टोपलाल अर्याल
गुल्मी, २० चैत्र । प्रथम सांस्कृतिक तथा पर्यटन महोत्सब एवं ब्यापार मेला शुरु भएको छ । २० चैत्रदेखि ३० गतेसम्म संचालन हुने महोत्सवको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरे । ‘गुल्मीको समृद्धिको मुख्य आधार संस्कृति संरक्षण एवं पर्यटन विकासमा पुर्वाधार’ भन्ने नाराका साथ मेला संचालन गरिएको छ । गुल्मी चेम्बर अफ कर्मशको आयोजनामा संचालन भएको महोत्सवमा स्थानीय उत्पादन र कला संस्कृतिनै नागरिकको आर्कषण देखिएको छ ।
महोत्सवको आफ्नै पहिचान
निधारमा टीका । गलामा फुलको माला र पिपलको व्याचद्धारा स्वागत । फर्कदा कफि र गुणको उपहार । अतिथी र पाहुना छक्कै परे । यो गुल्मी महोत्सवको नयाँ पहिचान हो । बिगतका महोत्सवमा खादा, व्याच र अन्य उपहारमा अनावश्यक पैसा खर्च गरिएको भन्दै अहिले त्यो खादा र व्याचमा प्रतिबन्द लगाइएको महोत्सव मुल आयोजक सहसयोजक नवराज भुसालले बताए । चेम्बर अफ कर्मशका केन्द्रिय बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले गुल्मेलीको यो आतिथ्यता निकै उत्कृष्ट लागेको बताए ।
आयोजकलले महोत्सवको गेट पनि आकर्षक बनाएको छ । मुल गेटनै प्रसिद्ध धार्मिक स्थल रेसुङ्गा यज्ञशालाको मन्दिर जस्तै कलात्मक बनाएकाले धेरै जनानै गेटमा छक्क पर्ने गरेका छन् । साथै बृद्धबृद्धा, एकल महिला, अपाङ्ग र बिद्यार्थीहरुलाई बिशेष छुटको व्यावस्था गरेको भुसालले बताए ।
हावाहुरी पीडितिलाई सहयोग गर्ने
गुल्मी महोत्सवबाट संकलन भएको रकम प्रदेश नं २ का हावाहुरी प्रभावितलाई प्रदान गरिने भएको छ । मुल आयोजक समिति संयोजक तथा गुल्मी चेम्बर अफ कर्मशका अध्यक्ष युवराज न्यौपानेले तत्काललाई ५० हजार सहयोग गर्ने घोषणा गरेका छन् । साथै सोचे अनुसार महोत्सव सफल भए त्यो रकममा बृद्धि गरिने न्यौपानेले बताए । यस अघिनै आयोजकले महोत्सवको कुल आम्दानीमा खर्च कटाएर रहेको ४० प्रतिशत रकम सामाजिक कार्यमा खर्च गरिने चेम्बर अफ कमर्शले जनाएको छ । महोत्सवको खर्च कटाएर प्राप्त हुने कुल रकमको ४० प्रतिशत सामाजिक कार्य र ६० प्रतिशत संस्थागत विकासमा खर्च गरिने महोत्सव प्रचार प्रसार समिति संयोजक जर्नादन घिमिरेले जानकारी दिए ।
स्थानीय उत्पादनमा आकर्षण
गुल्मी महोत्सवमा जिल्लाका १२ स्थानीय तहले आआफ्नै प्रमुख उत्पादन र पहिचान प्रर्दशनमा राखेका छन्् । इस्मा गाउँपालिकाले सेरामिक्सबाट उत्पादन भएका माटाका भाँडालाई प्रमुख आकर्षणको रुपमा राखेको छ । स्टलमा माटाका आकर्षक पानस, खुत्रुके, कप, जग तथा अन्य खेलौना रहेका छन् । भने माटाका भाँडा बनाउने स्थानीय प्रविधि पनि महोत्सवमा राखिएको सिता सेरामिक्स उद्योगका संचालक आले कुमालले बताए । धुर्कोट गाउँपालिका सुन्तला उत्पादनको हिसावले निकै राम्रो मानिन्छ ।
धुर्कोट गाउँपालिकाले सुन्तलाबाट बनाइएका विभिन्न प्रकारका जुसहरुलाई स्टलमा राखेको छ । मासु उत्पादनमा आत्म निर्भर मानिएको धुर्कोट गाउँपालिकाले ९० किलोको बोका पनि स्टलमा राखेको छ । त्यस्तै आलु उत्पादनमा राम्रो मानिएको मालिका गाउँपालिकाले महोत्ससव आलु राखेको छ । मालिका गाउँपालिका ४ अर्खबाङ्गा नरोपी आलु फल्ने गर्दछ । कालीगण्डकी गाउँपालिकाले कालो सिमी, मुसिकोट नगरपालिकाले आँपचौरको कफी र वामीको महलाई आकर्षणको रुपमा राखेका छन् । गुल्मी दरवार गाउँपालिकाको खुकुरीले पनि नागरिकको ध्यान खिचेको छ । छत्रकोट गाउँपालिकाले खुदो र रुरु गाउँपालिकाको गुणलाई महोत्सवमा प्रर्दशनका गरेका छन् ।
नेपाली सेनाको सरायँ उत्कृष्ट
कला संस्कृति तर्फ गुल्मी महोत्सवमा नेपाली सेनाको २२ नं बाहिनी धागिथुमले प्रस्तुत गरेको सरायँ नाच निकै उत्कृष्ट रहेको थियो । नेपाली सेनाले प्रदेश ५ का विभिन्न जिल्लामा बिद्यमान मौलिक ऐतिहासिक सरायँ नाच प्रस्तुत गरेको थियो । हतियार नचाएर खेलिने आकर्षक नाच अहिले विभिन्न स्थानमा संकटमा पर्दै गएको छ । सोहि नाच नेपाली सेनाको टोलीले निकै कलात्मक रुपमा प्रस्तुत गरेको थियो ।
‘गाउँमा सरायँ हरायो, नेपाली सेनाले निकै आकर्षक रुपमा प्रस्तुत ग¥यो,’ राष्ट्रिय लोक दोहरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्तले भने,‘ यो नाचका बिषयमा स्थानीय तह गम्भिर बन्नुपर्छ ।’ त्यस्तै मालिका गाउँपालिका वडा नं ६ ले पनि मौलिक सरायँ नाच प्रस्तुत गरेको छ । गुल्मी दुविचौर र सिमीचौरको पञ्चेवाजा समुहले पनि आफ्नो कला प्रर्दशन गरेका थिए । दिव्रुङ, भार्से, जुभुङ, बलिथुमको भैलो, कौडा तथा सोरठी महोत्सव अवधिमा प्रस्तुत गरिने योजना रहेको महोत्सव सचिवालय सदस्य अनिल खत्रीले बताए ।