gulminews logo
शुक्रबार, २०८० चैत्र १६

पालिकाको बजेट : कतै सर्वसम्मत, कतै बहुमत

हुमाकान्त पोखरेल
गुल्मी, १३ असार । गुल्मीका सबै पालिकाले आगामी अािर्थक बर्ष ०७९/८० का लागि बजेट ल्याएका छन् । दुइ नगरपालिका र १० गाउँपालिका गरी १२ पालिका रहेको गुल्मीमा कतिपय पालिकामा बजेट पास भइसकेको छ भने कतिपयमा प्रस्तुत मात्रै गरिएको छ । बजेट पारित भएकामध्ये एक पालिकामा बहुमतका आधारमा पारित भएको छ भने अन्यमा सर्वसम्मत पारित गरिएको छ ।

धुर्कोट गाउँपालिकाले ५८ करोड ४५ लाख २७ हजार बराबरको बजेट ल्याएको छ । उक्त बजेट शुक्रबार गाउँपालिका उपाध्यक्ष सीता गिरीले गाउँसभामा प्रस्तुत गर्नुभयो । बजेटमा कृषि, रोजगारी, सडक मर्मत एवम् ग्राभेल, प्रतिक्षालय निर्माण एवम् मर्मत लगायतका पूर्वाधार प्राथमिकतामा परेका छन् । धुर्कोटमा असार १९ गते बजेटमाथिको छलफल तोकिएको छ । असार ८ गते पालिका अध्यक्ष भुपाल पोखरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नौ गते सर्वसम्मतले पारित भएको थियो ।

मदाने गाउँपालिकाले ५९ करोड ७६ लाख ७९ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार पालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपाध्यक्ष सरिता खड्काले बजेट प्रस्तुत गर्नुभयो । मदानेले एकैदिन नीति तथा कार्यक्रम र बजेट सभाबाट पारित गरेको छ । बजेटमा मदानेले कृषि, पर्यटन र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । पालिकाको बजेटबाट मदानेले छ करोडभन्दा बढी रकम प्रशासकीय भवन निर्माणको लागि बिनियोजन गरेको छ ।

गुल्मीदरबार गाउँपालिकाले ४६ करोड ७८ लाख २४ हजारको बजेट पारित गरेको छ । उपाध्यक्ष तारा थापा ढेंगाले प्रस्तुत गरेको बजेटमा २० युनिटसम्मको बिजुलीको शुल्क गाउँपालिकाले तिरिदिने उल्लेख छ । त्यसका साथै कृषि, पूर्वाधार निर्माण र रोजगारीलाई बजेटले प्राथमिकता दिएको छ । पालिका अध्यक्ष सरोज थापाले असार ७ गते सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम शुक्रबार सर्वसम्मतले पारित भयो । त्यस्तै उपाध्यक्ष ढेंगाले प्रस्तुत गरेको बजेट शनिबार सर्वसम्मतले पारित भएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

रुरुक्षेत्र गाउँपालिका उपाध्यक्ष मीनादेवी गौतमले आगामी आर्थिक बर्षका लागि ५८ करोड ४६ लाख ९९ हजारको बजेट प्रस्तुत गर्नुभयो । प्रस्तुत बजेटमाथि असार १९ गते छलफल राखिएको छ । गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले असार ७ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम सोही दिन नै सर्वसम्मतले पारित भएको थियो । नीति तथा कार्यक्रम र बजेटमा कृषि, पशुपालन, पर्यटन, भौतिक पूर्वाधार लगायतका बिषय प्राथमिकतामा राखिएको छ । त्यस्तै वडा पहुँचमार्ग, एम्बुलेन्स खरिद, २० युनिटसम्म निःशुल्क बिजुली लगायतका बिषयलाई प्राथमिकतामा राखेको अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।

छत्रकोट गाउँपालिका उपाध्यक्ष साविज्ञा ज्ञवालीले आगामी आर्थिक बर्षका लागि ५५ करोड ५१ लाख सात हजार ४५१ को बजेट सभामा पेश गर्नुभयो । शुक्रबार पेश गरिएको बजेट शुक्रबार नै सर्वसम्मले पारित भएको छ । अध्यक्ष रामप्रसाद पाण्डेले ७ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम सोही दिन नै पारित भएको थियो । नीति तथा कार्यक्रम र बजेटले कृषि, शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले बताउनुभयो । पालिकाले एम्बुलेन्स किन्न ४५ लाख बिनियोजन गरेको छ ।

