कमल पौडेल
बडिगाड, ३० कार्तिक । पौंदिवासीहरुको न्वागी पर्वको साइत यस वर्ष मंसिर १ गते विहान ९ वजेर २९ मिनेट जाँदा परेको छ । वडा अध्यक्ष अर्जुन प्रसाद खरेलका अनुसार आइतवार विहान शुभ समयमा नैरित्य दिशा अर्थात दक्षिण पश्चिममा फर्केर साइतमा न्वागी खान पौंदेलिहरुलाई आग्रह गर्नुभएको छ।
पौंदि क्षेत्रका वासिन्दाहरुले न्वागीलाई पर्वको रुपमा मनाउँदै आएका छन्। नयाँ धान भित्राएपछि सोहि धानको नयाँ चामल दहिमा भिजाएर खाने परिकारलाई न्वागी भनिन्छ। विशेष गरि रैथाने जडन जातको धानको चामल विशेष मसलाहरुको प्रयोग गरि दहिमा भिजाएर खाने गरिन्छ। खासगरि इश्मा राज्य अन्तरगत पर्ने बागलुङ र गुल्मीका विभिन्न ७ गाविस क्षेत्रलाई पौंँदि क्षेत्र भनिने गरेको छ । यसै विच न्वागी पर्वको अवसर पारेर पौंदिवासीहरुको पहिचान, न्वागी मेलाको संरक्षण र सम्मान भन्ने नारा सहित यस वर्ष पनि ग्वालीचौरको खार वजारमा पौंदि न्वागी मेला २०७६ को तयारी पुरा भएको छ।
मंसिर १ गते देखि ६ गते सम्म चल्ने मेलामा खुल्ला पुरुष भलिवल प्रतियोगीता, खुल्ला साँस्कृतिक कार्यक्रम, खुल्ला एकल रेकर्ड नृत्य प्रतियोगीता, खुल्ला दोहोरी गित प्रतियोगीता, महिलाहरुको म्यूजिकल चेयर रेश प्रतियोगीता, शैक्षिक प्रदर्शनी, खुल्ला वडा स्तरीय पुरुष लुठो तान प्रतियोगिता, खुल्ला सरायँ नृत्य प्रतियोगिता, कृषि प्रदर्शनी, रमाइलो मेला, सर्कस पिङ लगाएतका कार्यक्रम आयोजना गरिएको छ। पौंदि न्वागी मेला तथा संस्कृति संरक्षण समितिको आयोजनामा हुन लागेको कार्यक्रममा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ।
यस क्षेत्रकै सर्वाधिक राशि १ लाख २ हजार २ सय २२ पुरस्कार रहेको खुल्ला पुरुष भलिवल प्रतियोगीता मेलाको आकर्षण रहनेछ। जसको उपविजेताले ६६ हजार ६ सय ६६ हात पार्ने छ। यस वर्षको मेलाको उद्घाटन बागलुङ क्षेत्र नं. २ का संघिय सांसद देवेन्द्र पौडेलले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।