टोपलाल अर्याल
गुल्मी, ८ चैत्र । इस्मा गाउँपालिका ५ की दोमन्त गैरेले अहिले नेताले जस्तै भाषण गर्छिन् । केहि बर्ष पहिले उठेर आफ्नो नाम भन्दा गैरेका खुट्टा काम्थे । अहिले उनलाइै बोल्न कुनै मुस्किल पर्दैन् । गैरेको भाषण सुनेर अरु दिदि बहिनी पनि छक्क पर्छन् । यो गैरेको सानो मेहनतले भएको हैन् । ‘केहि समय अघि अरुले भाषण गर्दा आफ्नो नाम भन्ने ढङ्ग थिएन,’उनी भन्छिन्,‘अहिले म पनि परिवर्तन भएँ, धेरै दिदि बिहिनी बोल्न अड मान्दैनन् । यो हेफर इन्टरनेशनल परियोजनाको कारण हो ।
इस्मा गाउँपालिका ५ को इस्मा रजस्थलमा उत्पीडित समुदाय उत्थान केन्द्र मार्फत दुई बर्षदेखि परियोजना संचालन भएको छ । परियोजना पुर्व इस्मा रजस्थलमा घरबाहिर ननिस्कने, बाहिरको मान्छे देखे लाज र डर मान्ने, बोल्न डराउने र आफ्नो नाम भन्न लजाउने धेरै महिलाहरु अहिले गैरेले जस्तै भाषण गर्छन् । एउटा टोलका दिदि बहिनीहरु अर्को टोलकासंग भेट हुन तीज वा अरु कुनै मेला कुर्नु पथ्र्यो । तर अहिले त्यस्तो छैन् । कम्तिमा महिनामा एक पटक जुट्छन् । एउटीको सफलताको कथा सुनाएर अरुलाई पनि महिला शसक्तिकरण र आयआर्जनका लागि प्रेरित गर्छन ।
३२ समुह मार्फत आठ सय २३ घर धुरीका महिलाहरुका कारण अहिले गाउँको मुहारै फेरिएको छ । उनीहरुले अहिले समाजमा अगुवाई गर्छन् । यहाँका महिलाहरुले तरकारी खेती, कृषी तथा पशु पालन र समुहमा वचत गर्ने गरेका छन् । दुई बर्षको अवधिमा समुह मार्फत करिव १५ लाख बचत समेत भएको इस्मा रजस्थलको परियोजना संयोजक भरत भण्डारीले बताए । मासिक २० रुपैयाँबाट बचत संकलन गरेका समुहहरुले अहिले दुई सयसम्म बचत गर्ने गरेका छन् । ‘मैले तालिममा परिचय दिन लगाउँदा धेरै दिदि बहिनीको डरले साडी हल्लिन्थ्यो,’भण्डारीले भने,‘ अहिले कोहि भन्दा कोहि कम छैनन् ।’
बाख्राद्धारा आयआर्जनमा सहजीकरण
इस्मा रजस्थल ५ की राधिका थापा एकल महिला हुन् । उनका श्रीमान तुल्सी थापाको केहि समय अगाडी दुर्घटनामा परि ज्यान गयो । उनको घरमा एक छोरा र एक छोरी रहेका छन् । उनीहरुको लालनपालन र शिक्षा दिक्षाले उनलाई दैनिक पिरोल्छ । उनलाई अहिले हेफर परियोजना नै आर्थिक उपार्जनको सहारा बनेको छ । दुई बर्ष अघि हेफर मार्फत उपहार ल्याएका तीन वटा बाख्रा भर्खर फिर्ता गरिन् । अव उनको घरमा तीन वटा बाख्रा निजा छन् ।
सोहि गाउँकी बेल कुमारी थापा बिपन्न महिला हुन् । जसले दुई बर्ष अघि परियोजना मार्फत पाँच वटा बाख्रा उपहार लगिन र पाल्न थालिन् । अहिले थापाको चार माउ, तीन पाठा र एउटा पाठी छ । उनले अहिलेसम्म छ वटा पाठा बिक्री गरेर ६० हजार कमाई सकिन् । ‘उपहार ल्याएका सवै फिर्ता गरे, अब बाँकी मेरा कमाई हुन्,’उनले भनिन,‘गर्न सके घर परिवार चलाउँन मुस्किल पर्दैन ।’ अहिलेसम्म परियोजनाले वितरण गरेका पाँच सय ५६ बाख्रा मध्ये दुई सय ७१ बाख्रा उपहार भइसकेका छन् ।
हेफर आधारशिला मार्फत मानसिकतामा परिवर्तन
केहि बर्ष पहिले इस्मा रजस्थलकी नेत्रा थापालाई आफ्नै देउरानी र जेठानीहरुले नेता भन्दै गिज्याउँथे । कुनै सभा र समुहहरुमा पुग्न सासु ससुरादेखि श्रीमानको अनिवार्य स्विकृती चाहिन्थ्यो । अहिले अवस्था फेरिएको छ ।