चन्द्रकोट गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले ५० करोड ७९ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका छन् । शुक्रबार प्रस्तुत गरिएको बजेट शुक्रबार नै पारित भएको छ । गाउँपालिकाले कृषि, शिक्षा, टिमुरे ताल लगायतका पर्यटकीय स्थललाई प्राथमिकता राखेर बजेट ल्याएको छ । अध्यक्ष युवराज केसीले असार ६ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम सोही दिन नै सर्वसम्मतले पारित भएको थियो । गाउँपालिकाले एक वडा–एक उत्पादन कार्यक्रमको लागि ४० लाख विनियोजन गरेको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

सत्यवती गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले ५३ करोड दुई लाख ३६ हजारको बजेट प्रस्तुत गरिन् । बजेटमाथिको छलफल असार २४ गते राखिएको प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले जानकारी दिनुभयो । शुक्रबार बजेट पेश गर्नुपुर्व अध्यक्ष टिकाराम पाण्डेले प्रस्तुत गरेको नीति तथा कार्यक्रम शुक्रबार नै पारित गरिएको रेग्मीले बताउनुभयो ।

मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले ५४ करोड ९५ लाख २८ हजारको बजेट सभामा प्रस्तुत गर्नुभयो । बजेटमाथिको छलफल असार २१ गते राखिएको छ । ८ गते अध्यक्ष देविराम अर्यालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नौ गते पारित भएको थियो । बजेटले कृषि, पूर्वाधार निर्माण र पर्यटनलाई प्राथमिकता दिएको अध्यक्ष अर्यालले बताउनुभयो ।

इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले शुक्रबार प्रस्तुत गरेको ४६ करोड ५६ लाख २६ हजारको बजेट शुक्रबार नै सर्वसम्मतले पारित भएको छ । पालिका अध्यक्ष भगत सिंह खड्काले ८ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम पनि सोही दिन नै पारित भएको थियो । बजेटले रोजगारी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको उपाध्यक्ष एवम् प्रवक्ता कुँवरले जानकारी दिनुभयो ।

कालिगण्डकी गाउँपालिकाले ५० करोड ११ लाख ८४ हजारको बजेट प्रस्तुत गरेको छ । पालिका उपाध्यक्ष मञ्जु कुमारी दर्लामीले प्रस्तुत गरेको बजेट असार २५ गते पारित गर्ने कार्यक्रम रहेको अध्यक्ष वेद बहादुर थापाले जानकारी दिनुभयो । शुक्रबार बजेट प्रस्तुत गर्नुपुर्व अध्यक्ष थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । शुक्रबार नै नीति तथा कार्यक्रम पारित गरिएको छ ।

रेसुङ्गा नगरपालिका उप–प्रमुख अमृता देवी कुँवरले नगरसभामा ८० करोड ७६ लाख १८ हजारको बजेट शुक्रबार प्रस्तुत गर्नुभयो । बजेट प्रस्तुत गर्नुपूर्व नगर–प्रमुख खिलध्वज पन्थीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । रेसुङ्गामा नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारित भएको छ । रेसुङ्गा नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटनलाई प्राथमिकता दिएको उप–प्रमुख कुँवरले बताउनुभयो ।

मुसिकोट नगरपालिकामा नगरसभा चल्दैगर्दा गठबन्धनको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभा बहिष्कार गरेका छन् । काँग्रेस मुसिकोटका सभापति समेत रहेका वडा नम्बर १ का अध्यक्ष मोहन घिमिरेको नेतृत्वमा गठबन्धनबाट प्रतिनिधित्व गर्ने १६ जनप्रतिनिधिले बहिष्कार गरेका हुन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहुमतको आधारमा बजेट पारित गरेका छन् । वडाहरुलाई बजेटको अधिकार कम दिइएको, माध्यमिक तहका विद्यार्र्थीहरुलाई संवैधानिक व्यवस्थाअनुसार निःशुल्क शिक्षा नदिइएको एवम् योजना छनोटमा नगरप्रमुखले मनपरी गरेका कारण आफुहरुले बहिष्कार गरेको घिमिरेले बताउनुभयो ।
उप–प्रमुख गंगा श्रेष्ठले ६ करोड ४७ लाख ५७ हजारको बजेट प्रस्तुत गर्नुभयो । नगर–प्रमुख जीवन खरेलले शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । शुक्रबार नै बजेट र नीति तथा कार्यक्रम बहुमतले पारित भयो । उप–प्रमुख श्रेष्ठले गठबन्धनका प्रतिनिधिहरुको माग जाजय नभएकोले छलफल नगरिएको बताउनुभयो । गठबन्धनका प्रतिनिधिहरुले यसभन्दा अगाडीको कार्यपालिका बैठक पनि बहिष्कार गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D