बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंकलाई प्राप्ति गर्ने भएको छ। दुबै संस्थाबीच आइतबार राति समझदारी भएको हो ।
दुबै संस्थाको केन्द्रीय कार्यालय रुपन्देहीमा छ । प्राप्ति बारे सम्झौतापत्रमा साइन रेसुङ्गाका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र पूर्णिमाका अध्यक्ष सुरज उप्रेतीले हस्ताक्षर गरेका छन् । सोमबारबाट पुर्णिमाको शेयर कारोबार रोक्का हुने छ । प्राप्तिपछि नाम भने शाईन रेसुङ्गा नै हुने छ ।
शाईन रेसुङ्गाको एक अर्ब ६२ करोड रुपैयाँ पूँजी छ भने पूर्णिमाको ५५ करोड १२ लाख रुपैयाँ छ । शाईन रेसुङ्गाको निक्षेप १६ अर्ब १० करोड र पूर्णिमाको तीन अर्ब ३५ करोड रुपैयाँ छ । १४ अर्ब ५२ करोड ऋण लगानी गरेको शाईन रेसुङ्गाले प्राप्ति गरेपछि पूर्णिमाको तीन अर्ब चार करोड रुपैयाँ ऋण थपिने छ। शाखा ५२ पुग्ने छन्।
यसअघि शाईन रेसुङ्गाले गौमुखी विकास बैंकलाई गाभेको थियो । छुट्टाछुट्टै अस्तित्वमा रहेका शाईन र रेसुङ्गा एकापसमा गाभिएर शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको हो ।