‘महिला महिलाबाटै पीडित भएका छन, घरमा देउरानी र जेठानी नै खुट्टा तान्छन्,’उनले भनिन,‘परियोजनाको आधारशिला तालिम मार्फत धेरै महिलाको मानसिकतामा परिवर्तन आएको छ ।’ उनले अशिक्षा र पारिवारीक दमनका कारण अझै पनि धेरै महिला दिदि बहिनीहरु घरमै साँघुरिएको बताइन् । ‘पहिले बाबा आमाको दमनले छोरी पीडित बने,’थापाले भनिन,‘बिबाहपछि सासु ससुराको दमनमा बुहारी छन, बिस्तारै परिवर्तन सम्भव छ ।’ महिलाहरुको आयआर्जन बढ्दै जाँदा समग्र समाजको बिकासमा पनि राम्रो टेवा पुगेको स्थानिय बुद्धिजिवीहरु बताउँछन् ।
महिला सचेत र जागरुक भएका समाज परिवर्तन सम्भव छ भन्ने कुरा महिलाहरुमा आएको चेतना र शसक्तीकरणबाट पुष्टि भएको इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् । उनले परियोजनाले महिलाहरु आयआर्जनमा वृद्धि हुनका साथै उनीहरुको आनीवानीमा समेत सुधार आएकाले परियोजना सकिएपछि पनि स्थानीय तहले त्यसलाई संगसंगै अगाडी बढाउनुपर्नेमा जोड दिइन् ।
परियोजनाले बाटो देखायो अब आफै हिडनुस ः हेफर
परियोजनाको कार्यक्रम अधिकृत सरोजकुमार श्रेष्ठले हेफर मार्फत महिलाहरुको आयआर्जनमा वृद्धि गर्नुका साथै सामाजिक भावनाको विकास, महिला शसक्तिकरण, वातावरण संरक्षण, खाद्य सुरक्षा, पोषण स्वास्थ्यमा सुधार र सामाजिक विभेद जस्ता कुराहरुमा परिवर्तन आएको बताए । ‘शुरुमा गाउँ जाँदा बोल्न डराउने धेरै दिदि बिहिनीहरुको अहिलेको परिवर्तनले निकै खुसी छौ,’उनले भने,‘परियोजनाले बाटो देखाएको छ, अब आफै हिड्नु पर्नेछ ।’
परियोजना शुरु भएपछि किसानहरुले घरघरमा सुधारिएको आधुनिक खोर निर्माण गरेर आधुनिक तरिकावाट व्यवसायीक रुपमा बाख्रा पालन शुरु गरेका छन । शुरुमा एउटा मात्र बाख्रापालन गर्ने त्यहाँका किसानहरुले आजभोलि व्यवसायिक रुपमा बाख्रापालन गरिरहेका छन् ।
दुई बर्षमा ५ सय ५६ बाट ३७ सय बाख्रा
पाँच सय ५६ बाख्रा बितरण गरिएको गाउँमा अहिले ३७ सय बाख्रा छन् । बाख्राको उचित उत्पादनका लागि विभिन्न प्रकारका पोषिला किसिमका भुँई तथा डाले घाँसहरु लगाउन थालेका छन् । किसानहरुले घाँसको साथसाथै सन्तुलित रुपमा दाना बनाएर नियमित रुपमा बाख्रालाई खुवाउन थालेपछि इस्मा रजस्थलामा बाख्राको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै राम्रो आम्दानी गर्न थालिएको राधाकृष्ण स्वावलम्बी महिला समूहकी कल्पना अधिकारीले बताइन् ।
इस्मा गाउँ कार्यपालिकाका सदस्य नारायण पैयानीले समाजमा अब तल्लो र उपल्लो नभएर अल्छी र उद्यमी गरि दुई जात कायम रहेको बताए । उनले कृषी क्षेत्रमा राज्यको अधिकतम लगानी भएकाले मेहनत गर्न सके कृषी क्षेत्रमा भविष्य र समृद्धि रहेको बताए ।
परियोजनाको उपलब्धी गुम्न दिदैनौ ः गाउँपालिका प्रमुख
इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले परियोजनासंगै उपलब्धी गुम्न नदिने तर्फ आफु सचेत रहेको बताए । उनले धेरै ठाउँमा परियोजनासंगै उपलब्धीहरु पनि संगै जाने बिडम्बना भइरहेकाले त्यो अवस्था आउन नदिन कृषकसंगै स्थानीय तहले पनि विभिन्न योजना बनाएको बताए । त्यस्तै परियोजना संचालन गरिरहेको उत्पीडित समुदाय उत्थान केन्द्रका अध्यक्ष कृष्ण सुनारले सवैको सहयोग र साथले नै केन्द्र र परियोजना सफल भएको प्रतिक्रिया दिए ।
‘परियोजनाले विभिन्न आकर्षण मार्फत चेतना दियो, हाम्रो संस्थाले सहजीकरण ग¥यो,‘उनले भने,‘उपलब्धी संस्थागत गर्ने जिम्मा सम्पुर्ण दिदि बहिनी र स्थानीय तहलाई छोड्यौ ।’
बाख्रा उपहार प्रदान गर्दै ।