gulminews logo
मंगलवार, २०८० चैत्र ६

विकासका नाममा मासिँदै बर–पिपल

रामचन्द्र रायमाझी
गुल्मी, भदौ १९ । विकास अहिले नेपाली राजनीतिको मुख्य भाष्य बनेको छ । सरकार चलाउने हरेकले प्रत्येक पटक विकास र समृद्धि उच्चारण गर्न थालेका छन् । तर व्यवहारमा हेर्दा भने हामी विकासको पथमा छौं वा विनाशको भन्ने प्रश्न गर्नुपर्ने अवस्था छ । विकासका नाममा भएका अनेक अभ्यासले यस्तो प्रश्न गर्न बाध्य बनाउँछ । मौलिक संस्कृति र परम्परासँग जोडिएका बर–पिपल, पाटी, पौवा र चौतारा विनाश गरिनु एउटा मुख्य चिन्ताको विषय हो । नेपालमा हरेक सरकार विकासका नाममा मौलिक र परम्परासँग गासिएका मठमन्दिर, बरपिपल, चौतारहरु विनाश गर्न नै उद्त देखिन्छन् । सडक बनाउँदा, नहर बनाउँदा वा सहर बसाउँदा हरेक पटक सकेसम्म यि साँस्कृतिक सम्पदाहरुलाई नै विनाश गरिएको छ ।

गुल्मीको इस्मा गाउँपालिका २ फेदियास्थित फेदिया गोल चौपारीमा सडक निर्माणका क्रममा काटेर ठेट्टै बनाइएको पिपलको बोट । तस्वीरः भीम उपाध्यायको फेसबुक पेजबाट

विकासका नाममा परम्परादेखि गाउँघरमा स्थानीयले संरक्षण र जगेर्ना गर्दै आइरहेका बर–पिपल मासिने क्रम बढेको छ । गाउँमा विकास निर्माणका काम हुँदै जाँदा चौतारीमा रोपिने बर–पिपल मासिन थालेका हुन् । गर्मीका बेला शीतलता प्रदान गर्न, बाटो हिँड्ने बटुवालाई आराम गर्न गाउँघरमा लगाइएका बर–पिपल सहितका चौतारीहरू अहिले विकास निर्माणका नाममा धमाधम मासिँदै गएका छन् । जसको ज्वलन्त उदाहरण हो गुल्मीको इस्मा गाउँपालिका वडा–२ फेदियामा रहेको फेदिया गोल चौपारीको पिपल । करिव २५–३० वर्ष पहिले सोही स्थानमा बस्ने एक जना कुमाल समुदायका व्यक्तिले उक्त पिपलको विरुवा लगाएको बुझिन्छ । पछि धार्मिक कार्यमा समेत प्रयोग हुने पिपलको बोटलाई संरक्षण गर्नका लागि त्यहाँका स्थानीयहरुले भैलो खेलेर संकलन गरेको रकमबाट उक्त चौपारी निर्माण गरेका थिए । समाजमा पिपलको धार्मिक र साँस्कृतिक महत्व रहेकाले पहिलेदेखि नै आफुहरुले त्यसको संरक्षण गर्दै आएको स्थानीय रमेश थापाले बताए । उनले भने ‘तिहारका बेला भैलो खेलेर जम्मा गरेको रकम पिपल संरक्षणमा लगाउन्थ्यौ तर अहिले सडक निर्माणका नाममा पिपल नै विनास गर्नु पर्दा दुःख लागेको छ ।’ रातचौर, ताल्तुङ्ग, उजुङ्ग–हर्पुकोट मोटरबाटो निर्माणका क्रममा अहिले उक्त पिपल काटिएको छ । वर्षौदेखि शित्तलता प्रदान गर्दै आउनुको साथै पूजाआजा गरी यसको पौराणिक महत्वलाई संरक्षण तथा जगेर्ना गरेका बर–पिपल सहितको चौतारी अहिले मासिन थालेपछि वृद्धवृद्धा चिन्तित छन् ।

स्थानीय साँस्कृतिक सम्पादाहरुको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको समेत रहे पनि त्यस तर्फ चासो दिएको देखिदैन । जसले गर्दा स्थानीय सम्पदाहरु नासिदै जाने क्रम बढेको छ । सडक निर्माण गर्दा नजिकैका घरहरुमा समस्या हुने भएपछि पिपलको बोट काट्नु परेको वडा अध्यक्ष टिकाबहादुर रेस्मीले बताए । उनले भने ‘पिपलको बोट जोगाउनका लागि धेरै प्रयास गरे पनि बाटोको विकल्प नभएपछि काट्नु परेको हो ।’ यो त एउटा उदाहरण मात्र हो । देशका अधिकांश क्षेत्रमा रहेका पुराना चौतारी तथा बर–पिपलका बोटहरु सडक निर्माण तथा विस्तार गर्ने क्रममा मासिएका छन् । बर–पिपल तथा चौतारी नेपालको एक मौलिक संस्कृति नै हो भन्दा फरक पर्दैन । तर, यस्ता मौलिक संस्कृति भविष्यका पिढीका लागि इतिहास मात्र बन्ने निश्चित छ । पुराना पुस्ताले भने चौतारी जोगाउनुपर्छ भन्ने आवाज उठाउँदै आएका छन् । विगतमा मृतक र आफन्तको स्मरणमा बर–पिपल, चौतारा र पाटी पौवा निर्माण गर्ने प्रचलन थियो तर हिजो आज भने आधुनिकताको नाममा समेत ति हराउदै गएका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D