काठमाडौँ, चैत्र ४ । अनुगमन र कारबाही अभावमा बजारमा गुणस्तरहीन सामग्री खुलमखुला बिक्री गर्ने क्रम बढेको छ । स्थानीयस्तरमा उत्पादन गरिएका तरकारीदेखि अन्तर्राष्ट्रिय कम्पनीका खाद्य पदार्थमा समेत अखाद्य पदार्थ र मिसावट भेटिएको उपभोक्ताको गुनासो छ ।
यस्तो बेलामा गुणस्तर परीक्षण गर्ने खाद्य निरीक्षक भने जिल्लामा उपलब्ध छैनन् । कर्मचारी नहुँदा उपभोक्ताका गुनासा पनि समाधान हुन सकेका छैनन् ।
साविक पश्चिमाञ्चलका १६ जिल्लामा खाद्य गुणस्तर हेर्ने जिम्मा पाएको रूपन्देहीको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा जम्मा ३ निरीक्षक छन् । १३ जिल्लामा खाद्य निरीक्षक तथा प्राविधिक नै छैनन् । कास्की र तनहुँका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यान्वयन इकाईमा एक–एक खाद्य निरीक्षक छन् । पश्चिमाञ्चलका अरू सबै जिल्ला खाद्य निरीक्षकविहीन छन् । गुल्मी सहित अर्घाखाँची, पाल्पा, लमजुङ, स्याङ्जा, मनाड., मुस्ताङ लगायतका ९ जिल्लामा खाद्य प्रविधि तथा गुण नियन्त्रणको कुनै संयन्त्र नै छैन । नवलपरासी र कपिलवस्तुमा कार्यान्वयन इकाई भए पनि निरीक्षकको दरबन्दी खाली छ । कार्यालयका सूचना अधिकृत विक्रम लिम्बूले लामो समयदेखि जिल्लामा प्राविधिक नहुँदा अनुगमन र गुणस्तर मापन प्रभावित बनेको बताए ।
खाद्य निरीक्षक नहुने जिल्लाको अनुगमन, निरीक्षण तथा परीक्षणको सम्पूर्ण जिम्मा रूपन्देहीस्थित क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई दिइएको छ । त्यसमा पनि आवश्यक कर्मचारी छैनन् । ३ अधिकृत र ४ सहायकले काम चलाएका छन् । उनीहरू मुस्किलले वर्षमा एक या दुईपटक अन्य जिल्लामा पुग्छन् । मनाङ र मुस्ताङमा भने यो कार्यालय अहिलेसम्म नै पुगेको छैन । सूचना अधिकृत लिम्बूले साधन स्रोत र जनशक्ति अभावले नियमित अनुगमन र निरीक्षणमा जान समस्या भएको बताए ।
प्रशस्त खाद्य उद्योग र व्यवसाय रहेको रूपन्देहीमा जिल्ला अनुगमन समिति र नगर समितिले ठूला चाडपर्वको अवसर पारेर एक–दुई दिन मात्रै, त्यो पनि व्यवसायीलाई थाहा दिएर बजार अनुगमन गर्ने गरेका छन् । -ईकान्तिपुरबाट साभार