gulminews logo
शुक्रबार, २०८० चैत्र १६

विदेशाट फर्केर व्यवसायीक गाईपालन

हुमाकान्त पोखरेल
तम्घास, ०६ पौष । गुल्मीको धुर्कोट गाउँपालिका –४ जैसिथोक लाहाटाका ३५ बर्षिया लुल्सिराम कुँवर सात बर्ष विदेश बस्नुभयो । काजकिस्तान, दुबई लगायतका देशमा खाना बनाउने काम गर्नुहुन्थ्यो । विदेशमा आम्दानी पनि राम्रै हुन्थ्यो । तर चार बर्ष पहिले गाउँ आएका उहाँको मन फेरियो । त्यसपछि घर नजिकै जग्गा किनेर व्यवसायीक गाईपालन सुरु गर्नुभयो ।

धनन्जय कृषि तथा पशुपंक्षी फर्ममार्फत चार बर्षअघि चारवटा गाईबाट व्यवसाय सुरु गरेका उहाँको गोठमा अहिले १३ वटा गाई छन् । जसमध्ये १० वटा ठुला र तीनओटा साना छन् । त्योमध्ये पनि चारवटा दुहुने र तीनओटा व्याउने गाई छन् । उनले दुईवटा जर्सी र ११ वटा होलिस्टिन क्रस गाई पालेका छन् । गाईपालनको लागि उन्नत जातका घाँस समेत उहाँले लगाउनुभएको छ ।

एउटा गाईले औषतमा दैनिक कम्तिमा १५ लिटरभन्दा बढी दुध दिने कुँवर बताउनुहुन्छ । सबै गाईको दैनिक ६० लिटरभन्दा बढी दुध उत्पादन गर्ने उहाँले दैनिक ३० लिटरजति स्थानीय बजारमा खपत गर्ने र बाँकी ३० लिटर तम्घास पठाउनुहुन्छ । स्थानीय बजारमा प्रतिलिटर ७० रुपैँयामा बिक्रि हुने दुध तम्घास पठाउँदा प्रतिलिटर ५४ रुपैँया पर्छ । ‘मासिक करिब डेढदेखि दुईलाखसम्मको कारोबार हुन्छ, जसमा खर्च कटाउदा पनि ४० हजार बचत हुन्छ ।’ कुँवरले भन्नुभयो, ‘विदेशमा भन्दा कम बचत भएपनि सन्तुष्टि बढी छ ।’ विदेशमा कमाएको रकम स्वदेशमा लगानी गर्नुभएका उहाँले व्यवसायमा सन्तुष्टि मिलेको बताउनुभयो ।

व्यवसायीक गाईपालन गरेबापत गाउँपालिकाले प्रदान गर्ने उत्पादनमा आधारित अनुदान प्रतिलिटर तीन रुपैँयाका दरले प्राप्त गर्नुहुन्छ । त्यस्तै ०७५÷७६ मा कृषि, पशुपंक्षी तथा मक्ष विकास निर्देशनालयबाट चार लाख पनि प्राप्त गर्नुभयो । सोही ठाउँकै ४० बर्षिया कमल पोखरेलले पनि १८ बर्ष रोजगारीकै लागि विदेशमा कटाउनुभयो । १८ बर्षको हुँदा भारत जानुभएका उहाँ दुबई पनि पुग्नुभयो । त्यहाँ उहाँले खाना बनाउने र सफा गर्ने काम गर्नुहुन्थ्र्यो । विदेशमा मासिक ८० कमाउने पोखरेलको ६० हजार बचत हुन्थ्यो । तर दुईबर्षअघि गाउँ आउनुभएका पोखरेलले गाउँमै भविष्य खोज्नुभयो र गाईपालन व्यवसाय सुरु गर्नुभयो ।

करिब पाँच लाखको लागतमा १८ वटा गाई अट्ने संरचना बनाउनुभयो । त्यसपछि बसन्त पशु फर्म खोलेर छ वटा ठुला गाई किनेर व्यवसाय सुरु गर्नुभएका पोखरेलसँग अहिले सात वटा ठुला गाई एवम् तीनओटा साना बाच्छा छन् । जसमध्ये पनि दुईवटा दुहुने र पाँचवटा व्याउने छन् । अहिले दैनिक २० लिटर दुध उत्पादन भएको र सबै व्याउँदा ८० लिटरसम्म दुध उत्पादन हुने उहाँको भनाई छ । अहिलेसम्म दैनिक ५५ लिटरसम्म दुध बिक्रि गरेको र भविष्यमा दैनिक सय लिटरसम्म दुध बिक्रि गर्नेगरी योजना बनाएको पोखरेलले सुनाउनुभयो ।

