा थाप्लोमा खस्नेभन्दा जोहोको ,चिन्ता छ । टाउकोमा कसैको हेलमेट छैन् । हातमा पन्जा र आखाँमा चश्माको त परैको कुरा । आँखा झिमिक्क गर्दा ज्यान जान सक्छ । काम गरिरहेकै अवस्थामा पनि कैयौ पटक ढुङ्गा खस्छन् । रेसुङ्गा नगरपालिका १२ का ५१ बर्षीय गुन बहादुर विकले सोहि ढुङ्गाखानीमा काम गर्थे । केहि समय अघि काम गरिरहेकै अवस्थामा पहिरो खस्यो । गम्भिर घाइते विकको उपचारकै क्रममा ज्यान गयो । सोहि खानीले गुल्मी दरवार गाउँपालिका १ बलिथुमकी गाण्टी कुमारी कुवंरलाई पनि अपाङ्ग बनायो । अहिले पनि कुवंर बिस्तारामै छन् ।

गुल्मीको रेसुंगा नगरपालिका १२ को उर्लेनी ढङ्गाखानीमा काम गरेर ६० भन्दा बढि बिपन्न परिवारले बिहान–साँझको गर्जो टारेका छन् । यो खानी संभवत जिल्लाकै ठुलो हो । करिव तीन दशकदेखि ढङ्गाखानी संचालनमा रहेको छ । स्थानीयका अनुसार सुरुमा गुल्मीसहित बाग्लुङ्ग र प्युठानका करिव तीन जनाले काम गर्थे । अहिले बिस्तारै काम गर्नेहरु घट्दै गएका छन् । अहिले पनि खानीमा ६० भन्दा बढि परिवारले काम गर्दै आएका छन् । बिहान उज्यालो भएपछि खानीमै रात पर्ने कैयौ परिवार छन् ।

व्यक्तिकै जग्गामा खानी भएपनि बस्तीको नजिक भएकाले जोखिम बढिरहेको छ । भने लामो समय उत्खनन भएकाले खानी आफैमा ठुलो जोखिममा छ । माथिबाट पहिरो खस्ने ठुलो संभावना भएकाले खानीमा ठुलो दुर्घटनाको संभावना रहेको छ । तर, नियामक निकायहरु मुखदर्शक छन् । ‘खानीले गाउँ पुरिने र मजदुरबिचमै ठुलो दुर्घटनाको संभावना हुँदा स्थानीय सरकार र निकाय मौन बस्नु दुखद बिषय हो,’स्थानीय एक व्यक्तिले गुनासो गरे,‘गाउँका केहि व्यक्तिले खानीको दुरुपयोग गरे ।’

मजदुर सुरक्षामा छैन चासो

ढुङ्गाखानी संचालनहरु पनि जोखिमका बिषयमा जानकार नभएका छैनन् । ढुङ्गा खसेर ज्याननै गुमेका र घाइतेहरु देखेका मजदुरहरुले पनि खानीको अवस्था राम्रोसंग बुझेका छन् । तर, तत्काल रोजगारी सोच्ने अर्को उपाय छैन् । रेसुंगा नगरपालिका १२ का सन्त बहादुर बस्नेतले १५ बर्षदेखि ढुङ्गाखानीमा काम गर्छन् । यो संभवत जिल्लाको सवैभन्दा ठुलो ढुङ्गाखानी हो । खानीमा ढुङ्गा र गिट्टी निकाल्न थालेका तीन दशक भए । बस्नेत आफु पनि खानी संचालक हुन । उनलाई आफु सुरक्षित हुने बिषयमै मतलव छैन । कामदारको बिषयमा चासो हुने कुरै भएन् । माथि जोखिम र जंगल भएकाले अब खानी बन्द हुने संभावना भएको बताए । ‘घाम चर्किदा र पानी दर्किदाँ पहिरो खस्छ । पलपलमा जोखिम देखेका छौ,’उनले भने,‘अब खानीनै बन्द हुँदैछ ।’ रेसुंगा नगरपालिका वडा नं १२ का वडाध्यक्ष चेहरसिंह टण्डनले सचेत रहन आग्रह गर्ने बाहेकको विकल्प नभएको बताए । उनले धेरै बिपन्न नागरिकको रोजिरोटी खानीबाट चलेकाले बन्द गर्दा अर्को उपाय दिन नसक्ने भएकाले सचेत भएर काम गर्न आग्रह गरिएको बताए ।

रोजिरोटीको लागि डरभन्दा खानी भर

बाग्लुङ्ग बडिगाड गाउँपालिका ४ की टेकमाया परियारले खानीमै छोरी हुर्काइन् । अहिलेपछि खानीमा छाताको ओझेलमा छोरी राखेर ढुङ्गा कुट्छिन् । टेकमाया र श्रीमान टिकाराम परियारले संगै खानीमा काम गर्छन् । खानीको जोखिमसंगै काम गर्ने स्थलमै पनि सामान्य सुरक्षाका उपाय छैनन् । ढुङ्गा फोर्दा हात र खुट्टामा कति पटक चोट लाग्छ । छर्राले आखाँमा चोट लाग्ने जोखिम उत्तिकै छ । न हेलमेट, न चश्मा र पन्जा । कैयौ पटक चोट र पीडा टेकमायाले भोगेकी छन् । ‘छोरी बोकेर खानी आउने रहरभन्दा बाध्यता हो ।

बल्लतल्ल घाम छेक्न त्रिपाल राखेका छौ,’उनले भनिन,‘अरु सुरक्षाका सामग्री आवश्यक भएपनि आफुसंग उपाय छैन् ।’ पछिल्लो समय क्रसर मार्फत साना गिट्टी उत्पादन सुरु भयो । जसका कारण गिट्टीको बिक्री कम हुने गरेको छ । पाल्पा रम्भा गाउँपालिका ४ की नविना सुर्यवंशीले खानीमा काम गर्न थालेका एक दशक बढि भए । श्रीमान जित बहादुर सुर्यवंशीले ढुङ्गा र नविनाले गिट्टीको काम गर्छन् । उनले अहिले ढुङ्गागिट्टीको व्यापार नभएका कारण खानीमै काम गरेर पनि बाँच्ने उपाय नभएको गुनासो गरिन् ।

प्युठान गौमुखी गाउँपालिका २ अर्खाकी ५२ बर्षीया सुनिता बुढामगरले उर्लेनी ढुङ्गाखानीमा काम गर्न थालेको १२ बर्ष भए । बुढामगर छोरा र छोरीसहित सदरमुकाम तम्घासमा बस्छिन् । उनी बिहान ८ बजेनै खाना बोकेर आएपछि साँझा अवेरसम्म खानीमा गिट्टी फोर्छिन् । राम्रोसंग गिट्टी फोर्न पाए १० दिनमा एक ट्याक्टर पुग्छ । ठेकेदारले एक ट्याक्टरको तीन हजारदेखि पैैतिस सय दिन्छन् । सुनिताले ढुङ्गा फोरेरै छोराछोरीलाई कक्षा १२ सम्म पढाएकी छन् । १५ बर्षदेखि श्रीमान गोविन्द बुढा मगर परिवारको सम्पर्कमा छैनन् । बुढेशकालमा खानीमा आउने रहर नभएर सदरमुकामको खानपान, कोठाभाडा र छोराछोरीको पढाई खर्चले बाध्यता बनाएको बुढामगरले बताइन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D