तिलाचन पाण्डे
गुल्मी, साउन २८ । गुल्मीमा वडा अध्यक्ष घ्यू लिएर सुत्केरी भेटन जाने गरेको पाइएको छ। गुल्मी जिल्लाको कालीगण्डकी गाउापालिका ७ का वडा अध्यक्ष लोकप्रताप शाह वडा भित्र कोही महिलाहरू सुत्केरी भएमा सुत्केरी भएको एक हप्ता भित्रमा एक माना घ्यू लिएर सुत्केरी भेटन जाने गरेका छन्। उनले महिलाहरू सुत्केरी भएको समयमा जनप्रतिनिधि घरमा भेटन जाँदा खाली हात नजानका लागि र सुत्केरी अवस्थामा घ्यूको आवश्यकता पर्ने भएकाले एक हप्ता भित्रमा जाने गरेको बताए ।
सबैको घरमा पोष्टिक आहाराको ब्यवस्था पनि नहुन सक्छ र आर्थिक अवस्था पनि कमजोर हुन सक्ने भएकाले एक माना घ्यूले राम्रै काम गर्ने भएकाले यस्तो कार्यको सुरुवात गरिएको शाहले बताए। यो कुनै प्रचारात्मक कार्य नभएको भन्दै बिशुद्ध आफूले ब्यक्तिगत रुपमा कामको सुरुवात गरेको दाबी गरे। शाहका अनुसार आफूले सुत्केरी भेटन जादा घ्यू लिएर जाने कार्यलाई निरन्तरता दिदै जाने बताए। शाहले यस कार्यलाई यस आर्थिक वर्षबाट सुरु गरेको भन्दै यस आर्थिक वर्षमा मात्रै ६ जना सुत्केरीको घरमा एक मानाका दरले घ्यू लिएर गई बधाई दिएको बताए।

महिलालाई स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउन आग्रह गर्दै आएको र महिलाको स्वास्थ्य अवस्थाको बारेमा पनि जानकारी लिने गरेको दाबी गरे। यति मात्रै नभई घरका सदस्यलाई पनि सुत्केरी महिलालाई काममा नलगाउन र आरामको आवश्यकता पर्ने भएकाले पोष्टिक आहार प्रशस्त मात्रामा खुवाउन र झोलिलो पदार्थ खुवाउन आग्रह गर्ने गरेको बताए। वडा अध्यक्षद्बारा वडामा राम्रो कामको सुरुवात घएको भन्दै यसलाई निरन्तरता दिन वडा ७ का स्थानीय युवा अनिश ढकालले आग्रह गरे।