gulminews logo
मंगलवार, २०८० चैत्र ६

विदेशबाट फर्केर सामुहिक तरकारी खेती, ७२ रोपनी जग्गामा खेतिपाती

हुमाकान्त पोखरेल
गुल्मी, ०२ माघ । विश्वमै महामारीको रुपमा आएको कोरोनाले धेरैको भविष्य अन्योल बनाएको छ । विदेश तथा स्वदेशमा काम गर्ने धेरैका रोजगार समेत गुमेका छन् । तर गुल्मीको रेसुङ्गा नगरपालिकाका युवाहरु भने विदेशबाट फर्केर सामुहिक तरकारी तथा कृषि खेतीमा लागेका छन् ।

रेसुङ्गा नगरपालिका १० सिमिचौरका ४० बर्षिया राजन कुँवर विगत १० बर्षदेखि मलेसियामा विभिन्न रेस्टुरेन्ट तथा अन्य कम्पनीहरुमा काम गर्थे । तर व्यक्तिगत कामको लागि गत फगुन २४ गते स्वदेश फर्के । त्यसपछि कोरोना महामारी सुरु भयो । विदेशको भिसा पनि कम्पनीले बन्द गरिदियो । परिवार चलाउनकै लागि अर्थोपार्जका विभिन्न उपाय सोच्दै गरेका उनले सामुहिक कृषि खेतीको अवधारणा बनाए ।

अहिले उनीसहित सिमिचौरका पाँच र रेसुङ्गा नगरपालिका ४ अर्खलेका एक गरी ६ जना मिलेर गत जेठबाट सिमिचौरमै सामुहिक तरकारी खेती गरिरहेका छन् । उनीसहित टोप बहादुर कुँवर, फर्सुराम कुँवर, रबी कुँवर, सुवास कुँवर र टेकराज कुँवरले सामुहिक तरकारी खेती सुरु गरेका हुन् । उनीहरु सबैजना वैदेशिक रोजगारीबाट लकडाउनमा घर फर्किएका हुन् ।

छ जना युवाहरुले सिमिचौरकै १० जनाको कुल ७२ रोपनी जग्गा १० बर्षको लागि भाडामा लिएका छन् । उक्त जग्गा छ बर्षदेखि बाँझो थियो । जसले गर्दा खेतमा रुख उम्रिएर जङ्गलमा परिणत भएको थियो । युवाहरुले आफुहरुको परिश्रमसहित कुल ६ लाख लगानीमा ५५ रोपनी जङ्गल (खेत) फडानी गरी अहिले तरकारी लगाएका छन् । जग्गाधनीमध्ये केहीले एक वा दुई बर्षको भाडा छुट गरेका छन् । त्यसपछि भने बार्षिक ६० हजारजति जग्गा भाडा बुझाउनुपर्ने कुँवरले बताए । खेतमा अहिले पाचँ क्विन्टल आलु लगाएका छन् । त्यस्तै गोपि, प्याज, काँक्रा, घिरौला लगायतका तरकारीका नर्सरीहरु रहेका छन् । अन्य तरकारीका बेर्नाहरु पनि सिजनअनुसारका उत्पादन गर्छन् । अहिलेसम्म प्याज, गोपि लगायतका बेर्ना बिक्रिबाट मात्रै एकलाख भन्दा बढी आम्दानी गरिसकेका छन् । अहिले बारिमा बन्दागोपि, लोकल गाजर, साग, मुला, टमाटर, केराउ लगायतका तरकारीहरु रहेका छन् । उत्पादित कृषिजन्य सामग्री सबै रेसुङ्गा नगरपालिकाको हाटबजारमा बिक्रि हुने गरेका छन् । कृषि उपज लिन नगरपालिकाको गाडी फर्म नजिकै आउने भएकोले बजारको समस्या नभएको अर्का कृषक फर्सुराम कुँवरले बताए ।

