गुल्मीमा कृषी यान्त्रिकीकरणका लागि ५ करोड रुपैँया खर्च

टोपलाल अर्याल
गुल्मी, असार ३० । गुल्मीका स्थानीय तहले किसानलाई आधुनिक कृषितर्फ अघि बढाउन आधुनिक यन्त्र वितरणमा तीव्रता दिएका छन् । यसले गर्दा किसान समेत आधुनिक कृषिका लागि यान्त्रीकरण तर्फ आकर्षित देखिएका छन् । यस वर्ष प्रदेश र स्थानीय सरकारले कृषिमा यान्त्रीकरण गर्नका लागि करिब ५ करोड रुपैयाँ खर्च गरेका छन् ।

चन्द्रकोट गाउँपालिकाले चालू वर्षमा २५ लाख बराबरको हाते ट्याक्टर, कन्सेलर र केही सिँचाइका उपकरण कृषकलाई वितरण गरेको जनाएको छ । आगामी आर्थिक वर्षका लागि पनि यसका लागि ३० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्रीले जानकारी दिए । त्यस्तै गुल्मी दरबार गाउँपालिकाले चालू आवमा ४५ लाख रुपैयाँका कृषि उपकरण खरिद गरी कृषकका लागि वितरण गरेको छ । आगामी आवमा पनि झन्डै ५० लाख यसका लागि विनियोजन गरिएको गाउँपालिका प्रमुख अशोककुमार थापाले बताए ।

इस्मा गाउँपालिकाले पनि अहिले ९ लाख रुपैयाँ बराबरका १६ मिनी टेलर, कोदो थ्रेसर र चाँप कटर खरिद गरेर कृषकहरूलाई प्रदान गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत कृषिलाई आधुनिक बनाउने उद्देश्यसहित यन्त्रहरू वितरण गरेको बताए ।
मुसिकोट नगरपालिकाले कृषि यान्त्रीकरणमा चालू वर्षमा १५ लाख खर्च गरेको आर्थिक विकास समिति संयोजक प्रकाश काफ्लेले बताए । जसमा कृषकलाई हातेट्याक्टर, खाल्टा खन्ने मेसिन, कुटानी पिसानी मेसिन तथा चाप कटर वितरण गरिएको हो । त्यस्तै चालू आवमा धुर्कोट गाउँपालिकाले १५ लाखका हातेट्याक्टर, कन्सेलर मेसिन खरिद गरी किसानलाई प्रदान गरेको छ । आगामी आवमा २० लाख बजेट विनियोजन गरेको गाउँपालिका प्रमुख भूपाल पोखरेलले बताए ।

त्यस्तै रेसुंगा नगरपालिकाले चालू आवमा यान्त्रीकरणका लागि जम्मा २ लाख विनियोजन गरेको थियो । आगामी वर्ष सो शीर्षकमा रकम बढाएर २० लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । सत्यवती गाउँपालिकाले चालू आवमा साढे ४२ लाखका कृषि उपकरण कृषकलाई प्रदान गरेको छ । जसबाट कृषक समूहलाई जिप र कृषकहरूलाई हाते ट्याक्टर प्रदान गरिएको कृषि प्राविधिक मुक्तिनाथ भण्डारीले बताए ।

यान्त्रिकीकरणमा भौगोलिक समस्या
प्रदेश र स्थानीय सरकारले किसानलाई धमाधम कृषियन्त्र प्रदान गरिरहेका भए पनि भौगोलिक समस्याका कारण प्रयोग गर्न समस्या भने देखिएको छ । मदाने गाउँपालिका १ का रोहन विष्टले अहिले गाउँ–गाउँमा हातेट्याक्टर वितरण भए पनि त्यसको प्रयोग गर्न मुस्किल परेको बताए ।
‘भूगोल अप्ठ्यारो छ, खेतबारीमा पु¥याउन तथा उकाल्न र ओराल्नै गाह्रो छ,’ उनले भने, ‘साथै यसले ढुंगे खेतबारीमा जोत्न पनि सकिँदैन, पहाडको खेतबारीमा ढुंगासमेत धेरै हुन्छन्,’ किसान महासंघका जिल्ला अध्यक्ष शेषकान्त गौतमले पनि पहाडमा समथर खेतमा बाहेक कृषियन्त्र प्रयोगमा समस्या रहेको बताए । साथै उनले यन्त्रसँगै युवाहरूलाई त्यसको प्रयोग बारे तालिम दिएमा यन्त्रको प्रयोगमा उनीहरूलाई सही ज्ञान हुने बताए ।

प्रदेशबाट ३ करोडका कृषि उपकरण
प्रदेश ५ ले गुल्मी जिल्लामा आधुनिक कृषि प्रणालीमा विकास गर्नका लागि ठूलो परिमाणमा कृषि उपकरण प्रदान गरेको छ । प्रदेश नं. ५ भूमि व्यवस्था, कृषि सहकारी मन्त्रालयबाट जिल्लामा रहेका दुई सय ७२ जना कृषकले कृषि सामग्री पाएका छन् । कृषि समूह, व्यवसायी कृषि फर्म, सहकारी गरी चार सय ६१ जनाले निवेदन दिएका थिए ।

कृषकलाई वितरण गरिएका मिनी टेलर, ठूलो ट्याक्टर, घाँस काट्ने, कन्सेलर लगायतका औजार गरी २ करोड ९५ लाख लागतमा उपकरण वितरण गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । प्रदेश सरकारको ८५ प्रतिशत अनुदान र कृषकको १५ प्रतिशत लागत साझेदारीमा मिनी टेलर, ठूलो ट्याक्टर, ठूलो हर्बो वितरण गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख अम्मरराज शर्मा घिमिरेले बताए ।
वितरण गरिएका सामग्रीमा मिनी टेरलरमा ८५ प्रतिशत अनुदान र ठूलो ट्याक्टर तथा ठूलो हर्बोमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको शर्माले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D