मुसिकोट महोत्सवमा अतिथिलाई होमस्टेबाट सत्कार, ३ ठाउँमा होमस्टे

सागर भण्डारी
माघ,९ गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सारमा हुन लागेको प्रथम गुल्मी, पर्यटन, साँस्कृतिक, औद्योगिक एवं व्यापार महोत्सवको अवसरमा अतिथिहरुलाई यस क्षेत्रमा रहेका होमस्टेबाट सत्कार गर्ने व्यवस्था मिलाईएको छ ।

यही माघ १५ गतेदेखि १६ गतेसम्म १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न ठाउँबाट आउने अतिथि पाहुनाहरुको ईच्छा बमोजिम नगरपालिका भित्र रहेका ३ वटा होमस्टेमा बस्ने व्यवस्था मिलाईएको आयोजक मुसिकोट उद्योग वाणिज्य सघंका अध्यक्ष सुदर्शन शाक्यले जानकारी दिनुभयो ।

पर्यटन वर्ष २०२० लाई लक्षित गरेर आयोजना गरिएको महोत्सवमा स्थानीय कला–संस्कृति प्रदर्शन गर्ने, अतिथि सत्कार र मौलिक उत्पादनको प्रवद्र्धन गर्नका लागि पनि होमस्टे उत्कृष्ट हुने उहाँको धारणा छ । साथै यसले ती क्षेत्रको प्रचारप्रसारमा पनि मद्धत पुग्ने र पर्यटन आवागमनमा वृद्धिहुने विश्वास गरिएको बताउनुभयो ।

प्रचारात्मक एवं सुझाव सकंलनका लागि नगरपालिकाका ९ वटै वडामा पुगेको आयोजकले स्थानीय होमस्टेलाई प्राथमिकता दिनुपर्ने सुझाव आएपछि अतिथिहरुलाई होमस्टेबाट सेवा सत्कार दिने गरी तैयारी थालेको हो ।

नगरपालिकाको वडा नं ६ मा रहेको कुर्घाको स्वाँरा होमस्टे, वडा नं ७ मालारानीको मालारानी होमस्टे र वडा नं ४ को दजाकोट होमस्टेमा त्यहाँका आर्गनिक खानेकुरा, संस्कृति तथा रहनसहनका बारेमा जानकारी गराई पर्यटन प्रवद्धनमा टेवा पुर्याउने उद्धेश्यले होमस्टेलाई अतिथि सत्कारको प्रमुख प्राथमिकताका रुपमा राखिएको महोत्सव प्रचार प्रसार एवं सुचना सयोंजक ज्ञानहरी सापकोटाले बताउनुभयो ।

स्वाँरा होमस्टेमा गुरुङहरुको खानाका परिकार, उनीहरुको रहनसहन र संस्कृतिले अतिथिहरुलाई स्वागत गर्ने उहाँको भनाई छ । त्यस्तै दजाकोट होमस्टेमा स्थानीय मगर जातिका संस्कृति, झाँकी, कोदोको विभिन्न परिकार, सगैं मालारानी होमस्टेमा स्थानीय पूराना भेषभूषा, पुराना खानेकुरा र विभिन्न ठाउँको मनोरम दृश्यावलोकन गर्न सकिने छ ।

महोत्सवमा विभिन्न ठाउँबाट आउने अतिथि कलाकारहरुलाई उनीहरुले चाहेको खण्डमा होमस्टेसम्म पुग्नका लागि यातायात र न्यूनतम शुल्कमा आवास सगैं स्थानीय खानाका परिकारहरु उपलब्ध गराउने सघंका कोषाध्यक्ष गोपिकृष्ण खरेलले जानकारी दिनुभयो ।

यस क्षेत्रमा रहेका होमस्टेलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गराउँदै पाहुनालाई सत्कार, सदभावको महसुस गराउने उद्धेश्यले महोत्सवको अवसरमा यस्तो व्यवस्था गरिएको उहाँको भनाई छ । सन्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाध्यान्नहरुबाट पाहुनालाई स्वागत गर्ने र स्थानीय सोरठी, भैलो, सरायँनाच नाचेर सांस्कृतिक मनोरञ्ज प्रदान गरिनेछ ।

पाहुनाका लागि लोकल कुखुराको मासु, ढिँडो, सिस्नुको तरकारी, मकै (भटमास, मुलाको अचार लगायतका परिकारहरु रहने बताईएको छ । पाहुनको अर्डरअनुसार खानाको व्यवस्थापन गरिने छ । बेलुकीको बासमा मगर जातिको हुर्रा नाचबाट सांस्कृतिक मनोरञ्जन प्रदान गरिने छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D