गाईपालनबाट बार्षिक २४ लाखको कारोबार हुने कमलको भनाई छ । ‘सबै जग्गा आफ्नै भएकोले व्यवसायमा सहजता मिल्यो ।’ उहाँले भने, ‘विदेशको भिसा त्यागेर गाईपालनमा लागेको हुँ, सोचेभन्दा बढी सन्तुष्टि मिलेको छ ।’ विदेशमा अरुको अन्डरमा काम गर्नुपर्दा अलि नमिठो हुने तर आफ्नै व्यवसायमा मालिक बन्न पाउँदा खुसि लागेको उहाँ बताउनुहुन्छ ।

सडक, नियमित बिजुली र पानीको असुविधा

तुल्सिराम र कमलले उत्पादन गरेको दुध गाउँपालिकाको केन्द्र बर्बोटमा रहेको देविस्थान उन्नत दुग्ध सहकारी संस्था लिमिटेडमार्फत बिक्रि हुन्छ । उक्त संस्थाको व्यवस्थापकको जिम्मा तुल्सिरामले पाउनुभएको छ । उक्त केन्द्रमा अन्य व्यक्तिले आफ्नो चाहानाअनुसार दुध बेच्न र किन्न सक्ने तुल्सिरामको भनाई छ ।

गाईलाई दानाको लागि सहज ढुवानी एवम् दुध बजारसम्म लैजानको लागि मोटरबाटो सहज सहज बनाइदिन तुल्सिरामले आग्रह गर्नुभयो । सडकमा नाली नहुँदा एकपटक पानी आए बिग्रिने र त्यसपछि दुध लैजान तथा दाना ल्याउन अप्ठ्यारो पर्ने उहाँले बताउनुभयो । गत जेठ र असारमा सडक बिग्रदा २५ दिनजति दुध बेच्न नपाएको र त्यसबाट एक लाख २० हजार घाटा लागेको उहाँको भनाई छ । ‘बाटो बिग्रेको पालिकालाई जानकारी गराउँदा पालिकाले सकेसम्म छिटै समाधान गर्ने प्रयास त गर्छ ।’ उहाँले भन्नुभयो, ‘तर नालि नहुँदा थप समस्या छ ।’ त्यसका साथै स्थानीय बजारमै दुध खपतको व्यवस्था, नियमित बिजुली, सिँचाईको लागि पानी एवम् नगद अनुदानको सट्टा दाना, मल र बीउमा अनुदान दिएमा दुध उत्पादनमा बृद्धि गर्न सकिने कुँवरको भनाई छ ।

अर्का कृषक कमल पोखरेलले पालिकाको तर्फबाट नियमित अनुगमन भएमा पनि आफुजस्ता कृषकलाई हौसला मिल्ने बताउनुभयो । ‘फर्मवरीपरि जालिको आवश्यकता छ, पालिकामा निवेदन पनि दिएको छु, तर प्रतिक्रिया आएको छैन ।’ उहाँले भन्नुभयो, ‘पालिकाका जनप्रतिनिधि र कर्मचारी फर्ममा आई सल्लाह सुझाव दिएपनि हौसला मिल्ने थियो ।’ गत लकडाउनमा आफुहरुको दुध बिक्रि नभएजस्तो समस्या आगामी दिनमा आउन नदिको लागि पनि पालिकाले पहल गर्न उहाँले आग्रह गर्नुभयो ।

पालिकाले आवश्यक सहयोग गर्छ ः अध्यक्ष पोखरेल

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले विदेशको आम्दानी स्वदेशमै लगानी गरेकोमा आफु खुसि भएको बताउनुभयो । त्यसका साथै सडक, सिँँचाई, बिजुली लगायतका बिषयमा आफु गम्भिर भएको र त्यसको समाधान छिट्टै निस्कने उहाँको भनाई छ । ‘पालिकामा विभिन्न व्यवसायीक फर्महरु थपिएका छन्, जुन खुसिको कुरा हो ।’ उहाँले भन्नुभयो, ‘सबै फर्मको व्यवसायीक सुनिश्चितताका लागि गाउँपालिकाले योजना बनाउछ ।’

यो पनि पढ्नुस्

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D