थम्मन थापा
बागलुङ, मंसिर ६। मंसिर १४ नजिकिदै गर्दै पश्चिम बागलुङमा उपनिर्वाचनको चुनावी सरगर्मी बढेको छ । बागलुङ क्षेत्र नं २ प्रदेश (ख) का प्रदेश सांसद टेक बहादुर घर्तीको गत वर्ष उपचारको क्रममा निधन भएको थियो । त्यस पश्चात रिक्त रहेको उक्त पदको लागि मंसिर १४ गते त्यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मिति नजिकिदै गर्दा त्यस क्षेत्रमा चुनावी माहोल बढेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले संयुक्त बाम गठबन्धन निर्माण गरि खिम विक्रम कुँवरलाई उम्मेदवार खडा गरेको छ त्यस्तै नेपाली काँग्रेसले जीत शेरचनलाई उम्मेदवार खडा गरेको छ । समाजवादी पार्टी नेपालले अशोक विश्वकर्मालाई उम्मेदवार बनाएको छ । अहिले विभिन्न राजनैतिक दलले आफु निकट उम्मेदवारलाई मत माग्न गाउँ टोलमा पुगेका छन । नेता कार्यकर्ता तथा शुभेच्छुक भोट माग्न मतदाताको घरदैलोमा व्यस्त देखिन्छन । उपनिर्वाचनको चुनावी मिति नजिकिए सँगै शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा सम्वद्व बाम गठबन्धनले जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजारमा विशाल चुनावी आम सभा आयोजना गरेको छ ।
आम सभालाई सम्वोधन गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेल बुर्तिबाङ आउने बाम गठबन्धनले जनाएको छ । पश्चिम बागलुङको बुर्तिबाङ बजारमा आयोजना गरिएको विशाल आम सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा निकट नेता कार्यकर्ता र शुभेच्छुकहरुको उल्लेख्य सहभागिता रहने बाम गठबन्धनले बताएको छ ।
ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका रहेको बागलुङ क्षेत्र नं २ प्रदेश ख मा मंसिर १४ मा उपनिर्वाचन हुन लागेको हो । अहिले राजनैतिक दलहरुले आ-आफना चुनावी एजेण्डा र घोषणा पत्र सहित मत माग्न निकै व्यस्त रहेका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, नेपाल कम्युनिष्ट पार्टी नेकपा महासचिव विष्णु पौडेलको आगमनले बागलुङ क्षेत्र नं २ प्रदेश ख उल्लासमय माहोल बनेको बाम गठबन्धनले जनाएको छ ।