विदेशमा काम गर्नेको तुलनामा ६० प्रतिशत मात्रै मिहिनेत गरे राम्रो आम्दानी हुने राजनको भनाई छ । भविष्यमा आफुहरुले उक्त ठाउँलाई टमाटरको पकेट क्षेत्र बनाउने योजना रहेको उनले बताए । विदेशमा अरुको मातहतमा काम गर्न परेपनि स्वदेशमा ‘आफ्नै हात जगन्नाथ’ हुने उनको अनुभव छ ।
७२ मध्ये बाँकी रहेको केही जग्गा फडानी गरी तरकारी खेती गर्न तयारी अवस्थामा राखिएको छ । बाँकी रहेको २०÷२२ रोपनी जग्गामध्ये केही भाग भडानी गरी बाख्रा पाल्ने र केही भाग बाख्राको लागि चरन क्षेत्र बनाउने कुँवरले बताए । अब एक÷डेढ महिनाभित्रै खोर बनाउन सुरु गरिने कुँवरको भनाई छ । खोरमा चारसय सम्म बाख्रा पाल्ने र उक्त बाख्राको लागि घाँस पनि लगाउने कृषक टोप बहादुरले बताए ।

सिमिचौरकै २६ बर्षिया सुवास कुँवर रोजगारीको शिलशिलामा अहिलेसम्म तीन देश घुमे । सुरुमा मलेसिया गए । तर दलालको कारण काम राम्रो नभएपछि दुई महिनामै घर फर्के । त्यसपछि भारत र कतार गए । तर कोरोनाको कारण काम बन्द भएपछि घर फर्किए । गाउँमै केही काम गर्ने सोच बनाएका उनले सामुहिक खेतीमा भविष्य देखे र काममा होमिए । आफुको सानैदेखि कृषिमा रुचि भएकोले पनि अहिले तरकारी खेती गर्दा आनन्द लागेको उनले सुनाए । त्यसका साथै विदेशमा भन्दा स्वदेशमा काम गर्दा छुट्टै प्रकारको आनन्द आउने उनको अनुभव छ । ‘विदेशमा अरुको मातहतमा बस्नुपर्छ, समयमा तलब आउने ग्यारेन्टी समेत हुँदैन ।’ उनले भने, ‘यहाँ त आफ्नै प्रकारको स्वतन्त्रता छ ।’ आफुहरुले काम गर्दा अहिलेसम्म खुसि नै रहेको उनको भनाई छ ।

सामुहिक कृषि खेतीमा लागेका अर्का सदस्य ३७ बर्षिया टेकराज कुँवर विगत पाचँ बर्षदेखि मलेसिया थिए । तर कोरोनापछि गाउँ बस्ने सोच बनाएर सुरु गरेको तरकारी खेतीबाट सन्तुष्टि मिलेको उनको अनुभव छ । अहिले आफुहरुलाई काम गर्नको लागि विभिन्न कृषि सामग्री फर्मसम्म पु¥याउन तथा उत्पादित कृषिजन्य उपजहरु बजारसम्म लैजान मोटर बाटोको समस्या तथा सिँचाईको लागि पानी भएपनि पाइपको समस्या रहेको उनले बताए । त्यस्तै विभिन्न कृषिजन्य सामग्री जस्तै हाते ट्याक्टर, टनेल, बीउ तथा आवश्यक मल लगायतका सामग्री पाए आफुहरुको उत्पादनमा बृद्धि हुने उनले बताए । मलेसियामा बार्षिक ४ देखि पाचँ लाख आम्दानी हुनेगरेकोमा यहाँ त्यो भन्दा बढी हुने अपेक्षा गरेको उनको भनाई छ ।

रेसुङ्गा नगरपालिकाका कृषि शाखा प्रमुख हरीशरण पन्थीले नगरपालिकाभित्रका व्यवसायीक फर्महरुलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम रहेको बताए । अनुदान, कृषकहरुलाई तालिम, युवा लक्षित कार्यक्रम, हाते ट्याक्टर, स्प्रेयर जस्ता सामग्री दिने पन्थीले बताए । कृषकहरुको उत्पादनलाई बजारको ग्यारेन्टी नगरपालिकाले गरेको र यसबाट धेरै कृषक लाभाम्बित भएको उनले जानकारी दिए । नगरपालिकाले हाटबजार संचालन गरी नगरपालिकाले तोकेको दरमा जुनसुकै प्रकारका कृषि उपजहरुको बजारको ग्यारेन्टी गरेको पन्थीले जानकारी दिए ।

यो पनि पढ्नुस्

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D