कमल पौडेल
बागलुङ, १५ भदौ । अबैध रुपमा बडिगाड खोलामा उत्खनन् गरेको भन्दै बडिगाड गाउँपालिका ७, भिमगिठे नजिकै कालिरहबाट एक स्काभेटर सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बडिगाड खोलाको बगरमा अवैध गिटि बालुवा उत्खनन् भैरहेको सुचनाका आधारमा स्थलगत रुपमा अनुगमन गर्दा भेटिएको हुण्डाई कम्पनीको २ सय २० सिसिको स्काभेटर सहित उत्खनन् गर्ने २ जनालाई नियन्त्रणमा लिई मंगलवार विहान पुनः प्रहरी कार्यालय आउने गरि छोडिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिनुभएको छ।

विगत केहि महिना देखि स्थानिय छलि विक र गया विकको करिव ३ रोपनी जग्गा भाडामा लिई निसिखोला ७ का सुनिल कुँवर र रेशम पुनले सोहि स्थानमा अबैध गिट्टि, बालुवा उत्खनन् गर्दै आएका थिए । गत जेठ ३० गते विक परिवार संग सम्झौता गरि जग्गा भाडामा लिएका सुनिल र रेशमले वडा कार्यालयबाट अनुमति समेत लिएको देखिएको छ । यद्यपी वडा कार्यालयबाट दिइएको अनुमतिमा गाउँपालिकाको निति नियम र नेपालको कानुन बमोजिम यदि कुनै प्राविधिक तथा कानुनी जटिलता उत्पन्न भएमा सवै पक्ष वसी समन्वय गर्ने र गाउँपालिकाको निर्णय नै सर्वमान्य हुने लेखिएको छ।
उता बडिगाड गाउँपालिकाले अहिलेको समयमा कसैलाइ पनि नदिजन्य पदार्थ उत्खनन् गर्न अनुमति नदिइएको जनाएको छ। वडाले दिएको सिफरिसमा आफुहरु अनविज्ञ रहेको प्रशासकिय अधिकृत थम्मन रेश्मीले बताउनु भएको छ। गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले कानुनलेनै बर्जित गरेको विषय आफुहरुले अनमति दिने भन्ने विषय नै नभएको र अबैध कार्य जो कोहि भएपनि कानुनी दायरामा आउनुपर्ने बताउनु भएको छ।
गण्डकी प्रदेश सरकारले ढुङ्गा, गिट्टि, बालुवा उत्खनन, संकलन, क्रसिङ र विक्रि वितरण तथा क्रसर स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि २०७५ मा असार १ गते देखि भाद्र १५ भित्र कुनै पनि नदिजन्य पदार्थ उत्खनन् गर्न नपाइने कानुनि व्यवस्था गरेको छ।

